विचार

सिन्धुलीमा गोरखालीले हारेका भए के हुन्थ्यो?

त्यतिबेला काठमाडौंमा जयप्रकाश मल्ल राजा थिए। पृथ्वीनारायण शाहले उपत्यकावरिपरि राज्य जित्दै उपत्यकालाई घेराबन्दी र नाकाबन्दी गर्न थालेका थिए। पृथ्वीनारायण शाहसँग जयप्रकाशले लड्न हिम्मत गर्न सकेनन् बरु भारतमा रहेको बेलायती कम्पनी सरकारसँग सहायता मागे।  

उपत्यकास्थित पादरीहरूले दिएको सल्लाहअनुसार जयप्रकाश मल्लले मुख्तार उमदा र फकिर रामदासलाई दूत बनाई कम्पनी सरकारसँग सहायता माग्न बेतिया पठाए। गोरखालीको शक्ति बढेमा आफ्नो प्रभाव कम हुने स्थिति अंग्रेजले बुझिसकेका थिए। जयप्रकाशलाई सहयोग गर्नु कम्पनीका लागि ठूलो लाभ हुने बुझेका थिए। बेतियास्थित इस्ट इन्डिया कम्पनीका हाकिम गोल्डिङले नेपालसँगको व्यापारमा वाधा पर्नु, गोरखालीको शक्ति बढ्नु, कम्पनी सरकारका लागि हानिकारक छ भन्ने आशयको पत्र पटना हेड क्वाटरका शासक टम्स रम्बोल्डलाई १८२३ साल चैत्र २७ मा लेखे। नेपालमाथि लागेको गोरखा सैनिकको नाकाबन्दी हटाइदिने हो भने आफैं पटना आउन तयार रहेकोसमेत उल्लेख गरी अर्को पत्र पनि जयप्रकाशले पठाए। यो कुराको सुराक पाएपछि उनीहरूलाई अलमल्याउन पृथ्वीनारायण शाहले पनि सुरक्षाको बन्दोबस्त भएमा पटना आउने संकेत अंग्रेजलाई पठाएका थिए। रम्बोल्डले सोही कुराको समर्थन गर्दै कलकत्ता स्थित कम्पनीका गभर्नर बेरेस्टलाई १८२३ साल चैत २८ मा पत्र लेखे। गभर्नर बेरेस्टले कलकत्तास्थित सिलेक्ट कमिटीको निर्णय गराए। अनि गोरखालीको आर्थिक नाकाबन्दी हटाउन पृथ्वीनारायण शाहलाई नेपाल उपत्यकाबाट आफ्नो घेरा हटाउन शिष्टतापूर्वक पत्र लेख्ने साथै उपत्यका घेराउ गरेका सैनिक हटाउन नमानेमा जयप्रकाश मल्ललाई सहयोग गर्ने पत्र लेख्न गभर्नर वेरेस्टले पटनाका कमान्डर टम्स रम्बोल्डलाई निर्देशन दिए। रम्बोल्डले १८२४ साल वैशाख २१ मा हाम्रा मित्रका रूपमा रहेका मल्ल राजामाथि लागेको तपाईंको सैनिक तथा आर्थिक नाकाबन्दीलाई तुरुन्तै हटाइ दिन अनुरोध गर्दै नहटाएमा तपाईंलाई विपक्षका रूपमा घोषणा गर्न वाध्य हुने कुरा धम्की साथ दबाब दिएर पृथ्वीनारायण शाहलाई पत्र पठाए। अंग्रेजले दिएको चुनौतीलाई गोरखाशक्तिले कुनै वास्ता गरेन। अंग्रेजको पत्रको जवाफ नदिई अंग्रेजले आफ्ना सैनिक विरुद्ध जुनसुकै बेला आक्रमण गर्ने छन् भनी पृथ्वीनारायण शाह भित्री तयारीमा लागे।  

सिन्धुली गढीको संरक्षणमा रहेका खजान्ची वीरभद्र उपाध्यायलाई आवश्यक सहयोग उपलब्ध गराउन एक हजार सैनिकका साथ काजी वंशराज पाँडेलाई रमाना गराए। पृथ्वीनारायणको कुनै जवाफ नपाएपछि अंग्रेजले रणकौशल कप्तान किनलकलाई सेनासाथ जयप्रकाशको मद्दतका लागि जान खटायो। कप्तान किनलकले जयप्रकाशका दुई दूत उम्दा र रामदाससँग नेपाल सम्बन्धी सबै सुराकी, गोरखाली सैनिकको स्थिति बुझे।  

