विचार

विभाजित विश्व सबैका निम्ति घाटा

ऐन्ड्र सेङ/ झाओ गेङ

स्विजरल्यान्डको डाबोसमा हालै सम्पन्न वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनिओ गुटेरसले विद्यमान विश्व व्यवस्थाका बारेमा असामान्यतवरले प्रष्ट विचार राखेका थिए। विश्वले विभिन्नखाले आँधीबेहरीको सामना गरेको चर्चा गर्दै उनले भनेका थिए-हामीलाई सहकार्यको आवश्यकता छ तर हामी विभक्त छौँ।

वास्तवमा गुटेरसले इंगित गरेका आँधीबेहरीलाई त्योभन्दा अझ उपल्लो स्तरको सुनामींसँग तुलना गर्न सकिन्छ। आपूर्ति शृंखलामा आएको विचलन, ऊर्जा संकट, मूल्य वृद्धिका कारण जीवन यापनमा देखिएको संकट, विश्वको निम्न आर्थिक वृद्धि, जलवायु संकट तथा चीन र अमेरिकाबीच देखिएको टकरावका कारण विश्वमा दरार सिर्जना भएको छ।

गुटेरसले भनेझै यसप्रकारको बृहत् दरार कायमै रहेमा विश्वमा मात्र दुई थरी व्यापारिक नीति, दुईथरी मुद्रा, दुईथरी इन्टरनेट र कृत्रिम बौद्धिकता सम्बन्धी परस्पर विरोधी दुई थरी रणनीति रहनेछन्। यसको मूल्य पनि चर्को हुनेछ। विश्वको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घट्नेछ र यसले विश्वलाई वार्षिक रूपमा १.४ ट्रिलियन अमेरिकी डलर घाटा बेहोर्नुपर्नेछ। हरेक क्षेत्रमा मूल्य वृद्धि हुनेछ र विश्वव्यापी रूपमा सार्वजनिक वस्तु तथा सरसमानको आपूर्ति व्यवस्था नगण्य स्तरमा पुग्नेछ।

यो सब कसरी संभव भयो भनेर बुझ्न त्यति कठिन छैन। दोस्रो विश्व युद्धपछि विश्वले ठूलो स्तरमा शान्तिको लाभांश लिँदै आएको छ। नियममा आधारित विश्व व्यवस्थाका लागि अमेरिकी सक्रियताका कारण विश्वव्यापीकरण अगाडि बढ्दा सन् १९५० र १९६० को युद्धपश्चातको पुननिर्माणका लागि युरोपलाई सहज भएको थियो। यसैगरी पूर्वी एसियाले सन् १९७० र १९८०मा गरेको आर्थिक उन्नति, सन् १९९० र २०१० मा मध्य तथा पूर्वी युरोपले गरेको विकास र चीनको आर्थिक प्रगतिका लागि विश्वव्यापीकरणको योगदान महत्त्वपूर्ण रहेको छ।

अमेरिकाको विश्वव्यापी नेतृत्वका कारण यो सबै परिवर्तन संभव भएको हो तर यही अवधिमा अन्य देश पनि विश्वव्यापी नेतृत्वमा आउँदा अमेरिकाको तुलनात्मक प्रभाव पनि मत्थर   गएको छ। यही कारण अमेरिकामा विश्वव्यापीकरण विरोधी भावना बढेको भनेर बुझ्न सकिन्छ। विश्वव्यापीकरणबाट फाइदा लिएका देश पनि यसप्रति सन्तुष्ट छैनन्। अमेरिका केन्द्रित एक धु्रवमा रमाउने अमेरिकीहरू संशोधनवादप्रति अहिले रुष्ट देखिन्छन्। विशेषगरी अमेरिकाका प्रगतिका लागि चीन अवरोध बनेको उनीहरूको ठम्याइ छ। विश्वमा ठूलो दरार (ग्रेट फ्रयाक्चर) निम्त्याउन यही पृष्ठभूमि कारक बनेको छ।

तर हाम्रो सामूहिक भविष्यलाई बिथोल्न पूर्व र पश्चिम विश्वबीच रहेको दरार मात्र जिम्मेवार छैन। महासचिव गुटेरस उत्तरी र दक्षिणी विश्वबीच बढ्दो खाडलले पनि जोखिम निम्त्याएको ठान्छन्। उत्तरी विश्वका वासिन्दाले दक्षिणी गाोलार्द्धमामा रहेका असन्तोष र आक्रोशलाई बुझ्न सकिरहेका छैनन्। औद्योगिकीकरण र प्रविधिगत विकासका कारण उत्तरी विश्व समृद्ध बन्न सकेको छ भने उपनिवेशवादको विरासत मात्र नभई गरिबी र अस्थिरतासँग दक्षिणी विश्व जुधिरहेको छ। एसएन्डपी ग्लोबल उपाध्यक्ष डेनियर यर्जिन नर्थ-साउथ डिभाइडलाई मूलतः ऊर्जा रूपान्तरणका चुनौतीसँग जोड्न चाहन्छन्। कोइलामा आधारित औद्योगिकीकरणदेखि जलविद्युत्मा आधारित सूचना युगसम्म आइपुग्दा ऊर्जाको भूमिका अहं रहँदै आएको छ। ऊर्जाकै कारण विश्व मानचित्रमा युरोपले आफ्नो प्रभुत्व कायम गर्न सकेको हो। अहिले उत्तरी विश्व खनिज इन्धनको प्रयोगबाट टाढा रहन खोजेको छ तर उसले त्यही इन्धनको प्रयोगका कारण आर्जित सम्पत्तिलाई वलिदान गर्न चाहँदैन र उसले दक्षिणी विश्वलाई जलवायुमैत्री विकास गर्न दबाब दिँदै आएको छ।

