विचार

सुखद अन्त्य गुमेको राजनीति

नजानु पराजुल भयो, नजानु भात भयो, न धित रह्यो, न धर्म रह्यो, उसैको जात गयो।

-भीमबहादुर शाही

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिको सुखद अन्त्यको अवसर गुमाए। ज्योतिषी भविष्यवाणीले साथ नदिए पनि सत्तालोभ हटेन। उनको मात्रै नभै अरू नेताले पनि पार्टी सत्ता र राजकीय नेतृत्व हस्तान्तरण नगरेर सुखद समापनको मौका चुकाएका छन्। आफैँलाई केन्द्र सोच्ने नेतृत्वले पार्टी संस्थागत गर्दैनन्, पार्टी र सरकार नेतृत्व गर्ने भरपर्दो उत्तराधिकारी तयार गर्न पनि ध्यान दिँदैनन्।

तीव्र गतिमा फेरिएका दृष्य

देशले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पायो। धर्मनिरपेक्षतावादी र अन्ध-धर्मवादी, राजतन्त्रवादी र गणतन्त्रवादीको संयुक्त सरकारका रोडम्यापका सिद्धान्त, नैतिक र आदर्श राजनीतिअनुसार यात्रा त्यति सहज छैन। सरकारमा सहभागी दल र मन्त्रीहरू नियाल्दा उदेक लाग्छ। नवनियुक्त प्रधानमन्त्रीले भूसंवेदनशील आन्तरिक र बाहिरी स्वार्थको कसरी व्यवस्थापन गर्लान् ! फलामको च्यूरा चपाएझैँ हुनेछ।

राजनीतिमा हिजो नभै भोलि हेरिन्छ। प्रधानमन्त्री निराश जनमतलाई आशा जगाउने, बिग्रेको अर्थतन्त्र फेर्ने, सत्ताचरित्र फेर्ने के, के योजना छन्, नियाल्नै पर्छ।

देश क्लेप्टोक्रेसी (चौतर्फी भ्रष्टीकरण) मा फसेको छ। भ्रष्टीकरण राष्ट्रिय चरित्र बनिसक्यो। सत्ताको नयाँ टिमलाई अहिल्यै बात लगाउन हतार हुन्छ। संसदीय अभ्यासमा विश्वासको मत र मधुमास (सय दिन) सुविधाको समय हो। यसपछि राजनीतिभित्र पोलिटिक्स सुरु हुनेछ। कतिपय पार्टी सग्ला रहने छैनन्। समीकरणको परिणाम आकलन गर्न नसके पनि सङ्केतले सन्देश दिइसक्यो।

एकैदिनमा धेरै कुरा फेरिए। नयाँ सरकार गठनसँगै कैयौँका सपना चकनाचुर भए। कांग्रेस सत्ताबाहिर रहन सक्दैन, खेलभित्रका झेल गरेर मनसुख भैरहन्छ। नयाँ सूर्यबहादुर थापा खोजिरहेको छ। देउवाले पटक–पटक गठबन्धन गरे, सहयात्रीसँग वचनमा टिक्न सकेनन्। पार्टीभित्र रडाको निम्तियो। पार्टी डुबाएर भए पनि प्रधानमन्त्री बन्ने मनसुबा आरोप झेल्नु पर्‍यो। चौतर्फी असफल देखिए-सरकार चलाउन, पार्टी मिलाउन, सरकार बनाउन, गठबन्धन जोगाउन। इतिहासमा सुन्दर सुखद अन्त्यको अवसर समेत गुमाए।

आक्रोशले रन्थनिएको कांग्रेसमा वर्ग निष्ठा भने रह्यो। सत्ताका निम्ति आफ्नो धर्म, नीति, नैतिकता र लोकलाजसमेत गुमाएको कांग्रेसको अन्यलाई उपयोग गर्ने नीति थियो र छ। बढेको असन्तोषले पार्टी नेतृत्व र संसदीय दलको नेताबाट हटाउन गरिने विशेष महाधिवेशनको मागको सामना अब देउवाले गर्नुपर्नेछ।

संसदीय दलको नेता छान्दा कंग्रेसले ‘प्रजातान्त्रिक’ आचरण देखाएर ‘कम्युनिस्ट’ र अन्यलाई पाठ सिकायो। नेतृत्वलाई हाँक दिएर गगन थापाले समकालीनमा उम्दादर्जा र भविष्यको आरक्षण गरे। थापा कति योग्य, इमानदारको र स्वअडानले शक्ति आर्जन गरे भन्न सकिँदैन् तर उनले भीम रावलले जस्तो प्रताडनाको नियति खप्न भने परेन, बरु गठबन्धन टुटेपछि उचाइ बढाए।

राजनीति जानेका नेता केपी ओली ठहरिए। आफ्ना प्रतिद्वन्द्वीलाई कसरी पछार्ने भन्ने जानेका छन्। उद्देश्य थियो-गठबन्धनलाई तोड्ने, दबदबालाई कायम गर्ने, माधव नेपालको हैसियत ध्वस्त गर्ने। तिनैमा सफल भए। प्रचण्डसँग नयाँ समीकरण गर्नु उनलाई मुस्किल परेन। नयाँ गठबन्धन टिकाउने भूमिका कसरी निभाउँछन, परीक्षा भने बन्यो।

