नागरिक खोज

कार्यकारी निर्देशक खड्कालाई हटाउने मन्त्रिपरिषदको तयारी

काठमाडौं- करिब डेढ अर्ब रुपैयाँ घोटाला आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रिपरिषदको बैठकबाट हटाउने प्रक्रिया सुरु भएको छ। आगामि क्याविनेट बैठकमा प्रस्ताब लगेर खड्कालाई कारबाही गर्ने तयारी आपूर्ति मन्त्री शिबकुमार मण्डलले गरेका छन्।

निगम सञ्चालक समितिका अध्यक्ष रहेका आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले तयार गरेको प्रतिवेदनमा इन्धन भण्डारणको लागि जग्गा खरिदमा कैफियत भएको ठहरसहित कारबाहीको लागि सिफारिस गरेपछि आपूर्ति मन्त्री मण्डल कारबाही गर्ने निष्कर्षमा पुगेका हुन् । ‘मन्त्रालयले तयार गरेको प्रतिवेदन सचिवले प्रधानमन्त्री कार्यालयमा बुझाउनु भएको छ,’ मण्डलले भने, ‘क्याविनेट बसेपछि ठोस रुपमा निर्णय आउँछ । ’ मन्त्री मण्डलले घुमाउरो पाराले अब बस्ने क्याविनेट बैठकबाट हटाउने संकेत गरेका हुन्।

उनले निगम नेतृतवलाई कारबाहीको दायरामा ल्याउन तत्कालिन आपूर्ति सचिव प्रेम कुमार राईले असहयोग गरेको बताए। ‘सविचलाई परिवर्तन गरेको रियल हो,’ मण्डलले भने, ‘लुकाउनु पर्ने छैन ।’ ‘दोषी सबैलाई कारबाही हुन्छ,’ उनले भने, ‘निदोर्षलाई दुख दिँदैनौं ।’ ‘एक रुपैयाँ चोरे पनि चोर हो दुई सय रुपैयाँ चोरे पनि चोरै हो,’ उनले भने ।

खड्काले चितवन, भैरहवा, झापा, सर्लाहीमा जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो । सोमबारको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चार गुणा महंगो मूल्य तिरेर अनियमितता गरेको प्रतिवेदन पारित गरिसेकेको छ । सो समितिको प्रतिवेदनलाई आधारमान्दा खड्काले विचौलियासँगको मिलेमतोमा प्रचलित ऐन कानुन मिचेर जग्गाधनीले पाएको मूल्य भन्दा करिब एक अर्ब ६७ करोड रुपैयाँ बढि तिरेर निगमलाई चर्को व्ययभार पारेको उल्लेख छ।

 

प्रकाशित: २७ भाद्र २०७४ १३:०२ मंगलबार

#अायलनिगम #जग्गाखरिद #घोटाला #गोपालखड्का #कारबाही