विचार

उनको उग्रराष्ट्रवाद र हाम्रो लघुराष्ट्रवाद

आफ्नो भावी राष्ट्रपतिको चुनाव र त्यसको नतिजाबारे अमेरिकीहरु गम्भीर हुनु अत्यन्त स्वाभाविक हो। उनीहरुमध्ये कोही दुःखी र कोही खुसी होलान्। कोही त्रसित होलान् र कसैलाई भने सुरक्षाको अनुभूति भएको होला। कोही ज्यादै निराश भएका होलान्, कसैमा भने नयाँ आशा पलाएको पनि होला। यो सबै स्वाभाविकरूपमा हुने कुरा हो तर उनीहरुभन्दा धेरै टाढा अर्को गोलार्धमा दुई ठूला देशबीच च्यापिएको अविकसित सानो गरिब देश नेपालका मानिसलाई चासो लाग्नु उचित हो कि हैन? यो प्रश्नमा सामाजिक सञ्जाल अझै तातिरहेकै छ तर उचित/अनुचित जे भए पनि चासो भने रहेछ नै भन्ने देखियो।

हामीकहाँ देखिएको यो चासो फरक फरक कारणले भएको हुनसक्छ। एकथरी मानिस अमेरिकी जीवनको सपना देखेर विभिन्न उपायबाट, विभिन्न हैसियतमा उतै बसाइंसराइँ गर्न चाहनेहरु होलान्। ट्रम्पको आप्रवासी विरोधी छुचो र छु› अभिव्यक्तिका कारण ती चिन्तित हुनु स्वाभाविक हो। तीमध्ये कतिलाई आफ्नो सपना चकनाचुर भएको अनुभूति भइरहेको होला। आफू यतै भए पनि कतिका आफन्तजन उतै बसोबास गरिरहेका होलान्। उनीहरु पनि ट्रम्पका शब्दवाणका कारण आत्तिनु स्वाभाविक होला। उतै बसिरहेका तर अझै स्थायी बासीको हैसियत नभइसकेकाहरुको चिन्ता त झन् बुझ्न सकिने नै कुरा भयो।

अहिले 'राष्ट्रवादबाट माथि' नउठ्दा प्रगतिशील नभइने, 'पोलिटिकल्ली करेक्ट' नभइने डर हाम्रो जस्तै निरीह देशका बुद्धिजीवीहरुमा चर्को हुन्छ। 'सबस्टेट नेसनलिज्म' ले पनि हाम्रैहरुलाई आकर्षण गर्छ। यी दुवै 'अतिप्रगतिशील' सोचले सिर्जनशील प्रगतिशील राष्ट्रवादको विकास हुन दिइरहेका छैनन्।

यसरी सिधै प्रभावित हुन सक्ने व्यक्ति र परिवारको चिन्ता र चासो त बु‰न सकिने नै कुरा हो। यीबाहेक अरुलाई पनि यो चुनावी नतिजाले गम्भीर हुनुपर्ने बनाएको छ।  विश्वभरि आतङ्कवाद निरन्तर बढ्दै गइरहेको मात्रै हैन, यसले रूप पनि फेर्दै गईरहेको छ। डोनाल्डको छुचो मुखका कारण त्यसलाई अझै नयाँ निहुँ मिल्ने हो कि भनेर पनि धेरैलाई पीर लागिरहेको होला। संयुक्त राज्य अमेरिकाको राष्ट्रपति कस्तो छ भन्ने कुराले त्यो देशमा मात्रै नभएर सम्पूर्ण विश्वमै अत्यन्त महत्वपूर्ण प्रभाव पार्ने गरेको छ। त्यसैले अमेरिकी राष्ट्रपतिको निर्वाचन संसारभर चासोको विषय बन्छ, हामीलाई चासो नहुने कुरै भएन। तर त्योभन्दा पनि पर गएर डोनाल्डका अभिव्यक्तिहरु हेर्ने हो भने अझ डरलाग्दा प्रश्न देखा पर्न सक्छन्। डोनाल्ड एउटा सर्वशक्तिमान राष्ट्रको हैसियत कायम राखिरहन चाहने देशका राष्ट्रपतिमा निर्वाचित व्यक्ति मात्रै हुन् कि समकालीन विश्वमा देखापरिरहेको कुनै डरलाग्दो प्रवृत्तिको उदाहरण हुन्? अचानक राजनीतिमा आएका घमण्डी व्यापारीमात्रै हुन् कि नेपथ्यमा बन्दै गरेको कुनै नयाँ समीकरणको डरलाग्दो तत्वका प्रतिनिधि हुन्?

