विचार

नेपाल–सिक्किम युद्ध र चैनपुरको मेजर पाटी

चैनपुर बजारको मेजर पाटी।

पूर्वी नेपालको लिम्बुवान क्षेत्रको वास्तविक इतिहास खोज्न अझै धेरै मेहनत गर्नुपर्ने देखिन्छ। नेपाल एकीकरण युद्ध, लिम्बुवान क्षेत्र र सिक्किमको इतिहासलाई केलाएर मात्र सही कुरो पत्ता लाग्छ। हाम्रा इतिहासमध्ये धेरै पारिवारिक महत्वबाट र कति जातीय भावनात्मक जनमत समेट्न समेत लेखिएका नजिर छन्। लेखकले सिक्किम पुगेर त्यहाँका इतिहासकार र राजनैतिक नेतासँगको वार्तालाप र त्यहाँ छापिएका पुराना नक्सासमेत हेरेर यी कुरा मनन गरेको हो। तीमध्ये पुराना अभिलेखमा पाइने तर प्रस्टसँग नलेखिएको पाटो भने नेपाल–सिक्किम युद्ध हो। नेपाल एकीकरण युद्ध हुँदाको अवस्थामा पल्लो किरातमा निम्नलिखित सुब्बा (स्थानीयहरूले भनेका राजा) हरू थिए ः

आतहाङ राई – फेदापका सुब्बा

शुभबन्ना राई – तम्बरका सुब्बा

श्रीदेव राई – मेवा खोलाका सुब्बा

रैनसिंजा राई – फागो मेवा खोलाका सुब्बा

जसमुखी राई – चैनपुरका सुब्बा

अरू ६ थर थाङरोक र चार खोलाका सुब्बाहरू ः सुनहाङ राई, आसदेव राई आदि।

माथि उल्लेख गरिएकामध्ये आतहाङ, शुभबन्ना, श्रीदेव र रैनसिंजा राईले नेपाली सेनासँग युद्ध नै नगरी आआफ्ना थुम सुम्पे। जसमुखी राई युद्धमा लडेर हारेपछि सिक्किमे लेप्चा सेनासँगै सिक्किम पसे। त्यसैगरी सुन हाङ, आसदेव आदिले पनि डटेर लडाइँ लडे, तर हारे। माथिका क्षेत्रहरूमध्ये विदेशीसँग भएको चैनपुरको युद्धहरू धेरै महत्वपूर्ण बनेको छ। नेपालले सिक्किमसँग तीन पटक युद्ध लडेको थियो। संखुवासभाको चैनपुर बजार (गोला बजार) भन्दा करिब २ किमि उत्तर पूर्वी डाँडामा रहेको सिद्धिपुर र कैलाश डाँडो दुवै स्थानहरूमा सिक्किमसँग युद्ध भए। सिक्किमले आफ्नो अड्डा, सेना राखेर मुकाम बनाउँदा राखिएको वर्तमान चैनपुरको नाम गोला बजार थियो। स्थानीयको भनाइअनुहार पछि काजी बख्तावरसिंह बस्न्यातले सिक्किमेले राखेको गोला बजार नामको सट्टा चैनपुर राखेका थिए। पहिलो युद्धमा सिक्किमलाई नेपालीले हराएपछि चैनपुर गढी र सिद्धिपुर गढी बनाएका थिए। अर्को भनाइअनुसार ती किल्ला सिक्किमे सेनाले बनाएका थिए। पछि नेपाली सेनाले पुनः निर्माण मात्र गरे। चैनपुर गढी इलाकामा हाल सशस्त्र प्रहरीको ब्यारेक छ। अर्को कुरा सिक्किमे सरकारले गोला बजार (चैनपुर) मा कर उठाउने गौंडो बनाएको थियो। जसलाई डाँढे (डाँढनू–तिराउनु) गौंडो भनिन्छ। नेपाल, चीन, सिक्किम र तिब्बतको समेत इतिहासमा चैनपुर निम्नलिखित कारणले महत्वपूर्ण छ:

