गोविन्द न्यौपाने
जमिनमुनिका विभिन्न स्तरमा स्तरीकृत भएर रहेका प्राचीन मानव निर्मित संस्कृति र सभ्यताका दस्तावेजहरुलाई वैज्ञानिक ढंगले अन्वेषण, उत्खनन्, संरक्षण र सम्वद्र्धन गरी आमजनसमुदायको जानकारीका लागि प्रतिवेदन प्रकाशित गरी अतीत सभ्यताको उजागर गर्ने विधालाई पुरातत्व भन्ने गरिएको पाइन्छ ।
अतीत मानवले छाडेर गएका काठ, माटोलगायत विशेषगरी प्रस्तरका विभिन्न हातहतियार, दैनिक जनजीवन निर्वाहका लागि उसले प्रयोग गरेका उपकरण र आदिम बस्तीका अवशेषहरुको तुलनात्मक र विश्लेषणात्मक शैलीले विवेचना गरी मानव सभ्यता र संस्कृतिको लामो इतिहासलाई आधिकारिक र वैज्ञानिक तरिकाले अध्ययन गर्ने विधा नै पुरातत्व हो । लिखित इतिहासको सुरुवात हुनुभन्दा हजारौं वर्षअगाडि आदिम मानवको पहिलो पाइला पृथ्वीमा परेको दिनदेखि उसले विकास गरेका शृंखलाबद्ध सभ्यताहरुको अध्ययन पुरातत्वले गर्ने गर्छ ।
आदिम मानवको शारीरिक र मानसिक विकासमा आएको परिवर्तनको अध्ययन गर्ने मानवशास्त्रलाई चाहिने आवश्यक प्रमाणहरु पुरातत्वले नै उपलब्ध गराउँछ । प्राचीन सभ्यताका अवशेष भएका ठाउँहरुमा गएर उत्खनन् गर्ने विधामा मानवशास्त्रले आफ्नो क्षेत्र ओगटेको छैन । त्यस अर्थ समाजशास्त्र, मानवशास्त्र, इतिहास, संस्कृति र सभ्यतालाई प्रमाणिक ढंगले पुष्ट्याइँ गर्ने भएकाले उल्लिखित विषयको अध्ययन केन्द्रको स्थानमा पुरातत्व पर्न आएको छ ।
लेखन कलाको विकास भएपछि इतिहासको थालनी हुन्छ तर लेखनकलाको सुरुवात हुनुभन्दा अगाडि मानव सभ्यताको हजारौं वर्षको अन्धकार युग अर्थात प्रागैतिहासिक मानवको रहनसहन, खानपान र गुफामा बस्दा उसले विकास गरेका गुफा संस्कृति, तत्कालीन समयको वातावरण, पर्यावरण र त्यसमा आएको परिवर्तन, मानवको उद्विकासमा देखापरेका क्रमिक परिवर्तन, गुफा संस्कृति हुँदै कृषि सभ्यता अर्थात आद्य इतिहासको समयमा आइपुग्दासम्मको इतिहासको समग्र अध्ययन प्रागैतिहासिक पुरातत्वले गर्छ । त्यसैगरी ऐतिासिक घटनाक्रम सुरु भएदेखिको अध्ययन ऐतहिासिक पुरातत्वले गर्छ । यसो भए तापनि यी दुवै विषयको समग्र अध्ययनमा पुरातत्वले आफूलाई समाविष्ट गरेको छ ।
त्यसो त पुरातत्व विषयलाई प्राज्ञिक विधाका रूपमा अध्ययन गर्न थालिएको त्यति लामो इतिहास छैन तापनि यससम्बन्धी चासो र खोजको थालनी भने इस्वीको सुरुवात हुनुभन्दा धेरै वर्षअगाडिदेखि भएको मानिन्छ । स्वभावतः मानिस दुर्लभ, रोचक र कलात्मक वस्तुहरुको संकलनमा चासो राख्ने प्राणी हो । संकलनको यसै अवधारणाबाट संग्रहालयको आधार तयार भएको हो । इसापूर्व ५५५।५३८ ताका नै बेबीलोनियाका राजा नवोदिबसले शमस मन्दिरको उतखनन् गरेर प्राप्त वस्तुहरुलाई आफ्नो निजी संग्रहमा संग्रहित गरेका थिए । यद्यपि उनको उक्त कार्य पुरातत्वको आधुनिक अवधारणामा आधारित नभए पनि पुरातत्वको ऐतिहासिक आधार मान्न भने सकिन्छ ।
पुरातत्व विभाग स्थापना भएको लामो समयसम्म खासै गर्न नसके तापनि वि.सं. २०४६।२०४७ सालको राजनीतिक परिवर्तनसँगै यस क्षेत्रले विशेष गति लिन थालेको पाइन्छ । देश संघीयतामा जाँदै गर्दा भोलि संघीय राज्यमा पक्कै पनि संस्कृति र पुरातत्वविद्हरुको महत्वपूर्ण आवश्यकता हुने देखिन्छ । गत वर्ष गएको विनासकारी भूकम्पले क्षति पु¥याएको सम्पदाको संरक्षण गर्न पनि दक्ष संरक्षणविद् र पुरातत्वविद्को आवश्यकता छ ।
संस्कृति र पुरातत्व विषयको यति धेरै महत्व हुँदाहँुदै पनि यस विषयको अध्ययन र अध्यापनका लागि सम्बन्धित विद्यार्थी र सम्बद्ध शैक्षिक संस्थाहरुले चासो नदिनुलाई यस विषयप्रतिको उदासीनता नै मान्नुपर्छ । अझ यस विषयको अध्यापन गर्नुहुने प्राज्ञले समेत विषयको महत्वलाई नबुझेर हो वा बुझ पचाएर यस विषयवप्रति निराशा व्यक्त गर्नु लज्जास्पद नै हो । हालै लुम्बिनी बौद्ध विश्वविद्यालयले पुरातत्व विषयमा एक वर्षे पिजिडीको अध्यापन गर्ने कार्यक्रम सञ्चालन गरेको छ तर यस विषयको अध्ययन गर्न÷गराउन विद्यार्थी खोज्दै हिँड्नुपर्ने विवशता छ । समग्रमा पुरातत्व क्षेत्र यतिबेला हेलाको जिन्दगी व्यतीत गरिरहेको छ भन्नेमा अत्युक्ति नहोला ।
प्रकाशित: १८ आश्विन २०७३ ०१:३५ मंगलबार