२०औं शताब्दीमा भएका उपनिवेशवाद विरोधी राष्ट्रवादी आन्दोलनहरुले कुनै भौगोलिक सीमाभित्रका मानिसलाई शासक छान्ने स्वतन्त्रता मात्रै दिलाएको हैन, झण्डा, राष्ट्रिय गान, राज्यको औपचारिक भाषा निर्धारण गर्ने स्वतन्त्रता मात्रै पनि दिएको हैन, तिनले त मानव अधिकारका विभिन्न पक्षलाई सतहमा ल्याइदिएका थिए। मानिसको अस्मितासँग जोडिएका नयाँ विचारपद्धतिहरुलाई जन्माइदिएका थिए। एक किसिमले इतिहासको दिशालाई सकारात्मक मोड दिने यत्न गरेका थिए। कमजोर देशका तिनै राष्ट्रवादी आन्दोलनका कारण अन्तर्राष्ट्रिय सम्बन्धहरुमा ठूलठूला परिवर्तन पनि भए। बीसौं शताब्दीमा भएका निर्धा देशहरुको राष्ट्रवादी आन्दोलन नहुँदो हो त पुरानो पूर्वीय विचार पद्धतिमा सिर्जित विश्वबन्धुत्वको सन्देश विश्वव्यापी हुने थिएन। यही सन्देश कुनै न कुनै किसिमले विस्तारै भूमण्डलीकरणका सकारात्मक सौन्दर्यशास्त्रीय तत्वका रूपमा क्रमशः अनुदित भएका छन्। 'विश्व नागरिक' को भावना र धारणा हुर्किएको छ।

अर्कोतिर यातायात तथा सञ्चार प्रविधिमा आएको अभूतपूर्व प्रगतिसँगै अन्तर्राष्ट्रिय व्यापारको बढ्दो सहजीकरण, बहुराष्ट्रिय कम्पनीहरुको ›ुत विकास, श्रमलगायत विभिन्न बाहिरी स्रोतको विकास र दोहन आदिले पुँजीवादको अनुहार अचम्मसँग बदलिदिएको छ। बीसौं शताब्दीमा 'स्वतन्त्र' भएको मानिएका कमजोर राष्ट्रका सीमाहरु बलियो मोटो पर्खाल नभएर पातला र छि›युक्त पर्दाजस्ता बनेका छन्। ती छि›बाट राम्रा नराम्रा सबै किसिमका कुरा पसेका छन्।

सूचना सञ्चार प्रविधिकै कारण कला–साहित्य, ज्ञान–विज्ञानले पनि राष्ट्रका सीमा छिचोलिरहेका छन्। गैरसरकारी क्षेत्रका मानव अधिकार र विकाससँग सम्बन्धित विभिन्न गतिविधिले देशबीचका सीमा अझ पातलो, पारदर्शी र छि›युक्त बनाइदिएका छन्। यसरी हेर्दा हामीले बास पाएको यो ग्रह साँच्चै नै विश्वग्राममा परिणत हुँदै गएको हो कि भन्ने भान पनि हुन्छ। विश्वका विभिन्न कुनामा जन्मिएका विचार, सिद्धान्त, कला, साहित्य, संगीत जस्ता सिर्जनामा सबैको पहुँच र प्राप्यता बढिरहेको छ। त्यसले पनि संसारका हरेक कुनामा छरिएका मानिसका सोंचमा, तिनका क्षमतामा र तिनका कमजोरीमा समेत समानता देखा पर्दैछन्।