नेपाल–सिक्किम युद्धको पृष्ठभूमि

१७०२ अर्थात् सन् १६४५ पछि सिक्किममा नामग्याल राजवंश खडा भयो। त्यसपछि किराती लेप्चा जातको बाहुल्य रहेको फौज बलिया बनाए। यो फौज अब राज्य विस्तार र देशलाई पैसा कमाई दिन टिष्टा खोला पश्चिम बढे। बिस्तारै बिस्तारै यो फौज र नेपाली खुम्बूहरूको घनिष्टता बढ्दै गयो। पछि गएर विजयपुर (धरान) राज्यका मन्त्री बुद्धिकर्ण राई (राय) को असीमित शक्ति हुनुमा यी लेप्चा फौज र सिक्किमसँगको राम्रो सम्बन्ध थियो। उता लिम्बुहरूसँग भने लेप्चाहरूको खटपट र लडाइँ भई नै रह्यो। विजयपुर राज्यको महाभारत उत्तर हिमालसम्मका (लिम्बूका केही क्षेत्रबाहेक) क्षेत्रहरू सिक्किमले नियन्त्रण ग¥यो। उसले यस क्षेत्रको नाम सिक्किमको ‘लिम्बूवान क्षेत्र’ राख्यो। अरूण नदी पूर्वको प्रायः सबै भूभागलाई आफ्नो राजनैतिक नक्सामा समेट्यो र प्रस्ट नक्सा बनायो। बडामहाराज पृथ्वीनारायण शाहको पालामा नेपालसँग चैनपुरमा सिक्किमको पहिलो युद्ध भएर सिक्किम हारेपछि सिक्किम डराएर आपैmले सन्धि गर्न चाही इलामको गढी थुम्का (इलाम गढी) मा सम्झौता ग¥यो र टिस्टा नदी दक्षिणको सम्पूर्ण भूभाग नेपाललाई सुम्प्यो। सिक्किमले लिम्बूवान गुमाउनु परेपछि नेपाललाई ‘दुस्मन’ भनी लेखेको छ। २०७६ मार्ग ११ गते सिक्किमको राजधानी गान्तोकमा लेखकलाई त्यहाँका इतिहासकारहरूले देखाएका सिक्किमको पुरानो राजनैतिक नक्सामा नेपाल एकीकरण पूर्व अरूण नदीबाट टिस्टा खोलासम्मको भूभाग सिक्किमकै देखाइएकाले नेपाली सेनाले सिक्किमका लेप्चा फौज विरुद्ध युद्ध लडी विजय गरेर नै सो भूभाग नेपालमा गाभेको हो। स्थानीय राजा रजौटा र जनता पनि लेप्चाहरूको नियन्त्रणमा रहेकाले सिक्किमको लेप्चा फौजमा स्थानीय अवश्य जागिरे थिए। सिक्किमका तर्फबाट नेपालविरुद्ध लडाइँ गर्दा दुवैतर्फका मरे–मारे। यो युद्धको परिणाम र नियम हो। गढी थुम्का इलाममा भएको सम्झौताले यो युद्ध अन्त भयो।  

सिक्किमसँग पहिलो युद्ध

यो युद्ध चैनपुर गढी, सिद्धिपुर गढी र कैलाश डाँडोमा अनि गोला बजार क्षेत्रमा भएको थियो। प्रधानसेनापति काजी अभिमानसिंह बस्न्यातको नेतृत्वका सरदार दामोदर पाँडे, जेठाबुडा रामकृष्ण कुँवर, सरदार आस खत्रीलगायतले १८३३ (सन् १७७६) सालमा सिक्किमे फौजसँग लडाइँ लडी धेरै सिक्किमेलाई मारेर यो क्षेत्र नेपालमा एकीकृत भयो भने सोही युद्धमा दामोदर पाँडेको बहादुरीको कदर गरेर प्रधानसेनापति काजी अभिमानसिंहकै सिफारिसमा काजीमा पदोन्नति भएका थिए। यो युद्धमा चुटाइ खाएका सिक्किमे फौज भागे। अनि इलाम पुगेका नेपाली सेनासँग डराएर सिक्किमे राजाले बडामहाराज पृथ्वीनारायणलाई टिस्टा नदीसम्म नेपाललाई छाडिदिन्छु, अब हमला नगरीदिनूस् भनेपछि सोहीबमोजिम इलाम गढी (गढी थुम्का) मा सम्झौता गरी यो युद्ध सकियो। गोला बजार (चैनपुर) को सुरक्षा सरदार आस खत्रीलाई जिम्मा दिएर अभिमानसिंह चौदण्डी–विजयपुरतर्फ लागे भने काजी दामोदर पाँडे इलाम हुँदै सिक्किम टिस्टा खोला पुगे। उनले त्यहाँ बसेर नेपाली ऐन कानुनअनुसार प्रशासन–न्याय–सुरक्षाको थिति मिति बसाले। उनले दिएको न्याय सिक्किमसम्म तारिफ गरियो। लेखकले देखेअनुसार सिक्किममा न्याय–बराम गाउँमा हाल पनि दामोदर पाँडेको सम्मानमा गाउँको नाम नै ‘न्याय गाउँ’ राखिएको छ।

