विचार

अम्बरका चार आयाम

करिव ५५ वर्षअघि 'नौ लाखे तारा उदाए, धर्तीको आकास हाँसेछ...' गीतबाट नेपाली सङ्गीत आकासमा उदाएका महान सङ्गीतज्ञ अम्बर गुरुङ भौतिकरूपमा अस्ताएको आज ४५ दिन भयो। तर उनले सिर्जना गरेका एक हजारभन्दा बढी गीतका माध्यमबाट उनी नेपाली आकासमा चन्द्र/सूर्य रहेसम्म चम्किरहने छन्। संगीतकर्मीहरु त धेरै आए/गए र आउँदैछन्  तर किन उनले यति धेरै लोकप्रियता र मानसम्मान पाए त? यो प्रश्न उनका समकालीन पुस्ताको त होइन, कनिष्ठ र अझ भविष्यका पुुस्ताको मनमा उठन सक्नेछ जुन स्वाभाविक पनि हो।

यो प्रश्नको उत्तरमा धेरै कोणबाट धेरै कुरा भन्न सकिन्छ। अम्बर गुरुङ संगीतकार मात्र थिएनन्, गायक पनि थिए र गायकमात्र थिएनन् गीतकार पनि थिए। समग्रमा भन्दा उनी गीत–संगीतको एक बहुआयामिक स्वरूप थिए, जसको उचाइ र गहिराइ दुवै अतुलनीय थियो, नेपालको सांगीतिक सन्दर्भमा। उनको समग्र योगदानलाई सरसर्ती नियाल्दा उनमा चार आयाम स्पष्ट पाइन्छ : 

पहिलो आयाम : संगीतकार

प्रथमतः उनी असाधारण संगीत साधक हुन्। उनको मुख्य विशेषता उनमा पूर्वीय र पाश्चात्य दुवै जगतका संगीतको प्रचुर अध्ययन, अनुभव र ज्ञान थियो। यस्तो कमैमा पाइन्छ। उनीभन्दा अघिका, समकालीन र पछिका  संगीत साधकहरुमा पनि प्रायःजसो एकातिरको मात्र ज्ञान भएको पाइन्छ। रत्नदास प्रकाश, नातिकाजी, शिवशंकर, कृष्णमान, भैरवबहादुर, गोविन्दलाल आदिमा पूर्वीय त्यसमा पनि भारतीय संगीतको प्रभाव बढी पाइन्छ। दुवै संगीतशास्त्रको ज्ञान भएकाले नै अम्बरले नेपाली गीत संगीतलाई नयाँ मोड, उचाइ र गहिराइ दिन सफल भए। उनले पाश्चात्य संगीतकारहरुले गर्ने क्यान्टाटा, कोयार जस्ता प्रयोगलाई नेपालमा पनि प्रयोग गरे भने नेपालका गीत, गीति नाटक, सिनेमा आदिमा पूर्वीय संगीतमा आधारित सुन्दर सिर्जना गरे।