तर यो सँगसँगै अर्को डरलाग्दो प्रवृत्ति पनि विकास भइरहेको छ। ठूला, शक्तिशाली र धनी राष्ट्रले आफ्नो छु›तम् राष्ट्रिय स्वार्थको कहिल्यै त्याग गरेका छैनन्। कुनै कुनै बेला त ती अकल्पनीय नीचताका रूपमा पनि प्रकट हुन्छन्। हाम्रो पृथ्वी बराबरका कैयौं ग्रहलाई ध्वस्त पार्न सक्ने क्षमता भएका नाभिकीय अस्त्रहरुको निर्माण र भण्डारण यिनै ठूला, धनी र शक्तिशाली देशहरुको उग्रराष्ट्रवाद, छु›ता र मूर्खताको अकाट्य प्रमाण हो। हाम्रै आसपासका कुनै कुनै छिमेकी वातावरण जोगाउने अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर गर्नसम्म पनि तयार देखिँंदैनन्। साना, कमजोर र गरिब देशहरु भने भूमण्डलीय महत्वका कुनै पनि सन्धिमा हस्ताक्षर गर्न आतुर देखिन्छन् (वा बनाइन्छन्)। यिनै कमजोर, गरिब र साना देशमा विभिन्न किसिमले, विभिन्न बाटोबाट लघुराष्ट्रवाद (सबस्टेट नेसनलिज्म) को वीजारोपण र त्यसैको मलजल गर्ने काम शक्तिशाली राष्ट्रले गरी नै रहेका छन्। विज्ञान प्रविधि, व्यापार, उपभोग्य सामग्रीको प्रचुरता आदिका कारण 'राष्ट्रवादभन्दा माथि उठ्नुपर्छ', 'हामी विश्व नागरिक' आदि जस्ता विचार आकर्षक देखिनु स्वाभाविक हो तर विगत शताब्दीहरुकै अनुभवले पनि सिद्ध गरिसकेको कुरा के हो भने विश्वबन्धुत्व वा विश्व नागरिकताको धारणा साँच्चै कार्यान्वयन हुनका निम्ति शक्तिशाली राष्ट्रहरुको उग्र र अन्धराष्ट्रवाद नै सबभन्दा ठूलो बाधा हो। उनीहरुले आफैँ त्यो उग्र अन्धराष्ट्रवाद त्याग गर्दैनन्। गरिब र निर्धा देशहरुको सिर्जनात्मक राष्ट्रवाद र आपसी सहयोगमा आधारित सामूहिक प्रयत्नबाट मात्रै त्यो सम्भव हुनसक्छ।

तर यो सामूहिक प्रयत्न यतिबेला कतै देखिइरहेको छैन। नेपाल जस्ता गरिब र कमजोर देशहरुको सबभन्दा ठूलो शत्रु परनिर्भरता र त्यसैले मलजल गरिरहेको भ्रष्टाचार भएका छन्। यी दुवै महारोगले निर्धा राष्ट्रहरुलाई अझै निर्धा बनाइरहेका छन्। यीमाथि विजय प्राप्त गर्नु भनेको सामाजिक न्याय र लोकतन्त्रमा आधारित समृद्धि प्राप्त गर्नु हो। निर्धा देशहरुका निम्ति प्रगतिशील राष्ट्रवादको आधार पनि यही हो।

अहिले 'राष्ट्रवादबाट माथि' नउठ्दा प्रगतिशील नभइने, 'पोलिटिकल्ली करेक्ट' नभइने डर हाम्रो जस्तै निरीह देशका बुद्धिजीवीहरुमा चर्को हुन्छ। 'सबस्टेट नेसनलिज्म' ले पनि हाम्रैहरुलाई आकर्षण गर्छ। यी दुवै 'अतिप्रगतिशील' सोचले सिर्जनशील प्रगतिशील राष्ट्रवादको विकास हुन दिइरहेका छैनन्। बेलामै विचार पुर्‍याउन नसक्ने हो भने झन्झन् उग्र राष्ट्रवादी बनिरहेका ठूला देशहरुको डाइनिङ टेबुलमा सजिएका प्लेटमा कुनै दिन आफूलाई पाउने छौं।

एकजना मित्रले फेसबुकमा लेखेका छन्– 'अमेरिकी जनताले कसलाई छाने भन्ने कुरामा हाम्रो केको टाउको दुखाइ? यहाँचाहिँ राम्रा मानिस छानौं न!' कुरा ठीकै हो। अब हामीले आफ्ना निम्ति निर्णय गर्न धेरै समय बाँकी छैन। अमेरिकामा ट्रम्पको जीत, बेलायतको युरोपियन युनियनबाट निक्लिने निर्णय, हाम्रै छिमेकमा हुर्किरहेको आफ्नैखाले उग्रराष्ट्रवाद आदिमात्रै हैन, परम्परागत शत्रुका रूपमा चिनिएका शत्रुवत् सम्बन्ध भएका राष्ट्रबीच समेत आआफ्नो राष्ट्रिय स्वार्थअनुकूल नयाँ सम्बन्धहरु स्थापित हुने सम्भावनाले हामी जस्ता कमजोर देशका निम्ति ठूलै चुनौती सिर्जना हुन सक्छन्।  यस अर्थमा डोनाल्डले जित्नु हाम्रा निम्ति गम्भीर चासोको कुरा हुन सक्छ।  

प्रकाशित: २६ कार्तिक २०७३ ०४:२२ शुक्रबार

उनको उग्रराष्ट्रवाद हाम्रो लघुराष्ट्रवाद