विचार

अर्थतन्त्रको दर्पण

केही वर्षयता सेयर बजार नेपाली अर्थतन्त्रको अभिन्न अंग बन्न पुगेको छ। यस क्षेत्रमा हुने चलायमान स्थितिप्रति सर्वसाधारणको पनि उत्तिकै ध्यान जाने गरेको छ। सेयर बजारलाई सिद्धान्ततः पुँजीवादी अर्थतन्त्रको ऐनका रुपमा लिइन्छ। सेयर बजार अर्थतन्त्रको विस्तार तथा संकुचनसँग प्रत्यक्ष तथा अर्थतन्त्रमा प्रभाव पार्ने राजनीतिक घटनाक्रमबाट परोक्षरुपमा प्रभावित हुन्छ। तर अघिल्लो आर्थिक वर्ष अर्थतन्त्र ०.७७ प्रतिशतमा संकुचित हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गर्‍यो तर त्यसको ठिक विपरीत सेयर बजारले भने अर्थतन्त्रसँग कुनै नातासम्बन्ध नभएझैं उक्लेको उक्ल्यै १८०० विन्दुतिरको उचाइ नापिरह्यो। त्यतिमात्र होइन, सेयर बजार पुँजीकरण कूल अर्थतन्त्र २२ खर्बको आकार बराबर पुग्न खोज्यो। सेयर विश्लेषकले नेपाली सेयर बजारको प्रवृत्ति अन्य मुलुकको भन्दा ठिक उल्टो छ भने पनि नेपाली सेयर बजारमा सूचीकृत कम्पनीका प्रकृति र त्यसको अर्थतन्त्र र उत्पादनसँगको सम्बन्ध विश्लेषण गर्न भने धेरैले नखोजेको देखिन्छ। बरु हल्लैहल्लाको भरमा कहिले आकासिने र कहिले तलतिर झर्ने क्रम बढेको छ। बहुसंख्यक लगानीकर्तामा वित्तीय साक्षरताको कमी देखिन्छ। सेयर बजारमा सूचीकृत कम्पनीमा औंलामा गन्न सकिने थोरै उत्पादनमूलक उद्योग मात्र छन्। यस्तो अवस्थामा बजारमा हल्ला चलाएर नाफा खान पल्केका खेलाडी सक्रिय भएको देखिन्छ। त्यसैले नेपाली सेयर बजारमा सोझासाझा लगानीकर्ता होसियार रहनुपर्ने अवस्था आएको छ। अर्थतन्त्र र बजारको सिद्धान्तभन्दा भिन्न हाम्रो बजार देखिन थालेको हुँदा यसलाई कसरी सही बाटोमा हिँडाउने भन्ने चिन्ता पनि देखिएको छ। यसप्रतिको बुझाइ ठिक नहुँदा यसलाई 'जुवाघर' भन्ने टिप्पणी पनि भएको हो। तर, आधुनिक अर्थतन्त्रलाई बुझ्ने यस्तो माध्यमप्रतिको बुझाइ र त्यसको क्रियाकलापमा शंकाको स्थिति पैदा हुनु आफैंमा चिन्ताको विषय हो।

२०६५ भदौ २ गते ११७५ अंकमा रहेको नेप्से परिसूचक ओर्लिएर २०६८ असार १ गते सेयर बजार सबैभन्दा तल २९२ बिन्दुमा पुगेको बजार फेरि २०७३ साउनमा १८०० विन्दु हाराहारीमा उक्लिरहँदा लगानीको कुनै सुरक्षा नभएको नेपालमा सबैले राम्रै नाफा कमाउने उपकरण हुनु कुनै आश्चर्य थिएन। त्यसमाथि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको चुक्ता पुँजीवृद्धिले राम्रै लगानी प्रतिफल दिइरहेको अवस्थामा बजारमा अचानक ब्रेक लाग्यो। नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री कृष्णबहादुर महराले सेयर बजारबारे नकारात्मक अभिव्यक्ति नदिए पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयरमा स्रोत नखुलेको सम्पत्ति लगानी भएको भन्दै सम्पत्ति शुद्धीकरण समिति बनाएर छानबिन तयारी थालेपछि एकाएक लगानीकर्ता पछि हट्न थालेका थिए। यो स्थितिमा बोर्डले बाध्य भएर समिति खारेज गरेको सूचना जारी गरेपछि बजार एकाएक उच्चअंकले बढेको थियो। त्यो वृद्धि टिकाउ देखिएन। बैंक तथा वित्तीय संस्थाले राम्रै नाफा घोषणा गरिरहँदा पनि किन घटिरहेको छ त बजार? लगानीकर्ता हल्लाको बीचमा कतै आत्तिएर केही खेलाडीको बहकाउमा त फसेका छैनन्? नियामक निकायको आँखा त्यतातिर जानु आवश्यक छ। बजार घटेका बेला किन्ने र बढेका बेला बेच्ने सेयर बजारको नियम हो। तर अप्राकृतिक तरिकाले बजार बढाउने र घटाउने दुवै प्रवृत्ति हाम्रो बजारमा विगतमा पनि देखिएकाले नियामक निकायले चनाखो भई अनुसन्धान गर्नु आवश्यक छ। लगानीकर्ताको सुरक्षा तथा वित्तीय साक्षरतामा जोड दिनु नियामक निकाय धितोपत्र बोर्डको प्रमुख दायित्व हो। यसो भन्दैमा बोर्डले बजारमा कालोधनलाई उन्मुक्ति दिनु उपयुक्त हुँदैन। नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कालोधनको छानबिन गर्नु सरकारका सबै निकायको प्रमुख दायित्व हो। धितोपत्र बोर्डले मात्र यसमा उन्मुक्ति दिन मिल्दैन। नियामक निकायले सम्पत्ति शुद्धीकरण गर्न समिति गठन गरेको भन्ने खालका प्रचार नगरी अध्ययन, अनुसन्धान र सेयरबजारमा कालो धन प्रवेश भएको भए त्यसलाई नियन्त्रण गरेको भए बजारमा अचानक त्रास हुने थिएन र बजारमा अस्थिरता पनि आउने थिएन। अर्थतन्त्रको ऐना बन्नुपर्ने सेयर बजार नेपाली सन्दर्भमा भन्ने गलत सावित हुन लागेको छ। यो स्थितिलाई बुझेर समयमै यसलाई सच्याउनु उचित हुन्छ। यसलाई यथार्थमै अर्थतन्त्रको दर्पण बनाउनुमै लगानीकर्ता, सम्बन्धित कम्पनी र मुलुकको हित छ।

प्रकाशित: ३१ श्रावण २०७३ ०३:०५ सोमबार

अर्थतन्त्रको दर्पण