नागरिक खोज

जसका कर्तुतले सबैलाई छक्क पार्‍यो

काठमाडौं–  ‘मसँग अब केही बाँकी छैन। जेलमा बस्नेबाहेक अर्को विकल्प नै छैन।’ अचेल प्रहरीसँग यस्तै भन्ने गर्छन् उनी। पछिल्लो समय प्रहरी हिरासतमा रहेका उनीसँग अहिले पछुतोशिवाय केही छैन। हुन त बुवाले दिएको एक सयका पाँच वटा नोट बोकेर ३०को दशकमा काठमाडौं छिरेका गोपाल शिवाकोटी ‘चिन्तन’ले जीवनको यो प्रहरमा आइपुगेर हिरासतको चिसो छिँडीमा दिन काट्नुपर्ला भनेर सम्भवत सोचेका थिएनन्। तर आफ्नै कर्मले उनलाई खोरमा दिन काट्न बाध्य बनाएको छ।

साथीभाइ र आफन्तसँग पैसा उठाएर गुमनाम भएका चिन्तनलाई प्रहरीले यही माघ २९ गते ठगी आरोपमा पक्राउ गरेको हो। एकाबिहानै काठमाडौंको चोभारमा उनी पक्राउ परेको खबरले सबैलाई अचम्भित पारेको थियो। ‘प्रहरीले बिहानै पक्राउ गरेको थाहा पाएपछि अचम्म लाग्यो’, काठमाडौं चोभारवासी रमेश महर्जनले सुनाए, ‘धेरै कुरा त थाहा भएन, छक्कै पर्यों।’

उनी पक्राउ परेको खबर सुनेपछि चोभारवासी छक्क नपर्ने कुरै थिएन। लामो समयदेखि डेरामा बसेकाले चिन्तन त्यस क्षेत्रमा परिचित थिए। चोभार क्षेत्रको जग्गा कारोबार र प्लटिङको कामले पनि उनलाई चिनाएको थियो। अझ आफूँले बाँडेका सपनाले झन् परिचित थिए उनी। कहिले कलेज खोलेर त कहिले पूर्वगोर्खा सैनिकको गोर्खा भिलेज बनाउने सपना बाँडेर लोकप्रियताको राम्रै खेती गरेका थिए उनले।

२०४६ सालमा नेपालमा जनआन्दोलन चल्दै गर्दा अमेरिकाको राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने थोरै नेपालीमध्ये उनी पनि एक थिए। त्यतिबेला उनले नेपाल सरकारलाई अमेरिकी

 

चिन्तनको पक्राउले अचम्म पार्नुको अर्को कारण थियो उनलाई लागेको आरोप। करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् उनी। अझ अचम्भित पार्ने त उनीबाट ठगिनेहरूको सूची नै छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश, वरिष्ठ कानुन व्यवसायी र प्रहरीका उच्चपदस्थ अधिकारीलाई ठगेको आरोप छ उनीविरुद्ध।

० ठगीको कथा

गोपाल शिवाकोटी ‘चिन्तन’लाई लागेको आरोप हो – कलेज स्थापना गर्ने नाममा करोडौंको ठगी। उनी र बद्रीकुमार थापाले चोभारमा कानुन अध्यापन गर्ने क्याम्पस ‘श्री एजुकेसन एकेडेमी प्रालि’ स्थापना गर्ने सपना देखाएर पैसा उठाएका थिए। नुवाकोटका थापा नाम मात्रका हार्डवेयर व्यापारी हुन् । उनले टोखामा रहेको आफ्नो पसल देखाएर प्लटिङको धन्दा गर्थे । 