अंग्रेजले जयप्रकाशको सहयोगका लागि क्याप्टेन किनलकको नेतृत्वमा २ हजार ४ सय गोरा र हिन्दुस्तानी फौज पटनाबाट रबाना भई दरभंगा जनकपुर हुँदै भक्तपुरमा उत्रने गरी सिन्धुलीको बाटो प्रस्थान गर्‍यो। मध्य वर्षादको पर्वाह नगरी सेना प्रस्थान गरेको थियो। राजा जयप्रकाशका दूत उम्दा र रामदासको उक्साइमा नेपाल सिमानाभित्र हरिहरपुरमा १८२४ साल असोज ९ मा आइपुगेका थिए। अंग्रेज सेनाका लागि जनकपुर देखि नै रसद पानीको अभाव खट्केको थियो। पृथ्वीनारायणले मैदानमा सेना राखेनन् तर हाटबजारका रसद सामग्री लुकाए, खाली गराए। अगाडिको बजारमा पाइन्छ भनी जयप्रकाशका दूतहरूले हौस्याउँदै ल्याएका थिए।  

विपक्ष सेना ठूलो भएको खबर पाएर गोर्खाली सेना सिन्धुली गढीलाई छाडेर ५ किलोमिटर माथिको पौवा गढी र आसपासमा सामरिक तयारी साथ ढुकेर बसे। उकालोको मध्य भागमा रहेको ढुङ्गे्रबासमा सिकारी वंशु गुरुङको नेतृत्वमा धनुर्धारी सैनिक थिए। मोहडा पौवा गढीतर्फ खजान्जी वीरभद्र उपाध्यायको नेतृत्वमा बन्दुकधारी सेना तैनाथ थिए। काजी वंशराज पाँडे पनि आफ्नो नेतृत्वमा रहेको सेनासाथ त्यहीं नै तयारी हालतमा बसेका थिए।  

बिनारोकतोक अंग्रेजी सेना सिन्धुली पुग्यो। त्यस ठाउँमा आफ्नो राज्यभित्र विपक्ष सेनालाई रोक्न मकवानपुर राज्यका राजाहरूले पहिलेदेखिनै सिस्नुघारी तथा अरिङ्गाल र बच्छ्युका गोला फालिराखेका थिए। गोर्खाली सैनिकले तिनीहरूलाई सुरक्षित नै राखेका थिए। रसद पानीको अभावका कारण त्यसै फर्किएमा बेइज्जत हुने ठानेर फिरङ्गी सेनाका कप्तान किनलकले सिन्धुली गढीबाट अगाडि बढ्न १८२४ असोज २४ गते आदेश जारी गरे।  

अंग्रेज सेनाको लहर पौवा गढी नजिक पुग्दा सिकारी वंशु गुरुङको नेतृत्वमा रहेको धनुर्धारी सेनाले अंग्रेज सेनाको ढाडमै हानेर छिन्न भिन्न पार्‍यो। बच्छ्युँका गोला फुटाइ दियो। अरिङ्गाल, बच्छ्युको आक्रमण र सिस्नुघारीले गर्दा फिरङ्गी सेना हतप्रभ भए। खजान्ची वीरभद्र उपाध्याय र वंशराज पाण्डेको सेनाले समेत चारैतिरबाट छापामार, गुरिल्ला शैलीमा आक्रमण गरे। अंग्रेज सेनाको भागभाग भयो। यनकेन पछाडि आइरहेका सेनापति किनलक र अंगेजी सैनिक अधिकारीहरूले गोर्खाली आक्रमण थाहा पाएपछि भागेर ज्यान बचाए। लगभग १४ सय अंगे्रज सैनिक हताहत भए भने गोर्खाली सैनिक ३ सय जति परे। किनलकका साथ अन्तमा ८ सय सेना वाग्मती, रौतहट भई बारा जिल्लामा सैनिक शिविर लगाएर बसे।  

पौवा गढी लडाइँमा गोरखालीले अंग्रेज सेनाबाट ३ सय नाल बन्दुक हात पारेको थियो। अंग्रेज सेनालाई गोर्खालीले नराम्ररी पराजय भोगाए। गोरखालीसँग सिन्धुलीमा बेइज्जतीपूर्ण तरिकाले पराजय पाएपछि जयप्रकाश मल्लको सहयोग र गोर्खालीमाथि आक्रमणका लागि हिउँद लागेपछि थप सैनिक पठाउन किनलकले लेखेकोमा कम्पनी सरकारविरुद्ध दक्षिण भारतका राजा हैदरअलीले विद्रोह गरेकाले कम्पनी सरकारले थप सैनिक पठाउन सकेन। जयप्रकाशको अंग्रेजबाट सहायता पाउने आशा सदाका लागि टुंगियो।  

गोरखाका युवा राजा पृथ्वीनारायण शाह युवराजदेखि नै कति दूरदर्शी थिए भन्ने सिन्धुली युद्धले देखायो। नेपाल एकीकरणका लागि उपत्यकाका तीन राज्य जित्नुपर्छ भन्नेमा दृढ थिए। काठमाडौं जित्नुअघि नै वरिपरिका नुवाकोट, कीर्तिपुर, मकवानपुर, चौकोट, धुलिखेल, पनौती, साँगा, नाला आदि राज्य जितेर काठमाडौंलाई घेरामा पारी नाकाबन्दी गरिसकेका थिए। सिन्धुली जित्दा, गोर्खा, मकवानपुर, चौकोट, धुलिखेत, पनौतीबाहेक काठमाडौं गोरखाको अधीनमा आइसकेको थिएन। त्यतिबेला काठमाडौंका राजा जयप्रकाश मल्लले अंग्रेज शासकसँग सहायता मागेका र गभर्नर जनरलबाट उपत्यका घेराउ र नाकाबन्दी छाड्न दबाब दिएर पृथ्वीनारायणलाई पत्र लेखेपछि उनले अंग्रेजी सेना रोक्न सिन्धुलीमा सेना तयार बनाएर राखे।  

