प्रधानमन्त्री निवास बालुवटारको एउटा चल्तीको मुख्य बैठक कक्षमा करिब दुई दर्जन तस्बिर झुन्डिएको देखिन्छ। प्रधानमन्त्रीले भेटघाटका निम्ति बोलाएका व्यक्तिहरू उनलाई पर्खिउञ्जेल ती तस्बिरमा ध्यान पुर्याउँछन् र मनमनै गम्छन् तिनका विगत।
नियमितजस्तो गइरहनेका निम्ति पनि भित्तोभरि झुन्डिएका ती तस्बिर आकर्षक लाग्छन्। किनभने प्रत्येक वर्षजसो त्यहाँ नयाँ तस्बिर थपिँदै जान्छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको आमन्त्रणमा शुक्रबार बालुवाटारमा प्रतीक्षा गरिरहँदा फेरि हामी तिनै तस्बिरमाथि छलफल गरिरहेका थियौँ, गम खाइरहेका थियौँ।
'बालुवाटारबाट भर्खरै बिदा लिएका प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर भने आइसकेको रहेनछ,' हामीमध्ये एकजनाले जिज्ञासा राखे। त्यतिबेला उपस्थित बालुवाटारका सहयोगीले भने- 'अब आइतबारसम्ममा त्यो तस्बिर भित्तोमा लागिसक्छ।'
पूर्ववर्ती तस्बिरका असफलताबाट सिक्दै दाहाल अघि बढे भने इतिहास उनको पक्षमा हुनेछ। यो मौका उनको गुमेको विश्वास, शक्ति र इतिहास आर्जनका निम्ति पनि मद्दतकारी हुनेछ।
कृष्णप्रसाद भट्टराईबाट सुरु भएको यो सिलसिला ओलीसम्म आइपुग्नेछ। प्रजातन्त्र पुनर्स्थापना भएयताको मुलुकको नयाँ राजनीतिक युगका यी प्रतिनिधि पात्रहरू हुन्। अब हामीसँग विगतमा झैँ राणा शासन, शाह शासनलाई गाली गर्ने समय छैन। जनताको शासनको यो युगले पनि परिवर्तन दिन सकेन भने जनता आफू हारेको महसुस गर्नेछन्।
प्रायः हामीकहाँ प्रधानमन्त्री बन्नु भनेको 'फोटो झुन्ड्याउन' जाने कर्मका रूपमा परिचित भइसकेको छ। जनआन्दोलन २०४६ यताका २७ वर्षमा हामीले त्यतिकै संख्यामा प्रधानमन्त्री पाइसकेका छौँ। आठ/नौ महिने प्रधानमन्त्री हुनु नियमित–आकस्मिकताजस्तो बन्न पुगेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनजना नेपाली समकक्षी सुशील कोइराला, ओली र दाहाललाई बधाई दिइसकेका छन्। उनको कार्यकालमा यो संख्या अझै बढ्ने निश्चितजस्तै छ।
२०४६ सालको जनआन्दोलनको सफलतापछि सन्त नेता भट्टराईले मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी लिए। परिवर्तनपछिको पहिलो संसदीय निर्वाचन भएको पनि २५ वर्ष नाघेको छ। यसबीच देशले सबैजसो दलका प्रमुख नेतालाई शीर्ष जिम्मेवारीमा पुर्याइसकेको छ। दुर्भाग्य, कसैले पनि त्यो जिम्मेवारीमा पुगेर पदीय गरिमा राख्न नसकेको अवस्था छ।
हामी फेरि प्रधानमन्त्री निवासमा रहेको पूर्वप्रधानमन्त्रीको सूची नियाल्न थाल्यौँ। भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र ओलीसम्मको एउटा शृंखला छ त्यहाँ। प्रत्येक तस्बिरहरू बोलिहालौँलाजस्तो गरी झुन्डिएका छन्। तर, तिनले मुलुकमा जनअपेक्षालाई ताŒिवकरूपमा सम्बोधन गर्न सकेको महसुस हुँदैन। लाग्छ, ती तस्बिरहरू आफै पनि निराश छन्!
