नेपालमात्र होइन, विश्व नै निर्धनता, गरिबीसँग जुझिरहेको छ। विकासशील राष्ट्रहरु मात्र होइन विकसित राष्ट्र पनि यसबाट अछुतो छैनन्। आज विश्व गरिबीबाट उन्मुक्ति पाउनका लागि युद्ध स्तरमा लागिपरेको छ। 'गरिबी' शब्दले सर्वप्रथम आर्थिक विपन्नतातर्फ इंगित गर्दै अन्ततः आर्थिक, सामाजिक तथा राजनीतिक सम्पूर्ण पक्षको निःसहायपन, अक्षमता र दुर्वलताको बोध गर्छ। गरिबलाई चिनाउनेे शब्द गरिबी हो। अर्थात गरिबको प्रतिबिम्ब नै गरिबी हो। गरिबीको परिभाषा खोज्न अन्यत्र जानुपर्दैन, गरिबहरु बीचमा पुग्यौँ भने तिनीहरुको स्पन्दनलाई यसरी छाम्न सक्छौँ– 'गरिबी एउटा ठूलो हीनता हो। यो अन्यसँग भर परी सहायता माग्नुपर्ने विषय भएकाले अपमान, गाली र बेइज्जती सहनुपर्ने स्थिति हो।' 'गरिबी के हो भन्नेबारेमा मलाई नसोध किनकि त्यसलाई तिमीले मेरोबाहिर नै भेटिसकेका छौं। यो घर हेर, त्यसपछि चर्केका भित्ता हेर। मेरा भाँडावर्तन तथा मैले लगाएको लुगा हेर। त्यसपछि लेख कि तिमीले जे देख्यौ त्यही नै गरिबी हो।'
गरिबी कुनै अभिशाप हैन। ज्ञान, मेहनत र परिश्रमको अभावका कारण मानिसले दुःख भोग्नुपर्छ भन्ने बुद्धको उपदेश छ।
उक्त कुराले गरिबी आर्थिक दुर्दशा र दयनीय अवस्थाको उपज भन्ने बुझाउँछ। मानवतामाथिको अपमान र हीनता हो जसले स्वाभिमान र आत्मनिर्भरतालाई निर्मूल पार्ने कारक तत्व बनेर अरुकोे सहारामा बाँच्नुपर्ने मजबुरी र निःसहाय जीवन जनाउँछ। गरिबीलाई निरपेक्ष र सापेक्ष गरिबीमा वर्गीकरण गरको पाइन्छ। न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसक्नेहरु 'निरपेक्ष गरिबी'भित्र पर्छन् भने सापेक्ष गरिबीको मापदण्ड अति आवश्यक वस्तु परिपूर्ति नभई आय वितरणको समानता अथवा असमानताका आधारमा हुन्छ। अर्थतन्त्रको आम्दानीको ठूलो हिस्सा सानो समूहले र सानो हिस्सा ठूलो समूहले प्राप्त गरिरहेको अवस्थामा सापेक्ष गरिबी विद्यमान रहन्छ।
गरिबी निवारण गर्न धेरै प्रयास हुँदाहुँदै पनि किन गरिबीबाट नेपाललगायत तेस्रो विश्वका मुलुक र विश्वले उन्मुक्ति पाउन सकेका छैनन्? बुद्धले 'कुनै समस्याको कारण छ, त्यसको समाधान पनि छ' भनेका छन्। हजारौं गैरसरकारी संस्था र राज्य, गरिबीको स्वरूपमा मात्र अल्भि्कएर, गरिबीको मूल जरामा पुग्न नसकेर हो कि? गौतम बुद्धका दर्शनलाई एकपटक नियाल्नुपर्छ कि? गरिबीको सन्दर्भमा भोकाएको व्यक्तिलाई धर्मपान गराउनुअघि ध्यान, अभ्यास तथा खाना दिनुपर्छ भनी बुद्धले भिक्षुहरुलाई सल्लाह दिएका थिए्। शरीरलाई