सिक्किमसँग दोस्रो युद्ध

चीनले तिब्बतलाई सहयोग गरेकाले १८४८/४९ सालको नेपाल–चीन युद्ध भैरहँदा नेपालीहरूको ढाड भाँच्नका लागि चीनको उक्सावट र सहयोगमा तिब्बतीहरूले सिक्किमलाई फेरि उचाल्यो। सिक्किमे राजा तिब्बती, त्यहाँ रहेका भोटिया तिब्बती भएकाले समेत उचालिए। चिनियाँहरूले पैसा दिए। सो पैसा तिब्बतीले सिक्किमेलाई दिए। अनि नेपालको पल्लो किरात–चैनपुर–सिद्धिपुर क्षेत्रमा स्थानीयले भनेका पूर्व राजा–रजौटा, भोटिया र लेप्चा सेनाका साथै तिब्बती सेनासमेत मिली गोला बजार (चैनपुर) को सिद्धिपुर–कैलाश डाँडोमा रहेको नेपाली फौजमाथि अप्रत्यासित हमला गरी धेरैलाई मारे। यसै बखत चीन र तिब्बत मिलेर जुम्लामा ठूलो विद्रोह गराई पुनः नेपालले लडाइँ गर्नुप¥यो। सिक्किम फौजले फेरि पल्लो किराँत सिक्किमकै भएको घोषणा गरे। सरदार आस खत्री र सुब्बा पूर्णानन्द पाध्याले बाँचेको फौजलाई जम्मा गरी पछाडि हटेर बसे। अनि थप फौजका लागि काठमाडौंमा खबर पठाए। अब काजी बख्तावरसिंह बस्न्यातलाई ठूलो फौज दिई पठाइयो। बख्तावरको सहायक कमान्डर उनकै भाइ खलक सरदार बदलसिंह बस्न्यात तथा सरदार रनमानसिंह बस्न्यातलाई तोकियो। १८४३ सालमा सेनाको पजनी हुँदा बदलसिंह बस्न्यात रामदल कम्पनीको कम्पनी कमान्डर थिए । सिद्धिपुरको युद्धमा विजय गरेपछि बदलसिंह चैनपुर नजिकको मादी पुलुङमा बसे। हाल पनि उनका सन्तान त्यहीं छन्। कोही चैनपुरको खरांग इलाकामा बसेका छन्। यस युद्धमा सरदार रनमानसिंह बस्न्यातले वीरगति पाए। सिक्किमे फौजसँगै लड्न आएका तिब्बती भोटे सेनाले उनको छातीमा चुप्पी घोपेर मारेको थियो। उक्त दिन बुधबार परेकाले पूर्वाञ्चल क्षेत्रका उनका सन्तान बस्न्यात÷बस्नेतहरूले बुधबारको दिन अहिलेसम्म पनि दुःख बार्छन्। काजी बदलसिंह र सरदार रनमानसिंहका सन्तानहरूमध्ये नरसिंह, दुर्जसिंह, कालुसिंह, बाघसिंह, महासिंह, वृजमानसिंह, दलु, दिल्लीसिंह, ज्ञानेन्द्र, प्रेमसिंह, गोविन्द, प्रेसकुमार, दलबहादुर, पदम श्रीपाली बस्न्यात आदि हुन्। त्यसैगरी सरदार आस खत्रीको बसोबास पनि चैनपुरमै भयो र उनको सन्तान पनि त्यहीं छन्। काठमाडौंबाट गएका फौज, विजयपुर (धरान) बाट आएका र सरदार आस खत्रीसमेतका फौज मिली सिक्किमे फौजमाथि चैनपुर गढी, सिद्धिपुर गढी र कैलास डाँडोको खलङ्गामा एकैपटक हमला गरियो। तिब्बती फौजका सरदार ७ जना काटिए, सिक्किमको सेनापति करुवाङ काटिए। ६०० जति अरू फौज काटिएपछि सिक्किम र भोटको संयुक्त फौज भागे। यसरी पुनः पल्लो किरात नेपालले फिर्ता लियो। चैनपुरको सिद्धिपुर खलङ्गाको दक्षिण भिरालाको खोल्सामा काटिएका बैरीहरूको रगतले भरिएकाले हाल सो खोल्सोलाई ‘रगते खोलो’ वा खोल्सो भनिन्छ। यो विजय युद्धपछि काजी बख्तावरसिंह बस्न्यात केही वर्ष चैनपुरमै रहे। युद्ध जितेको सम्मानमा राजा रणबहादुर शाहको बक्सिस पाई उनले चैनपुरमा ‘बखत सुन्दर हिटी मनराजी बगैंचा’ बनाई करिब ५ हजार रोपनीको गुठी राखे। बख्तेश्वर महादेव, पानीको कुवा, भीमसेन मन्दिर, बस्न्यात पौवा (पछि मेजर पाटी भनियो) समेत उनले बनाए। जुन अद्यापि छन्।