हुन त कला क्षेत्रमा एक कलाकारलाई अर्कोसँग दाँज्नु उचित हुँदैन, सबैका आअफ्ना विशेषता हुन्छन्। तर पनि खुबी, समर्पण र योगदानका आधारमा भन्दा अम्बरलाई नेपालका बिथोभेन भन्न हिच्किचाउन पर्दैन। यद्यपि उनको नाम अम्बर गुरुङ नै काफी छ, नेपाली संगीतको आकास र धरतीका लागि, उनको नाम अरु कुनै नामसँग गाँसिन, टाँसिन आवश्यक छैन। उनले जति पनि गीत गाए आफ्नै संगीतमा गाए, अपवादका रूपमा नातिकाजीको संगीतमा गाएको एउटा गीतबाहेक। त्यो गीतलाई नातिकाजीप्रति अम्बरको सम्मानका रूपमा लिन सकिन्छ। कतिपय कलाकार आफ्नो एउटा सिर्जनाका कारण लोकप्रियताको उचाइमा पुग्छन्, त्यसपछि त्यो उचाइमा कायम रहन सक्दैनन् अथवा त्यसभन्दा अघि बढन सक्दैनन्। तर 'नौ लाख तारा...' देखि 'रातो र चन्द्र, सूर्य...' हुँदै 'सयौं थुँगा फूलका हामी...' सम्म आइपुग्दा पनि उनको संगीत प्रतिभाको ग्राफ कहिल्यै ओरालो लागेको पाइँदैन, सधैं उक्लिएकै देखिन्छ। राष्ट्रगान 'सयौं थँुगा फूल...'मा उनले रचना गरेका धुन बेइजिङ ओलम्पिकमा बजेका करिव दुई सय राष्ट्रिय धुनमध्ये उत्कृष्ट १० राष्ट्रिय धुनमा छानिएको तथ्य यहाँ मननीय छ। यसबाट पनि अम्बरको संगीतको स्तर स्पष्ट हुन्छ। नेपाली मौलिक शैलीको अर्केस्ट्रा (वाद्यवृन्द) तयार गर्ने उनको ठूलो धोको थियो। सायद निकै जटिल र निकै खर्चिलो कार्य भएकाले होला उनको यो धोको भने पूरा हुन पाएन। यो अभिभारा अब उनका अनुयायीहरुको काँधमा छ। 

दोस्रो आयाम :  गायक

पहिलो रेकर्ड भएको उनको नौ लाखे तारादेखि नै आमनेपाली स्रोताले उनको संगीतका साथै स्वरीय प्रतिभाको पनि परिचय पाए। उनको स्वरमा एकप्रकारको बेग्लै मिठास र माधुर्य पाइन्छ। रातो र चन्द्र सूर्य, होसियार यहाँ समयको, नेपाल आमा आदि गीतमा पाइने जोशिलोपन र म अम्बर हुँ तिमी धरती, स्वप्निल आँखाभरि, सोधुँ सोधुँ लाग्छ,  पिउँदै नपिउने मान्छे, बतासले झारेका फूलहरु, कहीँ आफ्नै भूमरी, ऊ पनि त मान्छे, यो जिन्दगीको के कुरा, उकाली चढ्दा, कमलो मुटु आदि गीतमा अनुभूत हुने भावुकता उनको स्वरका विशेषता हुन्। तिखो नभई मोटो स्वरका धनी अम्बरको गलाको ओजमा शब्दको ओस मिसिएपछि निस्किएका सिर्जना नेपाली संगीत सागरका अनमोल मोतीका रूपमा सुरक्षित छन्।   

तेस्रो आयाम : गीतकार

अम्बरमा साहित्यिक रुझान प्रचुर मात्रामा थियो। दार्जिलिङको साहित्यिक परिवेशमा हुर्की/बढेका र नेपाल आएपछि भूपी, ईश्वर बल्लभ, रत्नशमशेर थापा, शंकर लामिछाने, बैरागी काइँला, हरिभक्त कटुवाल आदि साहित्यिक महारथीहरुको सानिध्यमा रहेका अम्बरले लेखेका गीतहरु र गद्यात्मक संस्मरणहरु कुनै स्थापित साहित्यकारहरुका रचनाभन्दा कम देखिँदैनन्। सम्हालेर राख, म अम्बर हुँ तिमी धरती, कमलो मुटुभन्दा, मेरो आँखालाई राख्ने, उकाली चढ्दा, तिमी भूलमा पर्‍यौ, पहरामा फूल फुल्यो लगायतका दर्जनौं गीतले उनलाई एक गीतकारका रूपमा पनि बेग्लै पहिचान दिएको छ। वास्तवमा उनी एक कवि हृदयी मानिस थिए। 