पैसा उठाउन प्रयोग गरिएको रसिद

उनीहरूविरुद्ध लागेको आरोप अनुसार यी दुईले भविष्यमा कानुन विश्वविद्यालय नै बनाउने गरी कानुन क्याम्पस खोल्ने योजना बनाएर विभिन्न व्यक्तिबाट रकम जम्मा गरेका थिए। त्यसरी पैसा उठाउन उनीहरूले कानुन क्षेत्रका हाई प्रोफाइल अधिवक्ता र पूर्वन्यायाधीशको नाम प्रयोग गरेका थिए। कलेज चलाउने चिन्तनको हुटहुटी देखेर र उनले लिएका नाम सुनेकै आधारमा धेरैले पैसा दिएका थिए। कलेजमा ७९ जनाको संलग्नता रहेको कागज चिन्तनले विभिन्न व्यक्तिलाई दिएका थिए। चिन्तनले र थापाले यी स्थापित व्यक्तिको नाम मात्र लिएका थिएनन्, उनीहरूलाई डाकेर बैठकसमेत बसालेका थिए।

‘हाम्रो नाम बेचेर अरूलाई ठगेछ’, वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल भन्छन्, ‘कलेजमा लगानी गर्नुपर्‍यो दाइ भन्दै आएको थियो। मैले यो उमेरमा लगानी गरेर के गर्ने भने। पैसा छैन भनेर पठाएँ। उहाँले पनि लगानी गर्नुभएको छ भन्दै अरूसँग पैसा उठाएछ।’

यी दुईबाट ठगिनेमा कानुन क्षेत्रमा स्वच्छ छवि बनाएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी पनि छन्। उनले कलेजमा लगानी गर्न भनी चिन्तनलाई पाँच लाख रुपैयाँ दिएका थिए। भन्डारीसँग पैसा लिँदा चिन्तनले मञ्जुश्री कलेज नामको नगदी रसिद पनि दिएका छन्। ‘यो उमेरमा साथीभाइले ठगे भनेर के भन्दै हिँड्नु ?’, भण्डारी दुःखेसो पोख्छन्।

उनीहरूले स्थापना गर्ने भनेको कलेजका अध्यक्ष सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझा हुन्। ओझा पनि चिन्तनले आफ्नो नाम बेचेर अरूलाई ठगेको बताउँछन्। भन्छन्, ‘हाम्रो नाम देखाएर अरूसँग पैसा लिएछन्।’

क्याम्पसको अध्यक्ष भए पनि कलेजको खाता ओझाको नाममा छैन। चिन्तनले आफ्नोसहित पंचलाल महर्जन र प्रीति रमणको नाममा कलेजको खाता खोलेका छन्। खाता खोलिए पनि कलेजको नाममा भने कारोबार भएको छैन।

त्यसैले प्रहरीले अनुसन्धानका लागि मञ्जुश्री कलेजलाई पत्र लेखेको छ। पत्रमा कलेजको आधिकारिक कारोबार गर्ने जिम्मेवारी कसले पाएको थियो भन्ने खुलाउन भनिएको छ।

१ पुस २०७५ मा कलेजको तर्फबाट अधिवक्ता सुरेन्द्रप्रसाद कोइरालाले दिएको जाहेरीमा भने चिन्तनले एक करोड चार लाख ३० हजार ठगेको जनाइएको छ। प्रहरीसँगको बयानमा चिन्तनले त्यो पैसाबाट १० लाखको जग्गा खरिद गरेको र तीन लाख कलेज सञ्चालनका लागि घर भाडामा खर्च भएको बताएका छन्। ठगिएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेका अधिवक्ता कोइरालाले यसअघि नै चिन्तनले चिनाएका बद्रीकुमार थापाले चेक अनादर गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए। कोइरालाका अलावा रामकुमारी प्रसाईले चिन्तनका विरुद्ध ६४ लाख ठगीको अर्को उजुरी दिएकि छन्। उनी नाताले चिन्तनकि फुपुकि छोरी हुन्।

थापा चिन्तनको मुख्य सहयोगी बनेर काम गरेको देखिन्छ। चिन्तनले कलेज सञ्चालकको रूपमा सबैसँग परिचय गराएका थापालाई पैसा लिन पठाउँथे। कलेजको खातामा भन्दा नगदमै पैसा लिन विभिन्न बहाना बनाउँथे। ‘कलेजका लागि जग्गा पाइयो आजै बैना गर्नु पर्छ भन्थे,’ अधिवक्ता कोइरालाले भने, ‘पैसा नदिँदासम्म धर्ना नै बस्थे। पैसा भएन भने कलेज नै डुब्छ भन्ने जस्तो पार्थे। हामीले पनि कलेज चलाउन यसरी लागेका छन् भन्ने सोचेर नगद नै दिँदै गयौं।’