सिक्किमसँग तेस्रो युद्ध

राजकुमार बहादुर शाहको नायबी शासन कालमा सिक्किमले सशस्त्र निहुँ खोज्न थालेपछि बहादुर शाहले काजी जहरसिंह बस्न्यातको नेतृत्वमा सरदार बदलसिंह बस्न्यातसमेत भई हमला गर्न गए। सिक्किमे बालक राजा सावा थिए भने उनका सेनापति लाप्चा कार्वाङ युकसुथुक थिए। काजी जहर सिंह र सरदार बदलसिंह बस्न्यातले पहिला दार्जिलिङ गढीमा हमला गरेपछि सिक्किमे सेनापति भागेर धर्म पुगे। टिस्टा नदी तरेर जहर सिंहले धर्ममा पनि हमला गरे। त्यसपछि उनी सिक्किममा फर्के र १ महिनासम्म लडाइँ लडे। युद्ध जितेपछि सबै बन्दोबस्त मिलाई जहरसिंह इलाम फर्के। इलाममा रहेको पुरानो खलङ्गा राम्रो नभएकाले उनले इलाममा गढीसमेत बनाउन लगाएका थिए। काजी जहरसिंह बस्न्यातले आफ्ना बाजे बडावीर सेनापति शिवराम सिंह बस्न्यातको स्मृतिमा काठमाडौंको साँखुमाथि डाँडोमा पाटी, पौवा, माने, आदि बनाए। त्यसपछि त्यो स्थानको नाम जहरसिंह पौवा रहेको छ।

चैनपुर बजारको मेजर पाटी

चैनपुर बजारमा मूल काजी बखताबर सिंहले पाटी बनाउँदा कुनै नाम राखेको प्रमाण भेटिन्न। स्थानीयहरूले पछि बस्नेत पाटी भनेको र फेरि पनि पछि गएर मेजर पाटी भन्न थालेको पाइयो। उस समय कसरी मेजर पाटी भने होलान् ? खोजको विषय छ। २००० सालसम्म पनि नेपाली सेनामा अधिकृत तहमा मेजर पद थिएन। मेजर कप्तान भन्ने पद थियो। तर जमदारभन्दा तल्लो अर्थात् जेष्ठ हवलदारलाई मेजर, अजिटन (एद्जुटेन्ट हवल्दार) पद दिएको थियो। मूल काजी बखताबर सिंहको पाला १८४८/४९ सालदेखि २००० सालसम्म अधिकृत तहमा मेजर नभएको अवस्थामा यो पाटीलाई किन मेजर पाटी भनेको होला ? लेखक पनि अल्मलिएको छ किनकि यो पाटी बनाउने व्यक्ति त मन्त्रीसरह पदका थिए। पछि मूल काजी अर्थात् प्रधानमन्त्री भए।  