विद्यमान नर्थ–साउथ विभाजन मूलतः जलवायु, ऊर्जा रूपान्तरण नीति, यिनले विकासमा पार्ने प्रभाव, हालसम्म विश्वमा भएको कुल उत्सर्जन र अहिले भैरहेको उत्सर्जन तथा यसलाई कसले सोधभर्ना गर्ने जस्ता विषयमा केन्द्रित रहेको धारणा एसएन्डपी ग्लोबलका उपाध्यक्ष यर्जिनको छ।

यसले बृहत् हिसाबको विश्वव्यापी वास्तविकतालाई चित्रण गरेको छ। उत्तरी विश्वका थौरै, समृद्ध तथा प्रौढहरूको बाहुल्य रहेको जनसंख्याको एकातिर एउटा स्वार्थ देखिन्छ भने अर्काेतिर ठूलो, गरिब र युवा जनसंख्याको वर्चस्व रहेको दक्षिणी विश्वको फरक स्वार्थ देखिन्छ। दक्षिणी विश्वका अधिकांश देश भूराजनीतिक द्वन्द्वमा आफूलाई सहभागी बनाउन चाहँदैन किनभने उनीहरूलाई आफ्नै विकासको चिन्ता बढी छ। पूर्वी तथा पश्चिमी विश्वको अनावश्यक द्वन्द्वले आर्थिक संकुचन हुन सक्ने भएकाले यसमा यी राष्ट्रहरू फस्न चाहँदैनन्।

तर उत्तरी विश्वमा भएका गतिविधिबाट दक्षिणी विश्व उम्कन सक्ने देखिँदैन। उदाहरणका लागि युक्रेन युद्धले युरोपको वैकल्पिक ऊर्जा आपूर्तिमा समस्या उत्पन्न गरेको छ भने दक्षिणी विश्वमा कृषि मलका अभाव सिर्जना भएको छ। पश्चिमा विश्वले विकास सहायता उपलब्ध गराउने क्रममा वातावरण सम्बन्धी सर्त थोपरेमा दक्षिणी विश्वले अन्य विकल्प खोज्न सक्छ।

विश्वव्यापी दरार झन गहन बन्यो भने आणविक युद्ध अवश्यम्भावी बन्यो भने र उत्तरी विश्वले जलवायु परिवर्तनलाई अपेक्षित हिसाबले सम्वोधन गर्न सकेन भने यसले सबै भन्दा ठूलो नोक्सान दक्षिणी विश्वलाई हुनेछ। उत्तरी विश्वलाई चुनौती दिने आर्थिक, राजनीतिक र सैनिक शक्ति दक्षिणी विश्वको छैन। यो सामर्थ्य भारतको पनि छैन।

उत्तरी विश्वले आफ्नो प्रजातान्त्रिक पृष्ठभूमिलाई महत्ता दिने गरेको छ। तर धनी र शक्तिशालीका मात्र होइन, प्रजातन्त्रमा फरक विचार, संस्कृति र मान्यतालाई पनि उत्तिकै सम्मान दिइन्छ। विश्व व्यवस्था जारी राख्न विश्वव्यापी प्रजातन्त्रमा जोड दिन आवश्यक छ र यसो गर्दा उत्तरी र दक्षिणी विश्वका आकांक्षा र चाहनालाई सन्तुलनमा राख्न अपरिहार्य हुन्छ।  

सँगसँगै, पश्चिमा र पूर्वी विश्वबीच रहेको खाडल पुर्न आवश्यक छ। एकले अर्काेलाई दोष दिने र आफ्नो संसाधनलाई समस्या समाधानमा खर्च नगर्दा समस्या झन् चर्कन्छ। बढ्दो विश्वव्यापी दरारले एक दुष्चक्रलाई आमन्त्रण गर्छ। यसले जलवायु परिवर्तन तथा विश्वव्यापी द्वन्द्व जस्ता सामूहिक चुनौतीसँग जुध्ने हाम्रो क्षमतालाई कमजोर पार्छ।

यो परिप्रेक्ष्यमा चिनियाँ उपराष्ट्रपति लिउ हे र अमेरिकी वित्तमन्त्री जेनेट हेलनबीच हालै सम्पन्न भेटघाटलाई सुखद मान्न सकिन्छ। दुई देशबीचको समष्टीगत अर्थतन्त्रलाई सुधार्ने र आपसी सहयोग अभिवृद्धि गर्ने विषयले भेटघाटमा महत्त्व पाएको छ। तर ग्लोबल अजेन्डा निर्धारण गर्ने क्रममा आर्थिक नीति भन्दा राष्ट्रिय सुरक्षाको जिम्मा लिएका शक्तिशाली व्यक्तिहरूको प्रभाव अत्यधिक रहँदै आएको छ।

विश्वका प्रमुख शक्तिहरूले आपसी सहकार्य र समावेशी भविष्यप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेनन् भने विश्व झन विभाजन उन्मुख हुनेछ। जलवायु संकटले यसलाई झन् प्रखर बनाउनेछ भने विभिन्नखाले विश्वव्यापी द्वन्द्व सिर्जना हुनेछन्।

(एन्ड्रु हङकङ विश्वविद्यालयअन्तर्गतको एसियन ग्लोबल इन्स्टिच्युटका वरिष्ठ फेलो हुन् भने झाओ हङकङ इन्स्टिच्युसन फर इन्टरनेसनल फाइनान्सका अध्यक्ष हुन। प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: १९ माघ २०७९ ००:०५ बिहीबार

विश्वका प्रमुख शक्तिहरू संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनिओ गुटेरस