चौथो आयाम : संगीतका परमगुरु

अम्बर एक कुशल गुरु हुन्। उनले दार्जिलिङमा छँदादेखि नेपाल आएपछि पनि जीवनपर्यन्त धेरैलाई संगीत सिकाए। यसमा गोपाल योञ्जनदेखि झुमा लिम्बूसम्म उनका शिष्यहरुको लामो सूची बन्न सक्छ। उनी गीत छाने जस्तै शिष्य पनि छान्थे। अर्थात जोकोहीलाई सिकाउन अग्रसर हुँदैनथे, विशेषगरी संगीतलाई रहरका रूपमा मात्र लिने वा संगीतलाई माध्यम बनाएर छिटै नाम, दाम कमाउन हतार भएकाहरुबाट उनी आफूलाई टाढै राख्न चाहन्थे। प्रतिभा, लगन र धैर्य नभएकालाई संगीत जस्तो गम्भीर कला सिकाउन नसकिने उनको ठम्याइ थियो। उनले करिव एक वर्षसम्म धैर्यको परीक्षा लिएर मात्र झुमा लिम्बूलाई संगीत सिकाएका थिए। जसले उनीसँग संगीत सिक्ने अवसर पाए तिनले आफूलाई सौभाग्यशाली मान्नुपर्छ।

राजनीतिक दृष्टिले राजा महेन्द्रका कामप्रति टीकाटिप्पणी जतिसुकै भए पनि प्रतिभा चिन्न सक्ने र क्षमताअनुसार अवसर दिने मामिलामा भने राजा महेन्द्रलाई तिक्ष्ण मान्नुपर्छ। उनैको आग्रहमा दार्जिलिङबाट २०२६ सालमा नेपाललाई नै कर्मथलो बनाउन आएका अम्बरले मात्र होइन, राजाको आग्रहमा नेपालमा आई आफ्नो क्षमता प्रदर्शन गरेका सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल आदिका कामले  पनि यसलाई प्रमाणित गरेको छ। अम्बर नेपाल आएर प्रज्ञा प्रतिष्ठानको माध्यमबाट आफ्नो प्रतिभा देखाउन थालेपछि गोपाल योञ्जन, दिव्य खालिङ आदिलाई पनि अम्बरको बाटो पछ्याउन सजिलो हुन गयो भने अरुणा लामा, दावा ग्याल्मो, डेजी बराइली, कर्म योञ्जन, शान्ति ठटाल आदिको नेपाल आउने/जाने सिर्जनशील क्रम बाक्लियो।

अम्बर अर्थात् आकास, उनको नाम र उनको कलाकारितासँग शब्दहरुको अनौठो संयोग पनि देखिन्छ। उनी आकास हुन् भने आकासमै हुने नौ लाख ताराबाट चम्किए, चन्द्र सूर्यबाट व्यापक भए, सुनको तारा, घाम–जून र ताराका लुकामारीबाट लोकप्रिय भए। उनी बाँचुञ्जेल अत्यन्तै सिर्जनशील जीवन बाँचे। आफूले गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको तर जीवन भने छोटो रहेकामा उनको गुनासो थियो। उनको सिर्जनशील जीवन देख्नेहरु भन्थे– बाँच्नु त यसरी पो! तर सधैँभरि बाँच्न सकिँदैन, अजम्बरी कोही पनि हँुदैन। उमेर र रोगले अँठ्याएपछि कसैको केही लाग्दैन। एक दिन खरानी बन्नैपर्ने शरीरलाई आखिर उनले पनि खरानी बन्न छोडिदिए चूपचाप। उनको मृत्युको भव्यताका साक्षीहरुले फेरि भने– मर्नु त यसरी पो! अन्त्यमा, उनको एक सुन्दर गीत सम्झँदै हार्दिक श्रद्धाञ्जलि– बाँकी कथालाई भन्दै गरौँला..।

प्रकाशित: ६ श्रावण २०७३ ०५:२० बिहीबार

अम्बरका आयाम