यस पटकको राष्ट्रिय चुनावमा युवा आउनुपर्छ र युवाले नै देशको बागडोर सम्हाल्नुपर्छ भन्ने चर्चा अहिले चारैतिर भइरहेको छ। यस्तो हुनुमा गत स्थानीय चुनावको ठूलो भूमिका देखिन्छ। बालेन शाहदेखि हर्क साम्पाङसम्मको निर्वाचनले यसमा आकर्षण बढेको हो। कुनै दलको आबद्धता नभएकाले स्वतन्त्र व्यक्ति दबाब, त्रास, डर, धम्कीमा पर्नुपर्ने अवस्था छैन। दलको नेताको चाकडी पनि गर्नुपर्दैन। रकम वा कमिसन पनि दललाई बुझाउनु पर्दैन। यस कारण उनीहरू मात्र नगरको विकास, शिक्षा, स्वास्थ्य र आवश्यकतामा आधारित नीति नियम बनाउँदै आफ्नो नगरबासीका लागि स्वतन्त्र भएर काम गरिरहेका छन्। यसले गर्दा नै यस पटकको प्रतिनिधि सभाको राष्ट्रिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या ह्वात्तै बढ्न गएको बुझिन्छ।
देशमा हाल ४० प्रतिशत युवाको जनसंख्या रहेको राष्ट्रिय तथ्यांकले देखाएको छ। तर यी युवा नै देशमा पीडित बनेका छन्। पढेलेखेका भए पनि। पढाइ र क्षमताअनुसारको देशमा रोजगारी हुन सकेको छैन। आर्थिक अभाव भएकै कारण स्वरोजगार पनि हुन सकेका छैनन्। जसले गर्दा युवाहरू एक हातमा शैक्षिक योग्यताको प्रमाणपत्र र अर्को हातमा विदेशको भिसा लिन बाध्य छन्। दिनहुँ हजारौँको संख्यामा युवाहरू तल्लो स्तरको काम गर्न विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न पनि युवाहरू आफूले हासिल गरेको सिप र योग्यतालाई राजनीतिमार्फत प्रवेश गरी देशको नीति निर्माण गर्ने तहमा पुग्ने हुटहुटीकै कारण पनि यस पटकको चुनावमा विभिन्न क्षेत्र, पेसा, व्यवसायका पढे/लेखेका युवाहरूको निकै बाक्लो प्रवेश भएको हो।
राजनीतिमा लागेर नीति निर्माण गर्ने तहसम्म पुग्ने हुटहुटी त युवाहरूको मन मस्तिष्कमा स्थानीय चुनावले जगाइदिएको हो। जसले गर्दा यस पटकको चुनावमा स्वतन्त्र युवाहरूको संख्या बढाउनुका साथै देशका लागि केही गर्नुपर्छ भन्ने सोच र चाहनासमेत युवाहरूमा जगाइदियो। यसै कारण यस पटकको राष्ट्रिय चुनावमा थुप्रै युवाको प्रवेश रह्यो। जसले गर्दा यस पटकको चुनावमा विभिन्न क्षेत्रका युवाको उल्लेख्य सहभागिता देखियो। डाक्टर, पत्रकार, पर्यटन व्यवसायी, इन्जिनियर, कलाकार, प्रहरीका पूर्वअधिकारी, अर्थशास्त्री, विदेशी विश्वविद्यालयबाट अध्ययन गरेका तथा शिक्षकहरूको बाक्लै सहभागिता रह्यो।
राजनीतिमा पढेलेखेकाहरूको पहुँच हुनुपर्छ। यस पटकको चुनावमा पढेलेखेका व्यवसायिकहरूको उपस्थितिले पनि यही सावित गर्यो। यो चुनावको निकै सुन्दर पक्ष बन्न पुग्यो। यसले गर्दा धेरै राम्रा र सक्षम युवाहरूले पुरानासँग र सोही क्षेत्रमा पटक-पटक उम्मेदवारी दिइसकेका नेताहरूसँग पराजित हुन पुगे। यसले के पनि देखियो भने स्थानीय चुनावमा उठेका धेरै युवामा भएको हुटहुटीकै कारण उनीहरू राष्ट्रिय चुनावमा बिनातयारी नै उठे। नयाँ अनुहारसँग चुनावी अनुभव नभएका कारण पनि चुनावी रणनीति बलियो बनाउन नसकेको पनि स्पष्ट देखियो। तर चुनावमा अध्ययन र अनुभव अति आवश्यक हुन्छ भन्ने पाठ पनि युवा र स्वतन्त्रहरूले सिक्ने मौका पनि यही चुनावमा पाए।
जसको मुख्य उदाहरण हामीले काठमाडौँ क्षेत्र नम्बर एकमा देख्यौँ। त्यहाँ थुप्रै सक्षम र युवा उम्मेदवारहरू त्यही हुटहुटीकै कारण एकापसमा प्रतिद्वन्द्वी हुन पुगे। पूर्वपत्रकार, युवा अभियन्ता, पूर्व प्रहरी अधिकारीलगायतका धेरै सक्षम र आफ्नो पेसामा पोख्तहरू एकापसमा लडे। जसको फाइदा पुराना र पहिले नै त्यस क्षेत्रमा परीक्षण भइसकेका उम्मेदवारलाई हुन गयो। जबकि यहाँ स्वतन्त्र र अन्य युवाहरू एकापसमा समन्वय गरी पूर्ण तयारी साथ त्यस क्षेत्रका लागि विकासको स्पष्ट ढाँचा लिएर अघि बढ्नुपर्ने थियो। यसो गरेको भए युवाले अवसर पाउँथे र राम्रो राजनीति संस्कार बस्थ्यो। तर दुर्भाग्य नै भन्नुपर्छ, सक्षम र योग्य युवाहरू आआँफै भिडे तर कोही सफल हुन सकेनन्। यसको फाइदा पुरानालाई भयो।
