दाउद कुट्टब
दशकौँदेखि अरब विश्वले विभाजनको पीडा भोग्दै आएको छ। भूगोल, भाषा र संस्कृतिले जोडे पनि अरब देशबीच आपसी एकता नहुँदा लामो समयदेखि त्यहाँका प्राकृतिक स्रोतमाथि विदेशी शक्तिले लुटपाट मच्चाउने मौका पाउँदै आएको छ। उपनिवेशकालीन फुट गर र राज गरको रणनीतिले अहिले पनि निरन्तरता पाएको छ। स्थानीय संकीर्णताको कारण अरबले तेलको अथाह स्रोत र तुलनात्मकरूपमा शिक्षित जनताबाट लाभ उठाउन सकेको छैन। तर चालु फिफा विश्व कपले हाम्रोसामु एउटा अर्को आयाम भने उजागर गरेको छ।
फिफा विश्व कपमा अरब देशहरूको अनपेक्षित विजयको सिलसिलापछि फुटबल आज अरबमा एकताको सूत्र बनेको छ। नोभेम्बरमा साउदी अरबले अर्जेन्टिनालाई हार चखायो। ट्युनिसियाले फ्रान्सलाई र मोरोक्कोले बेल्जियमलाई पराजित ग¥यो। खेलको नकआउट चरणमा मोरोक्कोले स्पेन र पोर्चुगललाई प्रतियोगिताबाटै बाहिरिन बाध्य बनाएर इतिहास रच्न सफल भयो। मोरोक्को फिफा विश्व कपको सेमिफाइनल चरणमा पुग्न सफल पहिलो अरब देश बनेको छ।
मोरोक्कोले प्राप्त गरेका जीतपछाडिको कारण प्रशिक्षक वालिद रेग्रागुइका रणनीतिको सफल कार्यान्वयन हो। उनले गोलरक्षक युस्सिन बोनोलाई टोलीको केन्द्रमा राखेर खेल रणनीति बनाएका थिए। स्पेनसँगको खेलमा स्पेनी खेलाडीका गोल गर्ने प्रयासलाई बोनोले पटक पटक असफल बनाए। अन्ततः पेनाल्टी सुटआउटमा मोरोक्कोले स्पेनलाई खेलबाटै बाहिरिन बाध्य पा¥यो। पोर्चुगलका अग्रपंक्तिका खेलाडीले पनि बोनोको प्रतिरोध क्षमतालाई माथ खुवाउन सकेनन्। रेग्रागुइकै टोली पोर्चुगलसँगको खेलमा १–० गोलान्तरमा विजय हासिल गर्न सफल भयो। बिबिसीका खेल एक टिप्पणीकारले भने, “विश्व कपमा यस्तोखालको चकित पार्ने घटना कहिले भएको थियो?, म अहिले सम्झने प्रयास गरिरहेको छु।” गोलरक्षक बोनोले खुसियालीभावमा भने, “कसैले मलाई चिमोट्नुस्। म कतै सपना त देखिरहेको छैन?”
मोरोक्कोले यो उचाइमा सफलता पाउने अपेक्षा गरेको थिएन। उसलाई सुरुदेखि आफू जित्ने सम्भावना न्यून भएको कुरा थाहा थियो। त्यसकारण उसले ४–१–४–१ ढाँचाको बलियो प्रतिरक्षात्मक खेल खेलेको थियो। जसले मोरोक्कोली गोलरक्षकको शक्तिलाई अझ बलियो बनाएको थियो। तर प्रत्येक गोलका लागि हरेक स्थानबाट खेल्ने खेलाडीको भूमिका महत्वपूर्ण हुन्छ र सबै खेलाडीले दिलोज्यान दिनुपर्ने हुन्छ। मोरोक्कोका खेलाडीहरूले त्यो समर्पणभाव देखाएका छन्। जसले सिंगो अरब क्षेत्रका जनतालाई उत्साहित बनाएको छ। मोरोक्कोको फुटबल टिमको विजयसँगै अरबका केटाकेटी सडकमा छमछम नाचे। कतारमा फुटबलप्रेमी र खेलाडीहरू अरबी ऐक्यबद्धता प्रदर्शन गर्न प्यालेस्टाइनको झण्डा फहराइरहेको देखियो। खेलमा विजय हासिल गर्ने हरेक अरबी टोलीले आफ्ना सामूहिक तस्बिर र सार्वजनिक वक्तव्यमा प्यालेस्टाइनप्रति ऐक्यबद्धताका चिह्न र शब्द नछुटाइ समेटे।
