विचार

अमूर्त पर्व इन्द्रजात्रा

लाछकू वयक सम्ह्य बजि 'वल वल पुलुकिसी को गुन्जनसहित परम्परागत शैलीको बाजागाजाको ध्वनि इन्द्र जात्राको पहिचान हो। काठमाडौंको भित्री सहरका विभिन्न ठाउँमा इन्द्र प्रदर्शनी राख्नु, कुमारी, वटुक भैरव, गणेशको रथ तान्नु, ठाउँठाउँमा भैरवको मकुण्डो, सम्ह्य सजाएर प्रदर्शनीमा राखिनु, दबुहरूमा देवीको नाच देखाउनु, तानाकिसिको नाच, मजिपा लाखेको नाच यी सम्पूर्ण गतिविधिमा विशाल जानसमुदायको सहभागिता हुनुले इन्द्र जात्राको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व उजागर हुन्छ। लिच्छविकालदेखि अस्तित्वमा रहेको यस पर्वमा जयस्थिति मल्लको समय (वि.सं.१८१२–१३) मा चलनमा रहेको गणेश, भैरव, कुमारीका रथ तान्ने प्रचलनले अझ उल्लासमय बनाएको छ। प्राचीन कालदेखि अस्तित्वमा रहेको यस पर्व राष्ट्रिय पर्वकै रूपमा रहनुका साथसाथै यस चाडले संस्कृति र पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको भए पनि वर्तमान समयमा आएर यसले भोगिराखेको समस्या के के हुन र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने प्रश्न ज्यादै महत्वपूर्ण बन्न पुगेको छ।

यस दिन साँझपख घरघरमा दलुमा बत्ती बाली सम्ह्य राखी पूजा गरेपछि बाहिर आएर सम्ह्य बाँड्ने चलन थियो। टोलछिमेकका केटाकेटी लाछकु वय्क सम्ह्य बजी भन्दै माग्न आउने गर्थे।

यस उत्सव भाद्र द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठ दिनमा विभिन्न किसिमका सांस्कृतिक पक्षबीच मनाइन्छ। ३६ फिट लामो काठको मुढो काभ्रे जिल्लाको नालाबाट विशेष सावधानीपूर्वक तानेर ल्याइ इन्द्र जात्राको शुभारम्भमा वसन्तपुरमा लिङ्ग ठडाइन्छ।  यया पुन्ही (पूर्णिमा) को दिन सम्ह्य नखः (विषेश प्रकारको च्युरालगायत बोडी, मासू, कालो भटमास आदिको समिश्रण) का रूपमा इन्द्र जात्रा मनाइन्छ । यस पर्वलाई स्याः बजी नखः पनि भनिन्छ। त्यसैले यस पर्व उत्सवमा ठाउँठाउँमा सम्ह्य सजाएर राखिन्छ। घरघरमा सम्ह्य राखेर परिवारसहित आफन्तहरू मिली भोज खाइन्छ। इन्द्रचोकको आजु द्यः (भैरव देवता) को  अगाडि सम्ह्य सजाउनु साथै आजु द्यःको थ्वँ (जाँड)को तेप (माटोको जाँड राख्ने भाँडो) मा पंचकार पूजा गरी जाँड(थ्वँ) राखिन्छ। लाय्कु (वसन्तपुर) को श्वयत भैरव (हाथु द्यः) लाई पनि पंचमकार पूजा गरि हाथु ह्याकी (रक्सी बाँड्ने) गरिन्छ। यस्तै ञँलाथ्व एकादशीदेखि बेलुकीपख घरघरमा दलुचा (माटोको झुन्डाएर बत्ति बाल्ने परम्परागत शैलीको भाँडो) मा बत्ति बालेर यया द्यः (इन्द्र देवता) लाई सम्ह्यसहित पूजा गरिन्छ।

विभिन्न स्थानमा (मरुमा मरु सतः नजिकै सिल्य सतःको तल गः कुतिको अगाडि, वंघ– इन्द्रचोकको अगाडि, न्यतः नरदेवीको दबुमा, किलागः को कुनां टोलमा, ज्याथामा) लिंगो उठाएर त्यसको चारकुनामा चारवटा काठको हात्ती राखेर खम्बा गाडी यसको माथि यया द्यः (इन्द्र देवता) प्रदर्शनका लागि राखिन्छ। यया द्यः सुनको मोलम्बासहितको हुन्छ। 

इन्द्रचोकमा द्वादशीको दिनमा लिंग ठड्याएर त्यसको तलतिर घोडा चढेको इन्द्रको प्रतिमा प्रदर्शनीमा राखिन्छ। यसलाई इन्द्रध्वजोत्थान भनिन्छ जुन प्रतापसिंह शाहको समय (१८३१–१८३४) मा चलाएको  मानिन्छ। यस दिन मानिस साँझ धुप बालेर मन्त्र (तुतः) पाठ गर्दै सोही वर्षमा मरेका आफन्तका सम्झनामा उपाकु जाने पनि गर्छन्। उपाकु जाँदा काठमाडौंको पुरानो सहरको संरचनाको बाटोबाट हिँड्ने गरिन्छ।