शङ्कावाद झेलिरहेका प्रचण्ड कांग्रेसी आश्वासन दोस्रो कार्यकालमा सत्ता पाइनेमा पत्याउनेवाला थिएनन्। सत्ता छोड्नुभन्दा बरु पार्टी नै फुटाएर बालुवाटार नछाड्ने ओलीको मानसिकता हार्ड डिस्कमा भरिएको चेतनाले उनलाई झस्काइरहन्थ्यो। युद्ध र शान्तिका ब्यूह रचयिता भएकाले हिजोभन्दा भोलिलाई हिसाब लाउँथे। परिस्थितिअनुसार मित्र र विरोधी छान्न, बनाउन उनलाई कुनै हिच्किचाहट हुँदैनथ्यो, भएन। अन्तिमसम्म आफ्ना दाउ लुकाएर कांग्रेस र एमालेसँग हितअनुसारको चाल चलिरहे। नयाँशक्ति आवेग र प्रतिक्रियाको उपज हो। हितको प्रायोजनसमेत मिसावटयुक्त छ। समयर्पूर्व विभाजनको नियति भोग्न पर्नेछ।

फ्रान्सेली राज्यक्रान्ति विश्वमै पहिलो गणतन्त्र उद्घोष गरे पनि एउटा सानो समूह हरेकवर्ष अझै राजतन्त्रको जुलुस लाउँछ। पहिलो कम्युनिस्ट देश रुसमा कम्युनिस्ट पार्टी अझै भए पनि सत्तामा भने असर राख्दैनन्। अहिलेको राजनीतिक समीकरण पत्ता लगाउन भने ‘सहश्रजिब्रा भएका शेषनाग’ लाई पनि हम्महम्मे पर्नेछ।

पार्टीहरू सुविधाको राजनीतिमा अभ्यस्त हुँदै अवसरको खोजीमा थिए। राजनीति खेलमा रेफ्री हुँदैन तर गोलपोस्ट भने सत्ता हुन्छ। जुनसुकै बेला आफन्तले नै सत्ताखेलाडी बनेर धोका दिन्छ। राजनीतिमा धोकालाई अपराध नभनी चातुर्य भनिन्छ, पछुताउ गरिँदैन। दर्शन र आदर्शमा जतिसुकै सिद्धान्त र आचरणको कुरा गरिएपनि सुविधाको सिद्धान्तका तर्क र अभ्यासमा राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्, राजनीति, युद्ध र प्रेममा सबका जायज मानिन्छ, सत्ताबाहेक सबै भ्रम हो बन्न पुग्छ। अवसर नगुमाउन जे/जुनसुकै भूमिकामा उत्रन्छन्। अरू सबै फासफुस हुन्छन्।

पहिलो क्याबिनेटले केही लोकप्रिय निर्णय गर्‍यो। सपना देखाएर आवेग तयार गर्ने कला सत्ताका सहज भर्‍याङ हुने गर्छन्। तर देखेका सपना, बढाइएका महत्वाकांक्षाले मात्रै धेरै समयसम्म जनता धैर्य राख्दैन। परिणामले देखायो–राजनीतिमा सत्ता र स्वार्थ सबथोक हुँदोरैछ। जो राजनीतिलाई फेर्न आवेग तयार गर्थे, उनीहरूलाई नै सत्ताले पचाइदियो। स्वयम् फेरिए। सिंहदरवारले धेरैलाई पचाइसक्यो। सरकारी मान्छे काम नगरी तलब लिन्छन् र जुनसुकै काम गराउन पनि घूस दिनुपर्ने सत्ताचरित्र बनिसक्यो। भत्केको विश्वासलाई लिइने निर्णय र गरिने भाषणले मात्र सहजै पत्याउने अवस्था रहँदैन, कठोर प्रयोग गर्न सक्ने टेस्टेडहरूमा नैतिक साहस र इच्छाशक्ति भने फेरि परीक्षा दिनुपर्नेछ।

सुखद अन्त्य र महारानीहरू

चाकर र दलाल कार्यकर्ताहरूले शक्तिकेन्द्रलाई सत्यतथ्य अवगत नगराउँदा धरातलीय यथार्थनेतृत्वले थाहा पाउँदैन्। मालिकको सत्तागुम्दा आफ्नु पनि औकात खस्कन्छ भनेर चाकरहरू सत्यकुरा लुकाउँछन्। त्रिपन्न वर्ष लगातार जितिरहेका आधुनिक मलेसियाका नायक ९७ वर्षीय महाथिर महमदले यसवर्ष चुनाव हारेर सुखद अन्त्यको अवसर गुमाए।