स्पेनको ला लिगामा सेभिल्लाका लागि पनि खेल्ने बोनो अरबका युवाहरूका आदर्श पात्र बन्नु कुनै आश्चर्यको विषय थिएन। फुटबलका स्टार खेलाडीहरू प्रायशः घमण्ड र रिस देखाइरहेको देख्छौँ। तर, अग्ला र फुर्तिला जिउडाल, बलियो आत्मविश्वास, विनम्रता र सामूहिक भावनाले बोनोको छवि अलगै देखिएको छ।
आपसी वैमनश्यले अरब संसारलाई पछाडि धकेलेको छ।सामूहिक सहकार्यको रणनीतिमा काम गर्दा मेहनत कम लाग्ने भए पनि अरब देशलाई भने खेलकुद र व्यवहारमा सामान्यतः त्यसो गर्न असजिलो लाग्ने गरेको छ। हो, अल्जेरियाका तौफिक मख्लौफीले सन् २०१२ को लन्डन ग्रिष्मकालीन ओलम्पिकमा १५ सय मिटरको दौडमा स्वर्ण पदक जितेका थिए। मोरोक्कोका हिचम इल गुइरोजले सन् २००४ मा एथेन्समा भएको १५ सय र ५ हजार मिटरको दौडमा स्वर्ण पदक हात पारेका थिए। सन् १९९६ मा सिरियाका घडा सौवा एटलान्टा खेलअन्तर्गत हेप्लाथन विधामा विजयी भइन्। तर ती सबै खेल एकजना खेलाडीले मात्र खेल्ने खेल हुन्। समूहमा खेलिने खेलमा भने अरबले सामान्यतः हार बेहोर्दै आएको छ।
व्यापार–व्यवसायमा पनि अरब विश्वमा यस्तै कमी कमजोरी छन्। उदाहरणका लागि अरब लिगलाई लिनुहोस्। अरब लिगको स्थापना अरब विश्वको फराकिलो एकता प्रबद्र्धन गर्न गरिएको थियो। तर अरब देशका आयात र निर्यातमा अरब देशबीचको व्यापार १० प्रतिशतभन्दा पनि न्यून छ। परिवारमा आधारित स–साना व्यापार मात्र फस्टाएका छन्। अरबका कम्पनीहरूले विश्व व्यापारमा मुस्किलले कुनै उल्लेखनीय योगदान गर्न सकेका छन्। यो अवस्थाबाट निकट भविष्यमा कुनै परिवर्तन आइहाल्ने अवस्था पनि छैन। विश्व आर्थिक मञ्चले अरबका ७५ प्रतिशतभन्दा बढी सफल कम्पनीहरू परिवारको स्वामित्वमा रहेको अनुमान गरेको छ।
आपसी विभाजनले राजनीतिमा पनि गम्भीर प्रभाव पारेको छ। अरबको अन्नको भण्डार भनिएको देश सुडानमा अनिकाल लाग्दा कुनै संयुक्त प्रयास नहुँदा त्यहाँको अवस्था अझ भयाबह बन्यो। त्यस्तै प्यालेस्टाइनको भूभागमाथि कसले नियन्त्रण गर्ने भन्ने विषयमा प्यालेस्टाइनीहरूबीचको आन्तरिक विभाजनले त्यहाँका जनता आफूले आतुरीका साथ खोजिरहेको आत्मसम्मान र स्वतन्त्रता हासिल गर्न असफल छन्। इजरायलको पछिल्लो चुनावमा अरबका राजनीतिक पार्टीहरू नेसेटको उम्मेदवारमा एकढिक्का भएर उभिन तयार भएनन्। फलतः लाखौँ मत खेर गयो। समृद्ध अरब देशका जनतासमेत आज भोक र अशिक्षाको समस्या भोग्न बाध्य छन्। व्यावहारिक र वस्तुगत रणनीतिमा आधारित अरब देशबीचको एकता हुँदो हो त त्यो क्षेत्रमा ठूलो परिवर्तन हुने थियो। मोरोक्कोमा विश्व कपको उत्साहप्रद् प्रस्तुतिले हामीलाई यसबारे विचार गर्न झक्झकाएको छ। निःस्वार्थ र सामूहिक कार्यको अवधारणा व्यापक ढंगले कार्यान्वयन गरे मात्र सामूहिक सफलताको आधार बन्न सक्छ। टिभीमा मोरोक्कोको खेल हेर्न मरिमेटेका अरबका युवा र भविष्यका राजनीतिक नेताहरूले आफ्नो साझा उत्साह वास्तविक जीवनको एकतामा अनुवाद गर्न सक्लान् त?
(दाउद कुट्टब प्यालेस्टाइनका पत्रकार र प्रिन्स्टन विश्वविद्यालयका पूर्वप्राध्यापक हुन्। स्रोतः प्रोजेक्ट सिन्डिकेट)
प्रकाशित: ३ पुस २०७९ ००:४६ आइतबार