स्वाधीन र समतापूर्ण समृद्ध नेपाल त्यसका लागि राष्ट्रिय औद्योगिक पुँजीको विकास, त्यसमार्फत् समुन्नत समाजवाद र समावेशी, समानुपातिक, सहभागितापूर्ण लोकतन्त्र नयाँ शक्तिको दृष्टिकोण हो। नयाँ शक्तिका अभियन्ताले मार्क्सवाद छाडे, कम्युनिस्ट सिद्धान्त परित्याग गरे भनेर जुन हल्ला फिँजाइँदैछ, पंक्तिकारले त्यसबारे चर्चा गर्नु मनासिब ठानेको छ।
नयाँ शक्तिको दृष्टिकोणको विषयमा चर्चा गर्दा सबभन्दा पहिले यसको विचार–दर्शनको प्रश्न अगाडि आउँछ। नयाँ शक्तिको दर्शन के हो? यसको वैचारिक आधार के हो? भन्ने प्रश्न प्रमुख हुन्छ। दार्शनिक हिसाबले दुनियाँमा दुईखाले विश्व दृष्टिकोण छन्। एउटा हो– आदर्शवाद (चैतन्यवाद), अर्को हो– भौतिकवाद। चैतन्यवादी दृष्टिकोणले संसार कुनै अलौकिक र अदृश्य चेतन तत्वले सञ्चालन गरेको मान्छ। अर्को भौतिकवादले सृष्टि आफैँमा आदि तत्व हो र यो स्व–नियम द्वन्द्वका नियमद्वारा सञ्चालित छ भन्ने दृष्टिकोण राख्छ। आदर्शवादी (चैतन्यवादी) दृष्टिकोणले समाजलाई ईश्वरवाद, भाग्यवाद, स्वर्ग–नर्क पूर्वजन्म पुनर्जन्मवादको अन्धकारमा धकेल्ने काम गर्छ। नयाँ शक्तिको विचार–दर्शन भौतिकवाद हो, मार्क्सवादको सारतत्व–गुदी–द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो। द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण अंगीकार गर्दा यी चीजलाई बिर्सन हुँदैन। एक प्रकृति स्वयं एक आदि तत्व हो। यसको सञ्चालन स्वयं यसैभित्र रहेको द्वन्द्वले उत्पन्न गतिद्वारा भइरहेको छ। मानव समाज विराट प्रकृतिको एक अंश हो। कुनै पनि अस्तित्व एकाइ वा परिघटनालाई कुनै एक पक्षबाट एकांगी पाराले हैन, दुवै कोण र बहुआयामबाट हेर्ने, बुझ्ने र विश्लेषण गर्ने गर्नुपर्छ। पछिल्लो समय विज्ञानका क्षेत्रमा मूर्तबाट अमूर्त, स्थूलबाट सुक्ष्म, यान्त्रिकबाट इलेक्ट्रोनिक, हार्डवेयरबाट सफ्टवेयर, एकलबाट व्यतिकृत हुँदै न्युटनको गुरुत्वाकर्षण र गतिसम्बन्धी नियम, डार्बिनको क्रमिक विकासको सिद्धान्त र आइन्स्टाइनसम्म आइपुग्दा भौतिकशास्त्रको क्वान्टम संस्करणले भौतिकवादसम्बन्धी हिँजोको बुझाइलाई अझ परिष्कृत बनाएको छ।
आज मार्क्सवाद यस सहस्राब्दीको सर्वश्रेष्ठ विचारका रूपमा पुँजीवादीहरुले समेत स्वीकार गरेका छन्। त्यो मार्क्सवाद परित्याग गरेर नयाँ शक्ति कसरी अगाडि बढ्न सक्छ?
