नागरिक खोज

यसरी खान खोजियो नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा

निजी व्यापारिक कम्पनी इमु प्रोपटिज प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट नेपाल संगीत तथा नाट्य प्रतिष्ठान प्रमुखका नाममा पठाइएको निवेदन।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला परेका छन्।

इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो। प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’ गरिएको छ।

प्रतिष्ठानमा उक्त पत्र प्राप्त भएदेखि यसका सदस्यसचिव कुश्मा महरालगायतले निरन्तर कुलपति निशा शर्मा पोखरेललाई जग्गा इमु प्रोपटिज प्रालिलाई उपलब्ध गराउन दबाब दिँदै आएका छन्। त्यति मात्र होइन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत ‘यतिका जग्गा प्राइम लोकेसन’मा रहेको भन्दै व्यावसायिक प्रयोजनमा लगाउनुपर्ने धारणा प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमकै बेला स्वयं कुलपति शर्मालगायतका अगाडि राखेका थिए।

यहाँसम्म कि कुलपति शर्मा पोखरेलले आफूलाई १० प्रतिशत कमिसन दिने प्रलोभनमा उक्त जग्गा निजी कम्पनीलाई दिन दबाब दिइएको जानकारीसमेत मन्त्री किरातीलाई गराएकी थिइन्। नागरिकमा यससम्बन्धी समाचार प्रकाशित भएपछि खण्डन गर्ने होडबाजी मन्त्री राईदेखि प्रतिष्ठान पदाधिकारीसम्ममा चलेको छ।

मन्त्री किरातीका प्रेस संयोजक राजन राईले खण्डन प्रकाशित गरिदन आग्रह गर्दै मंगलबार नागरिकलाई पठाएको पत्रमा उल्टै प्रश्न गरेका छन्, ‘समाचारमा निजी क्षेत्रलाई ठेक्का दिने अन्तिम तयारी भएको भनिएकोमा त्यस्तो निजी क्षेत्र के, कुन हो? के, कुन प्रक्रियाबाट ठेक्का दिन अन्तिम तयारी भएको भन्ने कुनै तथ्य प्रमाणबिना पर्यटनमन्त्री सुदन किराती र मन्त्रालयका पदाधिकारीहरूविरुद्ध समाचार सिर्जना गरिनुले प्रेस स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रमाथि नै प्रहार भएको छ।’

मन्त्रीका प्रेस संयोजक राईको तर्फबाट आएको उक्त प्रश्नको जवाफ इमु प्रोपटीजकै निवेदनले प्रष्ट पारेको छ। निवेदनमा लेखिएको छ, ‘त्यस प्रतिष्ठानको सानो गौचरणस्थित जग्गामा बहुउद्देश्यीय सुविधासम्पन्न व्यापारिक पूर्वाधार निर्माण कम्पनीको आफ्नै लागतमा निर्माण गरी उक्त पूर्वाधारमा सर्वसाधारणको सुविधाका लागि विविध सेवामूलक संस्थालाई बहालमा उपलब्ध गराउने लक्ष्य रहेको छ।

उक्त बहुद्देश्यीय (मल्टीपर्पोज कमर्सियल कम्प्लेक्स) मा त्यस प्रतिष्ठानका लागि एक संगीत एवं नाट्यशाला हल उपलब्ध गराई उक्त पूर्वाधारको निर्माणपश्चात् ३० (तीस) वर्षसम्म भोगचलन गरी त्यसपश्चात् आवश्यकता अनुसार सहमतिमा पूर्वाधार पुनः बहालमा लिने/दिने वा प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गर्नेछौं।’

मन्त्रीका प्रेस संयोजक राईको तर्फबाट आएको उक्त प्रश्नको जवाफ इमु प्रोपटीजकै निवेदनले प्रष्ट पारेको छ।

यस्तो विषयमा समाचार छापिएपछि मन्त्री र सम्बन्धित पदाधिकारीले आफू मातहतका निकायमा खोजी गर्ने कि? प्रेसलाई उल्टै सही समाचार छाप्दासमेत झूट भन्दै विज्ञप्ति निकाल्ने? मन्त्री किरातीलाई प्रतिष्ठानका तर्फबाट प्रष्टसँग यस्तो विषयमा जानकारी नगराएको हो भने त्यो खोजीको विषय हुनुपर्छ। तर प्रतिष्ठानकै पदाधिकारीहरूबीच यसलाई लिएर निरन्तर बाझाबाझ भएको सुन्नेहरू त्यहीभित्र धेरै छन्।

प्रतिष्ठानकै कुलपति शर्मा पोखरेलले समेत उक्त समाचारबारे आफ्नो अनविज्ञता प्रकट गर्दै फेसबुकमा लेखेकी छन्। तैपनि उनले लेखेको एउटा पंक्ति भने विचारणीय छ, ‘नभएको, नबोलेको कुरा जनमानसलाई अन्योल सिर्जना गरी जग्गा हडप्ने गिरोहको पनि भत्र्सना गर्दछु।’

मन्त्री किरातीका प्रेस संयोजक राईले पठाएको खण्डनमा लेखिएको छ, ‘संगीत तथा नाट्य प्रतिष्ठानको स्वामित्वमा रहेको १५ रोपनी जग्गा हडप्ने तयारी भई मन्त्री सुदन किराती र प्रतिष्ठानकै कर्मचारीले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको भन्ने कुरा निराधार हो।’

निजी व्यापारिक कम्पनी इमु प्रोपटिज प्रालिले नेपाल संगीत तथा नाट्य प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो। प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’ गरिएको छ।

सार्वजनिक जग्गा निजी कम्पनीहरूका नाममा विभिन्न हथकन्डा प्रयोग गरी लगिएका उदाहरण धेरै छन्। नाट्य प्रतिष्ठानका नाममा आएको जग्गा पनि यसै गरी उम्काउन योजनाबद्ध तयारी भएको देखिन्छ। जग्गा दिने प्रक्रिया सुरु भइसकेपछि आएको समाचारको समेत खण्डन गर्न खोजेर सत्यलाई छोप्न खोजिएको छ।

इमु प्रोपटिज प्रालिको निवेदनमा प्रष्ट लेखिएको छ, ‘विविध सुविधासम्पन्न बहुद्देश्यीय व्यापारिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने उद्देश्य रहेको यस इमु प्रोपटिज प्रालि कम्पनीलाई त्यस प्रतिष्ठानको स्वामित्वमा रहेको निश्चित क्षेत्रफलको जग्गा उपलब्ध गराउन अनुरोध गर्दछु।’

प्रतिष्ठानकी सदस्य-सचिव कुश्मा महराले समेत समाचारको खण्डन सम्बन्धमा भन्दै नागरिकलाई पठाएको पत्रमा लेखेकी छिन्, ‘मन्त्री सुदन किरातीज्यू र प्रज्ञा प्रतिष्ठानका पदाधिकारीज्यूहरूको मानमर्दन र प्रतिष्ठानमा आँच आउने गरी समाचारमा उल्लेख गरिएका कुराहरू भ्रामक, कपोलकल्पित र झूटा भएको व्यहोरा अवगत गराउँछौं।’

प्रकाशित: २० असार २०८० ००:४७ बुधबार

नेपाल संगीत तथा नाट्य प्रतिष्ठान नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा इमु प्रोपटिज प्रालि