सेनापति काजी शिवराम सिंह बस्न्यातका नाति, प्रधान सेनापति केहर सिंह बस्न्यातका कान्छा छोरा बख्तावरसिंह बस्न्यात १८४८ सालमा २० वर्षका थिए। माथि लेखिएझैं दोस्रो नेपाल–सिक्किम युद्धमा संखुवासभाको चैनपुर (सिक्किमले राखेको नाम गोला बजार) नजिक चैनपुर गढी, सिद्धपुर गढी तथा कैलाश डाँडाको खलङ्गामा तिब्बती र सिक्किमका सेना नायकहरू ७ जना काटिए भने सिक्किम प्रधानसेनापति करुवाङको पनि टाउको गिँडे। अनि अरू ६०० जनाभन्दा बढी सिक्किमे र तिब्बती फौज काटिए। नेपालतर्फ पनि धेरै फौज मारिए। यो विजय उत्सवले ठूलो महत्व राख्छ। बख्तावरसिंहले नेपाल–अंग्रेज युद्धमा समेत गढवालको राजधानी श्रीनगरमा सैनिक छावनी (ब्यारेक) खडा गरी युद्ध सञ्चालन गरेका थिए। सो बारेको युद्ध खटन–पटन र राजधानी काठमाडौंबाट आदानप्रदान गरिएका पुराना थुप्रै चिठी पत्रहरू प्राप्त छन् । चैनपुरको सो समाप्तीपछि एकदिन काठमाडौंबाट एउटा पत्रमार्फत जेठो छोरा प्रसादसिंह बस्न्यातको जन्म भएको समाचार प्राप्त भयो। त्यस खुसीको अवसरमा त्यहाँ उनका साथमा रहेका उमराव, ब्राह्मण, बैरागी, जोगी–सन्यासी, भाट, भिक्षुक आदिलाई यथोचित सम्मान दिए। साथै गरिब गुरुवाहरूलाई अन्न, वस्त्र, द्रव्य दिएर सबैलाई खुसी तुल्याए। त्यस स्थानमा केही दिगो कीर्ति राख्ने उद्देश्यले उनले चैनपुरमा सुन्दर हिटी बगंैचा बनाई ‘बषत सुन्दर हिटी मनराजी’ भन्ने नाम चलाए। यो बगैंचा हाल छैन। यहाँ कलेज अर्थात् उच्च मावि बनेको छ अहिले। त्यसैगरी उनले चैनपुर बजार र आसपासमा बखतेश्वर महादेव मन्दिर, भीमसेन मन्दिर, पानीका कुवा र पाटी (पछि बस्न्यात पाटी अनि मेजर पाटी पनि भन्न थालियो।), सो बगैंचा, मन्दिर, पाटी, पानीको धारा–कुवाको समेत स्याहार–संहार, पूजाआजा गर्न, ‘बषत सुन्दर हिटी मनराजी बगैंचा’ को जगेर्नाका लागि त्यही चैनपुरको अम्बलको चनौटे (बेसी खोला झुमेटार चार किल्ला हाली झन्डै ५ हजार रोपनी जग्गा गुठी राखे। धेरै जग्गा अतिक्रमण गरिएका छन् भने हाल पनि ३६ सय रोपनी हाल साबिक गरिएको छ। बखतावर सिंहले नै स्थानीय ‘गौतम’ परिवारलाई सम्पदा रेखदेख गर्न पूजारी राखेको हो। तिनै परिवारले सो जग्गा चर्चेका छन्। आधा चैनपुर बजार तेही गुठीमा पर्छ। यो पाटी तथा बखतावर सिंहले गरेका कीर्तिहरूका बारेमा यो मेजर पाटीको अगाडि ठुलो ढुङ्गामा लेखिएका शिलालेखमा सबै विवरण यद्यपि पढ्न सकिन्छ। करिब २३१ वर्ष पुरानो हाल भनिएको मेजर पाटी वीरताको चिनो र ऐतिहासिक सम्पदा हो। यो पाटीलाई स्थानीय सरकारले मर्मतसम्भार गरेको र गुठीको जग्गा चर्चिने परिवारले समेत कुनै वास्ता गरेको पाइएन। लेखक पटक पटक त्यहाँ पुग्दा उक्त पाटीमा रक्सी भट्टी पसल राख्न दिएर कसैले भाडा खाइरहेको पायो। स्थानीय प्रशासन, स्थानीय सरकार तथा बुद्धिजीवीसमेतलाई यो पाटीको संरक्षणका लागि लेखकले अनुरोध गरेको छ। अन्तमा, यो चैनपुर क्षेत्र पूरै नेपालको सैनिक र राजनैतिक इतिहाससँग जोडिएको छ। यसको सम्पूर्ण इतिहासको प्राज्ञिक शोध गरी पुनर्लेखन हुनु नितान्त जरुरी छ। फेरि पनि हेक्का रहोस् कि यहाँको इतिहास लेख्नुअगाडि सिक्किमको इतिहास अध्ययन हुनु जरुरी छ। यो लेखमा सुधार गर्नुपर्ने पाटो पाठक वर्गबाट प्राप्त सुझावमा भर पर्ने छ। 

प्रकाशित: १७ मंसिर २०७९ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App