इन्द्र जात्राका सम्बन्धमा चलेको एउटा कथाअनुसार स्वर्गका राजा इन्द्रले आफ्नो आमाले स्वर्गमा गर्न लागेको  विशेष पूजाका लागि पारिजातको फूल (कसैकसैले 'चथाः स्वां' पनि भन्ने गर्छन्) लिन नेपाल आएको र उक्त समयका काठमाडौंको ख्यः केवः भीमसेनस्थान (भिं द्यः) को तलतिरको स्थानको बगैंचामा आएका थिए। त्यस बगैचाका गथुं (माली) तान्त्रिक विद्या जान्ने भएकाले स्वर्गका राजालाई चिनेर तान्त्रिक शक्ति तारणले बाँधेर यहीँ राखे। यसरी देवराज इन्द्र बाँधिएर पृथ्वी लोकमा नै रहेपछि इन्द्रराजका आमा छोरा खोज्दै आएको र यहाँ आएपछि धान पाक्नका लागि आवश्यक हुस्सु (खसु) उपहार दिएर गएको विश्वास गरिन्छ। त्यसैले यस मौसममा बिहान र बेलुकी हल्का हुस्सु आउने गरेको हो भनी बूढापाका भन्ने गर्छन्। यसलाई इन्द्रको आमाको उपहार मानिन्छ। यस उत्सवमा  देखाइने देवी नाचमा सेतो पहिरनमा डाँगी  (इन्द्रको आमा) पनि निकालिन्छ।

इन्द्रको आमालाई उनको छोरा फिर्ता दिँदा यहाँका मानिसले मृत्यपश्चात मोक्ष दिलाउनुपर्ने भनी वचन पनि बाँध्न लगाए भन्ने कथा पनि चलनमा छ। यस समय पानी पर्न रोकिएको भए पनि घरीघरी बादल लाग्ने र हल्का वर्षा पनि हुने र कहिले घाम लाग्ने अवस्थालाई इन्द्रराजको आमाले छोराको वियोगमा झारेको आँसु पनि भन्ने गरिन्छ। यसरी परेको वर्षा, बिहान/बेलुकी लागेको हुस्सु र दिउसो लाग्ने चर्को घाम धान पाक्नका लागि उपयोगी मानिन्छ। दशै तिहार सकिएपछि धान पाकिसक्ने हुनाले वाकु थनी अर्थात अन्न भित्राउने कार्य गरी उचित संरक्षणमा भण्डारण गरी अन्नको जोहो गरिन्छ। अन्नको राम्रो उत्पादन र संरक्षणले नै मानिसलाई वर्षभरिका लागि अन्नको अभाव नभई खुसी र सुख दिने हुनाले यमाद्यसँग यंया पुन्हीमा अन्न मागिन्छ।

चतुर्दशीको दिनमा कुमारी माजुको रथ तान्न सुरु गरिन्छ। थःने र क्वने गरी दुई पल्ट रथ तानिन्छ र नानिचा गरी समापन गरिन्छ। रथ ल्याउने बाटोको दबुहरूमा दि प्याखं (देवीको नाच) देखाइन्छ। यसरी नाच भइरहेको दबुनजिकै पुगेपछि रथ एकछिन रोकी कुमारी माजुलाई नाच देखाइन्छ र कुमारी माजुबाट भेटी (पैसा) चढाइन्छ। यस अवसरमा घरघरबाट पनि कुमारी माजुलाई पूजा गरिन्छ। इन्द्रचोकमा रथ पुगेपछि आजु द्यः समूहबाट पूजाको साथै जाँड पनि चढाइन्छ। वसन्तपूर दरवार क्षेत्र (लायकु) मा रथ पुगेपछि श्वयत भैरव खलकबाट पूजाको साथमा रक्सी चढाइन्छ। यसलाई नेपाल भाषामा हाथु ह्याकेगु भनिन्छ। यस अवसरमा सम्ह्य र रक्सी बाँडिन्छ। यो प्रसाद खाएमा पेटको रोग पनि निको हुन्छ भन्ने विश्वास गरिन्छ। यस समयमा निकालिने तानाकिसी (सेतो हात्ती) को यात्रालाई देवराज इन्द्रको बाहन आफ्नो मालिकको खोजीमा आएको विश्वास गरिन्छ।

प्रकाशित: ३० भाद्र २०७३ ०५:०० बिहीबार

अमूर्त पर्व इन्द्रजात्रा