महारानीले राजाका महत्वकांक्षा बढाएर सत्तालिप्सा उत्तेजनामा फसाउँदै चिउँडामा थुक्ने र घुँडामा सुसु गर्नेबेलासम्म शक्तिखेलबाट सुखद अन्त्य हुन दिँदैनन्। कुनै समय अफ्रिकी नायक बनेका रर्वट मुगाबेले रोडेसियालाई जिम्बाबेमा त फेरे। तर ३७ वर्ष राज गरेर पनि सत्तालिप्सा टार्न भने सकेनन्। ‘मलाई ईश्वरले नियुक्त गरेका छन् ईश्वरबाहेक कसैले मलाई हटाउन सक्दैन’ भन्ने मुगाबेलाई निजी सचिवबाट दोस्रो पत्नी बनेकी ग्रेसा मुगाबेले भने जोइटिंग्रे बनाइन्। आफ्नो ३७ वर्षीय सत्ताकालपछि ग्रेसालाई सत्ता हस्तान्तरण गर्न थालेपछि उनलाई पार्टीबाटै गलहत्याइयो। पीडा सहन सकेनन्। २ वर्षपछि नै सिङ्गापुरमा उनको ९५ वर्षमा मृत्यु भयो।

जोइटिंग्रे बन्नुभन्दा विन्नी मन्डेलासँग सम्बन्ध-विच्छेद गरेका र राजनीतिमा सुखद अन्त्य गरेका नेल्सन मन्डेला संसारकै एउटा आदर्श राजनीतिज्ञ हुन। १० मे १९९४ मा उनी दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति बनेर नयाँ संविधानको मे १९९७ मा संसद्मा सहमति भएपछि सक्रिय राजनीतिबाट अलग भए। दुई वर्षपछि अर्थात १९९९ मा पार्टी अध्यक्षबाट पनि बाहिरिए।

त्रिशंकू संसदको नजिर

अत्यन्तै चुनौती झेलेर इजरायलको त्रिशंकू संसदमा विपरित सोचसँग मिलिजुली सरकार बन्ने चलन बनिसक्यो। बेलायतमा प्रधानमन्त्री एडवर्ड हिथले सन् १९७४ बलियो सरकार बनाउने अपेक्षा गरे। तर चुनावमा हाउस अफ कमन्समा कुनै दललाई बहुमत भएन, त्रिशङ्कु संसद् बन्यो। १९७० देखि ७४सम्मका प्रधानमन्त्री बनेका हिथले ब्रिटेनलाई युरोपियन इकोनमिक्समा लैजाने कन्जरभेटिभ पार्टीलाई बहुमत दिलाउन सकेनन्। लिबरल नेता जेरमथोरपसँग सत्ता साझेदारी गर्न नसकेर नयाँ सरकार बन्न सकेन।

सन् १९९६ मा जनता दलका ४६ सांसद मात्रै हुँदा १३ दलको समर्थनमा तेस्रो दलका नेता-(भारतीय संसद्मा ५सय ४३ सदस्य हुन्छन्। बिजेपी १ सय ६१ र कंग्रेस १ सय ४१ सदस्य थिए) एचडी देवेगौडा भारतका ११ औं प्रधानमन्त्री भए। सन् १९९७ मा भारतीय जनता पार्टीका प्रधानमन्त्री भएका अटलविहारी बाजपेयीको सरकार १३ दिनमा ढल्यो। देवेगौडा प्रधानमन्त्री भए।

अल्पमत र बहुमतको त्रिशंकू संसदको खेलले नेपालमा राजनीति पसल खुले, पार्टी फुटाइयो। २०५३ फागुन २६ मा शेरबहादुर देउवाको सरकार ढलेपछि फागुन २७ मा लोकेन्द्रबहादुर चन्दले एमालेको समर्थनमा सरकार बनाए। फेरि २०५४ असोज २० मा कांग्रेसको सहयोगमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बन्यो। समिट होटल, बैंकक यात्रा, सुत्केरी औषधिमा पुरुषका बिल भर्पाइ, प्राडो/पजेरो संस्कृति संसदीय अभ्यासका नजिर बने।

अन्तमा

पार्टीभित्र राजनीतिक चरित्र ध्वस्त हुँदा जे गरेर पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता बन्छ। नेताहरूलाई महारानीहरू, गुठियार र दलालहरूले निर्णयमा प्रभावित पार्नेछन्, सुखद अन्त्यको अवसर दिँदैनन्। चइज्म (चाकर सिद्धान्त) चतुरे चाकरहरूले ख्वामितको मनमस्तिष्क छामेर मनोभावअनुसारका तर्क कोरल्छन्। संसदीय खेलको मैदानमा संसदीय व्यवस्थाअनुसार खेल्नुपर्छ। नाटकमै पनि वास्तविकता झल्कनुपर्छ। राजनीति सरल रेखामा नभै वक्ररेखामा चल्ने, अभ्यास र शास्त्र हो।

प्रकाशित: २ माघ २०७९ ००:५५ सोमबार

सुखद अन्त्य र महारानीहरू सुखद अन्त्य गुमेको राजनीति