कोइरालाले आफूले मात्र कलेजमा लगानी गरेनन्, आफ्ना साथीलाई पनि लगानीका लागि आग्रह गरेका थिए। ‘तपाईंले भनेपछि भै’हाल्यो भन्दै मलाई पैसा दिए’, उनी भन्छन्, ‘मैले सबैको पैसा जम्मा गरेर चिन्तनलाई दिँदै गए। कलेज नचल्ने भएपछि मैले जग्गा बेचेर साथीहरूको पैसा तिरें। केही पैसा अझै तिर्न बाँकी छ।’ चिन्तनको विश्वासमा कोइरालाले मात्रै कलेज सञ्चालनका लागि ४५ लाख दिएका थिए। त्यसमध्ये ३५ लाख अरूकै पैसा थियो।

चिन्तनले ठूला व्यापारीको रूपमा चिनाएका बद्रीले पनि कोइरालासँग पैसा लिएका थिए। घरजग्गाको कारोबारका लागि लिएको पैसा उनले फिर्ता गर्ने छाँट देखाएनन्। चेक दिएर सम्पर्कविहीन बने। बद्रीले दिएका चेक नसाटिएपछि कोइरालालाई बल्ल आफू ठगिएको शंका भयो। यो बीचमा कलेज सञ्चालनको प्रसंग त परै जाओस् चिन्तनको समेत फोन सम्पर्क हुन छोडिसकेको थियो।

० माटोमै मिल्यो छवि

ठगी आरोपमा पक्राउ पर्नेमध्ये फरक पृष्ठभूमिका हुन् गोपाल शिवाकोटी ‘चिन्तन’। मानव अधिकार र कानुनसम्बन्धी धेरै पुस्तकमा लेखकको रूपमा उनको नाम अंकित छ। यसबाहेक विभिन्न आन्दोलनमा पनि उनको नाम जोडिन्छ। मानवअधिकार र कानुनको क्षेत्रमा एउटा नाम बनाइसकेका थिए उनले। यो छवि निर्माण एकै दिनमा भएको थिएन। लामो यात्रा हिँडेका थिए उनले।

एसएलसी उत्तीर्ण गरेपछि २०३५ सालमा काठमाडौं आइपुगेका थिए उनी। ‘गोर्खा आन्दोलन उपलब्धि र चुनौती’मा लेखेअनुसार काठमाडौं आउदा उनीसँग एक सय दरका पाँच वटा नोट मात्र थिए। काठमाडौं आएपछि नेपाल ल क्याम्पसमा कानुन पढ्न थाले उनी। ल क्याम्पसले राजनीति पनि सिकायो। विद्यार्थी राजनीतिमा सक्रिय हुन थाले उनी।

मञ्जुश्री कलेजलाई प्रहरीले लेखेको चिठ्ठी

पञ्चायतको विपक्षमा लागेर उनी तत्कालीन नेकपा मालेनिकट भए। मालेसम्बद्ध अनेरास्ववियुको केन्द्रीय संयोजक थिए गौरी प्रधान। चिन्तन भने जिल्ला कमिटी सदस्य थिए। २०३९ सालमा मालेमा आएको विवादसँगै त्यो कमिटी भंग भयो। पार्टी लाइनविपरीत काम गरेको कारण केन्द्रीय संयोजक प्रधानले चिन्तनलाई कारवाही गरे।

अखिलबाट निकालिएपछि ठाकुरचन्द्र श्रेष्ठ, कोमल भट्टराई र मातृका तिमिल्सिनाको सहयोगमा चिन्तनले बहुउद्देश्यीय पत्रपत्रिका केन्द्र र पैरवी प्रकाशन स्थापना गरे। ‘बहस पैरवी’ नामक पत्रिका निकालेर पञ्चायतको विरोधमा आवाज उठाए। त्यतिबेला राजबन्दी रिहाइका लागि गरेको कामले उनलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनायो।