चाहिने आधारभूत वस्तुहरुको परिपूर्ति नभएसम्म मानिस आध्यात्मिकमा ध्यान दिन सक्दैन्। शारीरिक अवस्था र आध्यात्मिक उन्नतिबीचको सम्बन्धलाई राम्ररी विश्लेषण गरी बुद्धले भौतिक तथा आध्यात्मिक दुवै बाटो देखाएका छन्। बुद्धिज्मले गरिबी मुख्य गरी भौतिक तथा नैतिक आचरणको कुरा उठाएको छ। यी दुवैखाले निर्धनता, गरिबीले मानिसलाई दुःख र असन्तुष्टि पैदा गर्छ। जस्तो– इन्टलेक्च्युयल बैंकक्रप्सी र माल न्युटेसनलाई लिन सकिन्छ।
भौतिक निर्धनताले अधार्मिक जीवनशैलीतर्फ उन्मुख गराउँछ। भौतिक सम्पत्तिको जोहो गर्ने सोच र धन आर्जन गर्ने 'म्याड रेस' मा लागिरहेका हुन्छन्। स्वार्थी तथा अतिभोगवादीे प्रवृत्ति पनि गरीबीको मूल कारण बनेको छ। गरिबी कुनै अभिशाप हैन। ज्ञान, मेहनत र परिश्रमको अभावका कारण मानिसले दुःख भोग्नुपर्छ भन्ने बुद्धको उपदेश छ। असीमित आवश्यकतालाई सीमित साधनले पूर्ति गर्नुपरेको छ। बुद्धले भौतिक विकासभन्दा आध्यात्मिक विकासलाई उच्च मानेका छन्। यस कुराले समाज तथा राष्ट्रले मौरीको जस्तो आचरणमा जोड दिएका छन्। जसरी मौरीले फूललाई कुनै किसिमको हानि नगरी त्यसबाट मह बनाउँछ त्यसरी नै मानिसले धन उपार्जन तथा भौतिक वस्तु प्राप्त गर्दा व्यक्ति, समाज तथा वातावरणमा कुनै हानि नोक्सानी गर्न नहुने बताएका छन्। बुद्धिज्मअनुसार धनको आर्जन र सञ्चयबिना विकास सम्भव नहुने बताएको छ। गरिबी उन्मूलन गर्न पनि धनको आर्जन गर्न जरुरी भएको बताउँदेै सम्यक आजीविकाबिनाको विकासलाई बुद्धिज्मले सहमति राख्दैन। धनको आर्जन मेहनत र शीलवानको माध्यमबाट हुनुपर्छ भन्दै त्यसको सदुपयोग प्रशंसनीय र मानव कल्याणकारी कार्यमा खर्च गर्नुपर्छ भन्ने मान्यता राख्छ। बुद्धले 'विर्ययन दुःखो एचेती' अर्थात प्रयत्नबाट नै गरिबी हटाउने सकिन्छ भनेका छन्।
गरिबीसँग दुःख गाँसिएका हुनाले बुद्धिज्मले गरिबीलाई राम्रो मानेको छैन। बुद्धिज्मको लक्ष्य भनेको दुःखको अन्त्य गर्नु हो। बुद्धले भनेका छन्– गरिबी संसारको दुःखको कारण हो। गरिबीको कारणले अरुबाट ऋण लिन्छन्, यसले दुःख निम्त्याउँछ। ऋणको ब्याजलेे झनै दुःख पैदा गर्छ। ऋणको भुक्तानी गर्न दबाब बढ्छ। ऋण तिर्न नसक्दा ऊ आरोपित हुन्छ। यी कुराले मानिस दुःखको भूमरीमा फस्छ। यसरी इन्द्रिय सुखका लागि ऋण लिने गर्छन् अन्ततः परिणाम सुख नभई दुःख हुन्छ। यसरी बुद्धिज्मले ऋण लिने कुरामा न्यूनीकरण गर्नुपर्ने बताएको छ।