सृष्टिको कुनै एकल इतिहास र सुनिश्चित दिशा र भविष्य छैन। यो अनन्त आरोह/अवरोहमा छ। सृष्टि ज्ञेय र बोधगम्यमात्र छैन, अज्ञेय र अबोधगम्य पनि छ। जति अहिले बुझिन्छ त्यति नै बुझ्न बाँकी हुन्छ। त्यसैले हामीले मार्क्सवादलाई जति बुझेका छौं, त्योभन्दा धेरै बुझ्न बाँकी हुन्छ। पुस्तकमा लेखेका मार्क्सवादका सूत्र कुनै गायत्री मन्त्र हैनन्, गीता, बाइबल र कुरान हैनन्, ढुंगामा कुँदेका अन्तिम अक्षर हैनन्। मार्क्सवाद विज्ञान हो। विज्ञान–गतिशील हुन्छ। मार्क्सवादलाई गतिशील विज्ञानका रूपमा बुझ्ने या जडसूत्रका रूपमा बुझ्ने? मानिसको बुझाइ र त्यसबाट बनेको विचार–दृष्टिकोणमा अन्तर हुन सक्छ। मार्क्सवाद, लेनिनवाद माओवादको शाब्दिक रटान गर्ने तर व्यवहार त्यसको विपरीत गर्ने जडसूत्रवादीहरुका नजरमा नयाँ शक्तिले मार्क्सवाद छाडेको देखिन सक्छ। पेरिस कम्युनको मार्क्सवाद रुसमा लेनिनवादका रूपमा, चीनमा नौलो जनवादका रूपमा, उत्तर कोरियामा जुछे विचारधाराका रूपमा उत्तर भियतनाममा राष्ट्रिय मुक्ति संघर्षका रूपमा, नेपालमा जनताको बहुदलीय जनवादका रूपमा र एक्काइसौं शताब्दीको जनवाद र अहिले समुन्नत समाजवाद प्राप्त गर्ने नयाँ दृष्टिकोणका रूपमा यसको सिर्जनात्मक विकास र प्रयोग हुँदै आएको छ।
विचार भनेको विकासको नियम हो। समाज र विश्व ब्रह्माण्डको गति र विकासको वैज्ञानिक नियम छ। त्यो नियम भनेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो। त्यो नै मानव जातिले आविष्कार गरेको सबभन्दा उन्नत र विकसित विज्ञान हो। त्यो नै मार्क्सवाद हो। त्यही मार्क्सवाद नै नयाँ शक्तिको वैचारिक आधारशीला हो। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र मार्क्सवादलाई आजको एक्काइसौं शताब्दीको आवश्यकताअनुसार विकसित र परिमार्जन गर्ने तथा नेपालको विशिष्ट अवस्था, जो सामन्तवादबाट भर्खरै पुँजीवादमा प्रवेश गरेको विशिष्ट स्थिति छ, पुँजीवादी उत्पादक शक्तिको अधिकतम विकास गरी समाजवादी क्रान्तिको दिशातिर अगाडि बढ्ने कार्यक्रम बनाउनेखालको मार्क्सवाद विकास गर्नुपर्ने खाँचो छ। नयाँ शक्तिले मार्क्सवाद छाड्यो भन्ने हल्ला गरिँदैछ। मार्क्सवादको नाममा मण्डलेसँग, हिन्दु अतिवादीसँग, राजतन्त्रवादीसँग गला मिलाउने, भारतमा गएर नेपाललाई भुटानीकरण गर्ने सम्झौतामा हस्ताक्षर गर्ने, नक्कली मार्क्सवाद, माओवाद हैन, मार्क्सवादको सिर्जनात्मक विकास गरेर नेपालको वर्तमान विशिष्ट परिस्थितिमा प्रयोग गर्दै नेपाली समाजलाई समुन्नत समाजवादतिर अघि बढाउने विचार नै सही मार्क्सवादी विचार हो।
जसले सामाजिक परिवर्तनसम्बन्धी कुनै नयाँ विचार ल्याउँछ, त्यसको खोइरो खन्ने पुरातनपन्थी जडसूत्रवादीहरु हिँजो पनि थिए, आज पनि छन्। सात सालमा कांग्रेस नयाँ शक्तिका रूपमा उदय भएको थियो। २०४६ सालमा वामशक्ति नयाँ शक्तिका रूपमा उदय भएको थियो। पुरातनपन्थी अन्धविश्वासी रुढीवादी तानाशाहीतन्त्रका हनुमानहरु ती नयाँ शक्तिलाई अराष्ट्रिय तत्व भन्ने गर्थे। २०५२ मा माओवादी नयाँ शक्तिका रूपमा आयो, त्यसलाई आतंककारीको बिल्ला भिराइयो। अहिले डा.बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा नयाँ विचार प्रस्तुत गर्दा मार्क्सवाद विरोधीको बिल्ला भिराइएको छ। जर्दानो ब्रुनोलाई पादरीहरुले आगोमा जलाएर मारेका थिए। इशामसिहलाई झुण्डाएर मारेका थिए। बुद्धलाई हिन्दु कट्टरपन्थीहरुले धर्म विरोधी नास्तिक भनेर बदनाम गरेका थिए। जब कुनै नयाँ विचार कसैले ल्याउँछ, त्यसलाई अनेकथरी लाञ्छना लगाउने र भौतिक सफाया नै गर्ने जस्ता अपराध कर्म हुने गरेका छन्। जतिबेला कार्ल मार्क्सले हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादको अध्ययन गरेेर द्वन्द्वात्मक भौतिकवादी नयाँ विचार आविष्कार गरे, उनलाई पनि तत्कालीन पुँजीवादपन्थीहरुले अनेक आरोप लगाएका थिए। आज मार्क्सवाद यस सहस्राब्दीको सर्वश्रेष्ठ विचारका रूपमा पुँजीवादीहरुले समेत स्वीकार गरेका छन्। त्यो मार्क्सवाद परित्याग गरेर नयाँ शक्ति कसरी अगाडि बढ्न सक्छ? नयाँ शक्तिका अभियन्ताले मार्क्सवाद कसरी छाड्न सक्छन्?