विद्यार्थी राजनीतिबाट निकालिएपछि उनले थालेको मानवअधिकार पैरवीको यात्रालाई डा. केदार बराल, दामोदर उपाध्याय, डा. अर्जुन कार्की, तीर्थ कोइरालाजस्ता प्रतिष्ठित व्यक्तिहरूले मलजल गरेका थिए। उनीहरूसँग मिलेर चिन्तन एम्नेस्टी इन्टरनेसनलको पुनर्गठनमा सक्रिय भए। त्यतिबेला नेपालमा मृत अवस्थामा रहेको एम्नेस्टी इन्टरनेसनललाई उनीहरूले नयाँ जीवन दिए।

एम्नेस्टीको पुनर्गठनपछि चिन्तनले २०४३ सालमा मानवअधिकार सूचना तथा सामग्री केन्द्र(हुरिड्स) स्थापना गरे। आफ्नै नाममा गैरसरकारी संथा हुँदाहुँदै उनी ठूलो छाताको ओत लाग्न पुगे। ऋषिकेश शाहले उनलाई नेपाल मानवअधिकार संगठनमा आबद्ध गराए। चिन्तन आबद्ध भएको समितिमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि थिए। यो आबद्धताले उनलाई अमेरिका जाने राम्रो अवसर जुटाइदियो। मानवअधिकार कर्मको आडमा नै उनले अमेरिकाको वासिङ्गटन युनिभर्सिटी, स्कुल अफ लमा एलएलएमका लागि छात्रवृत्ति पाए। २०४६ सालमा नेपालमा जनआन्दोलन चल्दै गर्दा अमेरिकाको राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने थोरै नेपालीमध्ये चिन्तन पनि एक थिए। त्यतिबेला उनले नेपाल सरकारलाई अमेरिकी सरकारले गर्दै आएको सहयोग बन्द गर्न आग्रह गर्दै चर्को भाषण गर्थे । अमेरिकामा त्यसरी आन्दोलन गरेकै कारण उनले अर्को वर्ष (सन् १९९० डिसेम्बर १०) का दिन अमेरिकाको ‘एन्युअल स्टेट डिपार्टमेन्ट सिम्पोजियम अन ह्युमन राइट्स’मा नेपालको तर्फबाट सम्बोधन गर्ने अवसर पनि पाए। त्यहाँ उनले नेपालको आन्दोलनलाई समर्थन गर्ने अमेरिकी जनता र सरकारलाई धन्यवाद दिएका थिए।  उनको सम्वोधन हेर्न यहाँ क्लीक गर्नुहोस् : (२६ मिनेटदेखि उनको सम्वोधन हेर्न सकिन्छ।)

यसरी काठमाडौं आएको १० वर्षमा नै चिन्तन अन्तर्राष्ट्रियस्तरको व्यक्तित्व भइसकेका थिए। उनलाई काम र दामको कुनै कमी थिएन। नेपालमा अन्तर्राष्ट्रिय कानुन बुझेका थोरै मध्यमा चिन्तनको नाम पनि पर्दथ्यो। यति धेरै अवसरबीच चिन्तनले आफूलाई नियन्त्रण गर्न सकेनन्। एक पटक भेट भएको व्यक्तिलाई तर्कले आफ्नो पक्षमा उभ्याउन सक्ने क्षमता थियो उनमा। त्यही खुबी र आफ्नो व्यक्तित्वलाई ठगी कार्यमा प्रयोग गरे उनले।

‘त्रिभुवन विश्वविद्यालको सहप्रध्यापक र अन्तर्राष्ट्रियस्तरको व्यक्तित्व भएको मानिसले ठग्ला भनेर कसरी सोच्ने?’, अधिवक्ता कोइराला भन्छन्, ‘हामी त उहाँको अभियानमा जोडिन पाएकोमा मक्ख भएर पैसा दिन थाल्यौं। कानुन विश्वविद्यालय बनाउने सोच सुन्दै पैसा हाल्न मन लाग्यो।’

पछिल्लो पटक उनको भरपर्दो साथी बन्नआए बद्रीकुमार थापा। थापालाई चिनाएपछि धेरै व्यक्तिले चिन्तनको नाममा उनलाई पैसा दिए। थापाले कलेजका लागि मात्र होइन व्यक्तिगत कामका लागि समेत पैसा उठाउन थाले।