बुद्धिज्ममा दुःखको कारण तण्हा तथा अकुशललाई मुख्य मानिन्छ। लोभ, दोष, मोह यी नै अकुशल हुन्। यी अकुशलको जरा नष्ट गर्नुलाई नैै बौद्ध जीवनशैली मानिएको छ। गरिबीले गर्दा मानिसको नैतिक आचरण तथा मूल्य र मान्यतामा ह्रास हुन्छ भनी बुद्धले उपदेश दिएका छन्। राज्यबाट किसानलाई कृषि कर्ममा सघाउने, व्यापारी र उद्योगपतिलाई पुँजीको व्यवस्था गरिदिनुका साथै जनताका लागि रोजगारी व्यवस्था गर्नुपर्छ भनेका छन्। बुद्धको चतुआर्य सत्यमा दुःख एउटा तत्व हो। गरिबीलाई दुःखको कारण मानेका छन्। सांसारिक दुःख हटाउन र भौतिक जीवन निर्वाह गर्न चाहिने भौतिक वस्तुहरुका लागि अर्थको महत्व स्वीकार गरेका छन्। दुःख निवारण गर्न आर्यअष्टाङ्गिक मार्गमा सम्यक् आजीविकालाई महत्व दिएका छन्। सम्यक आजीविकाका लागि चारवटा स्तर कायम गरेका छन्। कानुनी मान्यता प्राप्त साधनहरुको प्रयोगबाट धन उपार्जन गर्ने, उपार्जन गर्दा अरुलाई कुनै हानि/नोक्सानी नपुर्याउने, हिंसा नगर्ने र इमानदारीपूर्वक गर्नुपर्ने कुरा बताएका छन्।
दिघनिकायको चक्कवत्ति सुत्तमा मुर्धाभिषिक्त राजाले धार्मिक रक्षाको प्रबन्ध गरे तापनि धनको वितरणमा ध्यान नदिएकाले उनको राज्यमा दरिद्रता बढ्दै गएको उल्लेख छ। गरिबीले चोरी बढ्न थाल्यो। राजाले धन दिएर पनि चोरी कार्य रोकिएन। कडा सजाय दिँदा पनि यस समस्याको हल निस्किएन। गरिबीले हतियार उठाउन उस्कायो। हत्या हिंसा बढ्न गयो। यसैले अरिस्टोटलले 'प्रोभोर्टी इज द् प्यारेन्ट अफ रिभुलेसन एन्ड क्राइम' भनेका छन्।
अहिले तेस्रो विश्वका मुलुकहरुमा वैदेशिक ऋणको बढोत्तरीलेे ती मुलुकहरुको उन्नति र जनताको जीवनस्तर राम्रो हुनुपर्नेमा झनै नकारात्मक प्रभाव परिरहेको छ। विकासका नाममा लिएका ऋण अनुत्पादन क्षेत्रमा खर्च हुँदा राष्ट्रको समृद्धिमा बाधा र गरिबी बढ्नुमा प्रोत्साहित गरिरहेको देखिन्छ। मानिसमा बढ्दै गएको स्वार्थीपन, अतिभोगवादीे प्रवृत्ति, जसरी भए पनि पैसा कमाउनेे होडबाजीले नैतिक आचरणमा कमी हुँदा जनताको खुसियाली र समृद्धिमा नराम्रो असर परिरहेको छ। यी कुरालाई ध्यान दिई बौद्ध सिद्धान्तको परिपालन गरेर राज्यको आर्थिक नीति र नैतिक आचरणमा वृद्धि गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुलाई राज्यले आफ्नो दायित्व सम्झनुपर्छ। उचित आजीविकामा प्रोत्साहन गर्न राज्यका अंग चुस्त र दुरुस्त हुनुपर्छ। राज्यले उचित तरिकाबाट धनको आर्जन र वितरणमा सुधार गरी हुने र नहुनेबीचको खाडल पुर्न सक्यो भने गरिबी निवारण गर्ने कार्य सफलिभूत हुन जान्छ।
प्रकाशित: २ मंसिर २०७३ ०५:३१ बिहीबार