यो निर्वाचनले आगामी चुनावहरूमा सक्षम, योग्य, आफ्नो पेसा र क्षेत्रमा योगदान पुर्याएका युवाहरू पनि राजनीतिमा आउन सक्ने बाटो भने थप फराकिलो बनाइदियो। यो देशका लागि फड्को मार्ने राम्रो उदाहरण बनेको छ। यस्ता व्यक्तिहरूको राजनीतिमा उपस्थिति हुनु नयाँ आयाम हो।
कतिपय युवाको राजनीतिक लगाव र उनीहरूको योग्यता तथा क्षमतालाई देखेर राजनीतिक दलले पनि साथ दिए। यो नेपाली राजनीतिका लागि सकरात्मक पक्ष हो। जस्तै-गत स्थानीय तहको निर्वाचनमा युवा नेतृ उपमेयर सुनिता डंगोललाई एमालेको साथ मिल्यो। उनी सक्षम र योग्य त थिइन् नै, साथै दलको साथले उनी भारी मतले विजय भइन्। यसले नेपाली राजनीतिमा नयाँ युवाको प्रवेश हुन पुग्यो। हाल उपमेयरका रूपमा काम गर्ने उनको कार्यशैलीलाई धेरैले मन पराइरहेका छन्। यस पटक पनि केही युवालाई दलको साथ र समर्थन पनि रह्यो।
यसले के देखाउँछ भने युवाहरूमाा राजनीति सचेतना, सक्रियता र चासो बढ्दै गएपछि ठूला दल पनि सर्मथन गर्न बाध्य बन्छन्। यस पटक पनि युवा उम्मेदवार पुकार बमलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सर्मथन गरेको थियो। रमेश खरेल भने आफ्नै पार्टीमार्फत अघि बढे। चितवन क्षेत्र नम्बर ३ मा डा. भोजराज पोखरेललाई सत्ता गठबन्धनले समर्थन गरेकै थियो। भलै, यी नयाँ अनुहारको जीत हुन सकेन।
शिक्षा क्षेत्रमा राज्यको ठूलो बजेट निकासा हुन्छ। तर यस क्षेत्रमा रकम सदुपयोगको साटो दुरूपयोग बढी हुने गरेको छ। विद्यालयमा बालबालिकाको नाममा खाजाका लागि अर्बौ रकम निकासा हुन्छ। कतिपय विद्यालयमा समयमै बजेट पुग्दैन। पुगे पनि बजेटबाट बालबालिकालाई पूर्ण खाजा नदिने, दिए पनि अपुग जस्ता विकृति बढ्दो छ। जस्तै कतिपय विद्यालयमा रकम कम भएको निहुँमा कालो चिया र एक मुठी भुजा दिएर विद्यालयहरूले खाजा खुवाएको बजेट पेस गर्ने गरेका छन्। यस्ता खाजाले बालबालिकाको स्वास्थ्यमा पोषण दिँदैन।
यस्तै विद्यार्थी नभएको कक्षाकोठामा समेत फर्जी विद्यार्थीको तथ्यांक पेस गरी किताब, खाजा, शैक्षिक सामग्रीका नममा रकम लिने र विद्यार्थी नभए पनि आसेपासेलाई शिक्षकको दरबन्दी दिने लगायतका थुप्रै फोहरी खेल कायम भएकै कारण शिक्षा क्षेत्र उभो लाग्न सकेको छैन। कम्तीमा पढे/लेखेका र पेसाप्रति इमान्दर, सक्षम र अब्बल युवाको राजनीतिमा प्रवेशले अब देशले फड्को मार्छ भन्नेमा आशावादी हुन सकिन्छ। यस्तै चिकित्सा क्षेत्रमा अपर्याप्त बजेट विनियोजन हुन्छ। हेल्थ पोस्टमा अत्यावश्यक औषधिसमेत पुग्दैन। सिटामोल नभएर मर्नेहरू पनि छन्। मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा क्षेत्र त फितलो छ। जिम्मेवारी लिएर बसेका डाक्टर/अधिकारीहरूप्रति नै सम्मान घट्दै गएको छ। केही राम्रा डाक्टर पनि छन्। तर समग्रमा अधिकांश भ्रष्ट छन्।
त्यसकारण आफ्नो क्षेत्र र पेसामा अब्बल युवाहरू नीति निर्माण तहमा पुगेपछि कम्तीमा शिक्षा, स्वास्थ्यमा देशले काँचुली फेर्ने विश्वास गर्न सकिन्छ। यस्ता व्यक्तिहरूको उपस्थितले राजनीतिको फोहोरी खेल त कमसेकम सफा हुने विश्वास त गर्न सकिन्छ। तर राजनीतिलाई सफा गर्न इमान्दार र कुशल नेता मात्र भएर पुग्दैन। यहाँ आफ्नो क्षेत्रमा दख्खल राख्ने अब्बल, अनुभवी र कुशल नेताको पनि आवश्यक छ। यो पटकको चुनाव अन्य चुनाव भन्दा फरक रह्यो। किनभने यो चुनावी मैदानबाट पुराना दल कतिपय हराए भने नयाँ दलको उदय भएको छ। पूर्वपत्रकार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी), सिके राउतको जनमत पार्टी (हर्न) र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (ढकिया) को उदय भएको छ ।
प्रकाशित: १४ मंसिर २०७९ ००:२८ बुधबार