उनले दिएका चेक नसाटिएपछि कोइरालाले बद्रीविरुद्ध चेक अनादरको मुद्दा दर्ता गरे। घटस्थापनाको अघिल्लो दिन पाटन उच्च अदालतबाट धरौटीमा बद्री छुटे। उनले काठमाडौंमा भएका कामै नालग्ने भीर धरौटीमा राखेर छुटेको अधिवक्ता कोइरालाको दाबी छ। यो बीचमा चिन्तन कसैसँग सम्पर्कमा थिएनन्। आपूmले अध्यापन गर्दै आएको पृथ्वीनारायण क्याम्पसमा पनि हाजिर गर्न गएनन्। काठमाडौंमा धेरैसँग पैसा लिएपछि उनी पोखराको पृथ्वीनारायाण क्याम्पसमा सरुवा भएका थिए।

तारिखमा रहेका बद्रीलाई प्रहरीले तारिख बुझ्न आउँदा २८ माघमा पक्रेको थियो। प्रहरीले उनलाई एक महिनादेखि खोज्दै थियो। मास्क लगाएर अन्तिम समयमा तारेखमा हस्ताक्षरका लागि उनी उच्च अदालत पाटन पुगेका थिए। उनकै सूचनाका आधारमा चिन्तनलाई प्रहरीले चोभारको कोठामा सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो।

 ठगी गरेपछि रकम जोगाउन र आरोपबाट पन्छिन चिन्तनले चलाखी अपनाएका छन्। पैसा उठाएपछि श्रीमती कमला सिटौलाको नाममा सम्पत्ति किने उनले। अहिले श्रीमतीसँग छोडपत्र गरेको कागज पेस गरेका छन्। थापाले पनि श्रीमतसँग छोडपत्र गरेको कागज पेस गरेका छन् । सबै सम्पति श्रीमतीका नाममा राखेर छोडपत्र गरेका कारण अहिले उनीहरू आफूसँग केही नभएको बयान प्रहरीमा दिँदै आएका छन्।

पोखरामा पनि उनले इगल माउन्ट नामको होटल चलाएका थिए। होटल सञ्चालनका लागि घर भाडामा दिएका स्थानीय टेकनाथ बराल अहिले त्यो होटल अरूले चलाउने गरेको बताए । बराल भन्छन्, ‘साथीहरूसँग पार्टनरमा थियो। चिन्तनले मलाई भाडा दिएर होटल छाड्नुभयो।

  ० चर्चादेखि विवादसम्म

अहिले ठगीको अभियोगमा प्रहरी खोरमा रहेका चिन्तन कुनै बेला अनेकौं मान्छेका आँखाका तारा थिए। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उनको फरक खालको छवि थियो। आधा समय नेपालमा र आधा समय विदेशमा बिताउने चिन्तनलाई कामको खाँचो थिएन। आफ्नो दुई दर्जन गैरसरकारी संथाको कामले मात्र नपुगेर नेपाल ल क्याम्पसको नाममा समेत उनले परियोजना ल्याउँथे।

सन् २००५ मा भने उनी विवादमा तानिए। त्यो वर्ष पानीबारे क्षेत्रीय सम्मेलन गर्न चिन्तनको गैरसरकारी संस्था जल तथा ऊर्जा उपभोक्ता महासंघले पैसा लिएको थियो। चिन्तनले भारतको अरुणाञ्चलमा त्यो कार्यक्रम आयोजना गरेको थियो। यो परियोजनाको समय नसकिँदै चिन्तनविरुद्ध उजुरी पर्‍यो। यसको छानबिन आयूसीएनले गर्‍यो। छानबिनले परियोजनाको पैसा सही तरिकाले खर्च नभएको निष्कर्ष निकाल्यो। यसपछि चिन्तनका धेरै गैरसरकारी संस्थाले कामै पाउन छाडे।  यसरी सुरु भएको उनको विवादास्पद यात्रा अरुण तेस्रोको प्रसंगमा झनै चुलियो।

 

 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App