प्रधानमन्त्रीको यो सूचीमा गिरिजाप्रसाद, सूर्यबहादुर, शेरबहादुरलगायत पटकपटक दोहोरिएएका छन्। बालुवाटारमा राखिएको तस्बिरको सूचीमा पूर्वराजा ज्ञानेन्द्र भने छैनन्। मन्त्रिपरिषद् अध्यक्ष भएका खिलराजाई डा. बाबुराम र सुशीलको बीचमा राम्रैसँग सजाइएको छ। उनी मुसुक्क मुस्काइरहेका देखिन्छन्– कारण दलहरू आपसमा मिल्न नसक्दा उनैले निर्वाचन गराउने अभिभारा लिइदिनुपर्यो।
ज्ञानेन्द्रले संविधानबाहिर गएर माघ १९, २०६२ मा सत्ता हातमा लिएपछि बैशाख ११, २०६३ सम्मको अवधि रिक्ततापूर्ण छ। एकभन्दा बढी पटक प्रधानमन्त्री हुनेका तस्बिरमै कहिलेदेखि कहिलेसम्म प्रधानमन्त्री भएको भन्ने पनि खुलाइएको छ।
यसपटकका प्रधानमन्त्री पुष्पकमल पहिलो पटक दोहोर्याएर त्यस पदमा पुग्ने वामनेता बन्न पुगेका छन्। बाँचेका भए पहिलो वाम प्रधानमन्त्री मनमोहनका निम्ति दोहोर्याउने अवसर आउँथ्यो होला। नौ महिनाभन्दा बढी शासन गर्ने मौका उनले पाएनन्। तैपनि सबैले सम्भि्कनुपर्ने छवि उनले बनाए। एकभन्दा बढी पटक प्रधानमन्त्री भएका भए बदनाम पो हुन्थे कि! बारबार प्रधानमन्त्री हुनुभन्दा त एकबारको जुनीमा एकैपटक राम्रो काम गरेर निस्किनु ठीक हो।
वामभन्दा गैरवाम प्रधानमन्त्रीको हातमा एकभन्दा बढी पटकको जिम्मेवारी आएको देखिन्छ। शासन सञ्चालनको मौका पाएका बेला राम्ररी काम नगर्नेहरूका निम्ति फेरि मौका आउँदैन। तर, हामीकहाँ भने मौका दोहोर्याएर आउँछ। तैपनि समयको पदचापलाई बुझेर काम गरेको पाइँदैन। अनि फेरि प्रतीक्षा हुन्छ अर्को मौकाको।
जति अस्थिरताका साथ प्रधानमन्त्री परिवर्तन भएका छन्, त्यो अन्य क्षेत्रमा देखिँदैन। जनआन्दोलन २०६२/६३ यता ९ पटक प्रधानमन्त्री परिवर्तन भए पनि राष्ट्रपति एक पटक मात्र फेरिएका छन्। २०४६ सालयताका सभामुखको संख्या मुस्किलले आधा दर्जन पुगेको छ। आवधिक निर्वाचन हुँदै आएको भए पनि २५ वर्षमा पाँचजना भन्दा बढी सभामुख हुने थिएनन्। सरकारहरू दिगो भएका भए योबीच हामीकहाँ यतिबेला पाँचौँ प्रधानमन्त्रीले शासन गरिरहेका हुने थिए।
शासन गर्नेको अनुार बालुवाटारमा चाँडै फेरिए पनि त्यहाँ पुग्न अन्य व्यक्तिलाई भने दसौँ वर्ष लाग्छ। प्रधानमन्त्री दाहालको निमन्त्रणा पाएर शुक्रबार बालुवाटार पुगेका धेरैजसो बुद्धिजीवी आफू त्यहाँ दशकौँपछि आइपुगेको बताइरहेका थिए। यसको अर्थ हो– शासन गर्ने अनुहार निरन्तर फेरिए पनि तिनले आफ्नो अनुकूलका व्यक्तिलाई मात्र त्यहाँ निमन्त्रणा गर्छन्। चित्त नबु‰ने आवाज तिनले सुन्दैनन्। तिनले सुन्न खोजे पनि बालुवाटारको पर्खालले विपरीत आवाजलाई छेक्छ।