एकजना महान् क्रान्तिकारी साथीले पंक्तिकारलाई भने- ‘तपाईंले नयाँ शक्तिमा लागेर गम्भीर गल्ती गर्नुभयो, आफ्नो विगत क्रान्तिकारी विचारलाई माटोमा मिलाउनुभयो।’ समुन्नत समाजवादी क्रान्तिका लागि मार्क्सवादको सिर्जनात्मक विकास र प्रयोग गर्न खोज्दा गैरमार्क्सवादी कसरी भइन्छ? के मदन भण्डारी मार्क्सवाद विरोधी थिए?, जसले जडसूत्रवादको विरोध गरौं, मार्क्सवादको सिर्जनात्मक विकास र प्रयोग गरौं भनेका थिए। पुष्पलाल के मार्क्सवाद विरोधी थिए? जसले राजतन्त्र अन्त्यका लागि पुँजीवादी शक्तिसँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्छ भनेका थिए। पुष्पलाललाई कतिपय शाही कम्युनिस्टहरुले कांग्रेसको पुच्छर भने। माले, माओवादी आदि सबैले उनलाई दक्षिणपन्थी संशोधनवादी भनेर आरोप लगाए। आज पुष्पलाल वामआन्दोलनका वटवृक्ष बनेका छन् र तिनैका हाँगाबिंगा विभिन्न नामबाट फैलिएका छन्। मार्क्सवाद बुझ्नेमात्र हैन, समाजलाई बदल्ने विचार हो। समाजलाई बदल्न विचार विकास गर्नुपर्छ। विकास मार्क्सवादलाई त्यागेर हैन, त्यसको सारतत्व द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई आत्मसात् गरेरै गर्नुपर्छ। पुँजीवादी अर्थतन्त्र फेल हुँदै गएपछि अहिले कार्ल मार्क्सको ‘पुँजी’ पुँजीवादपन्थीहरुले पढ्न थालेका छन्। त्यो मार्क्सवादलाई नयाँ शक्तिले छाड्ने कुरा हुनै सक्दैन। गायत्रीको अर्थ नजान्ने तर त्यसको जप गर्ने कथित मार्क्सवादी पण्डाहरुले आरोप लगाउँदैमा आकाश खस्नेवाला छैन। जडसूत्रवादी केही भजनमण्डलीले नयाँ शक्तिको वैज्ञानिक र वस्तुवादी सही मार्क्सवादी विचारलाई बदनाम गर्न अनर्गल प्रलाप गर्दैमा धर्ती भासिनेवाला छैन। माओले भनेका छन्– बैरीले आलोचना गरे भने सम्झनु कि सही बाटो हिँडिएको छ। बैरीले प्रशंसा गरे भने ठान्नु कि गलत बाटो हिँडिएको छ। नयाँ शक्तिको विचार सही छ, त्यसैले आलोचना हुने गरेको छ। आलोचकलाई नकारात्मक गुरु मान्दै नयाँ शक्ति अगाडि बढ्छ, बढ्नुपर्छ।
प्रकाशित: २ कार्तिक २०७३ ०४:५७ मंगलबार