पृथ्वीनारायण शाहले सिन्धुलीमा इस्ट इन्डिया कम्पनीको अंग्रेज सेनालाई नरोकेको भए के हुन्थ्यो ? कप्तान किनलकको २४ सय बन्दुकधारी अंग्रेज सेना काठमाडौं आइसकेको अवस्थामा पृथ्वीनारायणले जित्ने सम्भावना क्षीण हुन्थ्यो। त्यसपछि त अंग्रेज सेनाको संख्या अरू बढ्दै जान्थ्यो। अनि गोरखाले जित्ने कुरा सपनामा पनि हुने थिएन। अंग्रेजले जयप्रकाश र पाटन भक्तपुरलगायत नेपालका बाइसी चौबीसी राज्यलाई पनि आफ्नो उपनिवेश बनाउँथे। अंग्रेज सेनाले जयप्रकाशलाई सहयोग मात्र होइन, नेपाललाई नै खान्थ्यो। दक्षिणको अंग्रेज शासनले भारतका ५६५ राज्यलाई अंग्रेजको उपनिवेश बनाइसकेको थियो। नेपाल एउटै देशलाई युद्धमा जित्न सकेको थिएन।  

अंग्रेजको उपनिवेश बनाउन सानो पहाडी देश गोरखा तगारो बनेको थियो। जसले नेपाललाई अंग्रेजको उपनिवेश बनाउनबाट बचायो। गोरखालीले साहसपूर्ण कदम नउठाएको भए हामी नेपाली बेलायतका प्रजा भई अहिले विशाल भारतका जनता हुने थियौं। नेपाल अंग्रेजको उपनिवेश भएको भए आजका नेता र विस्तारवादी भन्ने बुद्धिजीवीको के हालत हुन्थ्यो होला ?  

पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरणतिर नजाऔं। काठमाडौं जित्न उपत्यका वरिपरिका राज्य जितेर काठमाडौंलाई पृथ्वीनारायणले घेरामा पारेको र अंग्रेज आउने मकवानपुरको बाटो पनि बन्द गरेका थिए। काठमाडौं जित्नुअगाडि नै त्यति टाढाको सिन्धुली गढीमा छाउनी बनाएर अंग्रेज सेनालाई ढुकेर पर्खनु उनको ठुलो सफलताको पहिलो र महत्वपूर्ण कदम थियो। लडाइँ हारिने तराईका भागतिर ध्यान नदिएर पहाडी भेकमै केन्द्रित हुनु र विशाल अंग्रेज सेनालाई रोक्न सक्नु नै महानतम सफलता थियो। सिन्धुलीको पौवा गढीमा १८२४ आश्विन १५ गते अंग्रेज सेनापति किनलकको फौजलाई पृथ्वीनारायणका सेनाले हराए। सिन्धुली गढीको लडाइँ असोज १५ गते भएको थियो। तर कतिपयले १८२४ साल असोज २४ गते भन्ने गरेका छन्। विजय उत्सव भने कार्तिक २४ गते मनाउने गरिएको छ। नेपाली सेनाले सिन्धुली गढीमा युद्ध संग्रहालय र विजय स्मारक बनाएको छ।  

अंग्रेजले नेपालले हारेका किल्ला काँगडा, नालापानीलगायतका सेनाको प्रशस्ती गाएर स्तम्भ नै खडा गरिदिए। आफूले हराएका सेनाको बखान गर्नु उनीहरूको चाल थियो। सिन्धुली गढी, मकवानपुर गढी आदि अंग्रेजले हारेका मोर्चाका गोर्खाली सेनापतिहरूको विषयमा केही बोलेका छैनन्। सिन्धुली गढीका सेनापतिहरू सिकारी वंशु गुरुङ, खजान्ची वीरभद्र उपाध्याय र वंशराज पाण्डेजस्ता विजयी सेनापतिको कतै नाम नै लिएका छैैनन्। नालापानीलगायत हारेका सेनाको भने प्रशंसा गरेको पाइन्छ। अंगे्रजले नेपाली सेनापतिको सम्मान गरेको भनी हामी नेपाली पनि उनीहरूकै भनाइमा कुद्छौं। देश बचाउने वंशु गुरुङजस्ता सेनापतिको भने नाम निसाना नै छैन।

पृथ्वी जयन्तीको सन्दर्भमा पृथ्वीनारायण शाहप्रति नेपाली भएर रहने गौरवका लागि सम्मानपूर्वक हार्दिक श्रद्धासुमन।  

gaurikarki@gmail.com

(लेखक कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्।)

प्रकाशित: ३० पुस २०७९ ०१:२२ शनिबार

अक्षर