प्राध्यापक कृष्ण खनाल गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला बालुवाटार छिरेका थिए। त्यसयता उनी त्यहाँ गएनन्। प्रधानमन्त्री दाहालको निमन्त्रणा नपाएका भए सायदै उनी फेरि त्यहाँ पुग्थ। विश्लेषक कृष्ण पोखरेलको जीवनमा त बालुवाटार संयोग झन् रोचक रहेछ। उनी प्रधानमन्त्री मनमोहनको पालामा बालुवाटार पुगेका रहेछन्। यसैपटक दाहालको निमन्त्रणा पाएर फेरि दुई दशकपछि त्यहाँ पुगेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारको हावापानी अत्यन्तै अनौठो हुन्छ। प्रधानमन्त्री बनेर त्यहाँ पुग्नासाथ व्यक्तिमा केही गर्ने भावना जन्मन्छन्। त्यहाँ नियमितजसो बुद्धिजीवी, पेशा, व्यवसाय क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गरिन्छ। तिनका सुझाव लिइन्छ। प्रधानमन्त्री हुने व्यक्तिले आफूमा रहेको भावनालाई त्यहाँ व्यक्त गर्छन्। यस्तो लाग्छ– त्यहाँ रहनेहरू यो मुलुकका निम्ति काम गरौँ भन्ने भावनाबाट प्रेरित हुन्छन्। तर, पछि के हुन्छ खै! ती त्यतिकै सपनाको रन्थमोलमै समयको बिस्कुन सुकाएर हिँड्छन्।
प्रत्येकजसो प्रधानमन्त्रीले हामी पत्रकारहरूलाई पनि बोलाएर के गर्न सकिन्छ भन्ने जिज्ञासा राख्ने गर्छन्। दुई–अढाइ घन्टा यो मुलुकमा नगरी नहुने अनेकन विषय त्यहाँ प्रस्तुत हुन्छन्। ती भनाइलाई नोटका रूपमा लिइन्छ पनि। यो नियमितताको साक्षी धेरैजसो प्रधानमन्त्रीका पालमा यो पंक्तिकार पनि भएको छ।
प्रधानमन्त्री रहेका व्यक्तिले दैनिक सर्वसाधारण र अन्य व्यक्तिलाई भेटिरहेको र तिनका कुरा सुनिरहेको बालुवाटारको भित्ताका ती तस्बिरहरूले पनि सुनिरहेका हुन्छन्। लाग्छ, ती भूतपूर्व तस्बिरहरूले बहालवालालाई भनिरहरेका छन्– छिटो गर समय छैन। तिमीलाई लाग्दो हो– म भर्खरै त आएको छु। अब धमाधम काम थालिहाल, नत्र हामीजस्तै पछुताउनुपर्ला!
तर, त्यस्तो हुँदैन। समय गुज्रँदै जान्छ। प्रतीक्षा गर्दागर्दै फेरि अर्को सत्ताको खेल भइसकेको हुन्छ। प्रधानमन्त्री दाहालले झन्डै एक दशकमा पाएको यो मौकालाई राम्रैसँग सदुपयोग गर्ने लक्षण देखाइरहेका छन्। सामान्यतः नयाँ प्रधानमन्त्रीलाई प्राप्त हुने चुनौती र अवसरलाई उनले भिन्नरूपमा लिएको देखिएको छ। त्यही भएर उनले पटकपटक भन्ने गरेका छन्– 'चुनौतीपूर्ण अवसर'।
दाहाल प्रधानमन्त्री नियुक्ति भएयता मधेसका समस्या समाधान, भारत र चीनसँगको सम्बन्ध सुधार र भूकम्पपीडितका निम्ति काम गर्ने उनको प्रतिबद्धता सुनिँदै आएको छ। त्यतिमात्र होइन उनले उद्घाटन र मन्तव्यका निम्ति समय खेर नफाल्ने पनि बताइरहेका छन्। यसलाई पालना गरे र आफ्नो काममा ध्यान दिए भने पक्कै पनि उनी सफल हुनेछन्।
हो, प्रधानमन्त्रीका रूपमा दाहालले गर्नुपर्ने काम धेरै छन्। शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुछ। यसलाई बुद्धिमत्तापूर्ण ढंगले टुंगोमा पुर्याउन खोजे भने उनलाई ठूलो सफलता प्राप्त हुनेछ। त्यतिमात्र होइन अहिलेको संविधानको सर्वस्वीकार्यता र सञ्चालनको प्रश्न पनि उत्तिकै टड्कारो छ।
दाहालले अहिले कार्यसूचीमा राखेका यी काम पूरा गर्न धेरै मानिसलाई सुन्नु त पर्छ नै। तर, त्योभन्दा बढ्ता आफ्नै कार्यकक्षमा झुन्डिएका आफूलगायतका पूर्ववर्तीका तस्बिरलाई हेर्नु र सुन्नुपर्छ। ती पूर्ववर्ती तस्बिरका असफलताबाट सिक्दै दाहाल अघि बढे भने इतिहास उनको पक्षमा हुनेछ। यो मौका उनको गुमेको विश्वास, शक्ति र इतिहास आर्जनका निम्ति पनि मद्दतकारी हुनेछ।
प्रकाशित: ३० श्रावण २०७३ ०३:०१ आइतबार