मुख्य समाचार

अब आउँदैनन् उनी

भोजपुर- बुधबार दिनभर समाचार प्रवाह भइरह्यो– पोखराबाट जोससोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भयो, सम्पर्कविहीन जहाज दुर्घटनामा पर्योह, चालक दलसहित जहाजमा रहेका सबैको मृत्यु भयो। दुर्घटनाको खबर थाहा नपाउने र मृत्युको पीडाले नछुने सायदै मानिस होलान्।म्याग्दी सोनी २ सोलीघोप्टेभीरमा भएको जहाज दुर्घटनाले पूर्वीपहाडको भोजपुर जिल्लालाई पूरै छोयो, जसमा जहाज चालक रोशन मानन्धरको नाम जोडिएर आयो।

भोजपुरका लागि मानन्धर तिनै चालक हुन्, जसले पहिलोपटक तारा एयरको जहाज भोजपुर विमानस्थल ल्यान्ड गराएका थिए– २०६९ साउन १५ मा। त्यसयता उनले पटक–पटक भोजपुरेलाई ओहोरदोहोर गराए तारा एयरको जहाजमा काठमाडौं–भोजपुर, भोजपुर–काठमाडौं। भोजपुरमा प्रत्येक साताको एकदिन तारा एयरले उडान भर्छ। जिल्लामा पहिलोपटक निजी क्षेत्रको जहाज अवतरण गराउने चालक दुर्घटनामा परेको खबरले जिल्लावासीलाई सुरुमा त पत्याउन मुस्किल पर्यो । त्यतिबेला प्रभाकर घिमिरेलाई को–पाइलटको रूपमा मानन्धरले लिएर आएका थिए। त्यतिबेला यहाँ जहाज लिएर आउन अन्य पाइलटले आनाकानी गरेपछि आफैं आएको त्यतिबेला उनले नागरिकलाई बताएका थिए। त्यतिबेला भोजपुर विमानस्थल घाँसेमैदानजस्तै थियो भने भोजपुर तारा एयरका लागि नयाँ गन्तव्य।

'दुर्घटनाको खबर पाएलगत्तै पत्याउन मुस्किल भयो,' तारा एयरको भोजपुर स्टेसन हेर्दे आएकी सीता राईले बिहीबार नागरिकसँग भनिन्, 'जे नहुनु थियो, त्यही भयो। उहाँ (मानन्धर) सर साह्रै मिजासिलो हुनुहुन्थ्यो, सधैं केही पर्योि भने भन्नु भनेर हौसला दिनुहुन्थ्यो।' यसो भनिरहँदा उनका आँखा रसाए।

भोजपुर उडानका बेला यहाँ चियानास्ता खाएर जाने क्याप्टेन मानन्धर फेरी कतै आउँछन् कि भनेर विमानस्थलनजिकै होटेल सञ्चालन गर्दै आएकी शारदा श्रेष्ठका आँखा बिहीबार विमानस्थलतिरै थिए। जहाज त सदाझैं आयो, तर क्याप्टेन मानन्धर आएनन्। जहाजलाई क्याप्टेन ईश्वराज जोशीले उडाएर ल्याएका थिए। विमानस्थलमा क्याप्टेन मानन्धरलाई चिया–खाजा दिन जाँदा आफूलाई 'दिदी के छ' भनेर सोध्ने गरेको उनी सुनाउछिन्। 'उहाँ (मानन्धर) चिनीबिनाको चिया पिउनुहुन्थ्यो,' उनले भनिन्।

सुरुका दिनमा साताको सोमबार उडान हुने भोजपुरमा आजभोलि तारा एयरको बिहीबार उडान हुन्छ। तारा एयरको जहाजमा काठमाडौं जान लागेका भोजपुरे विमानस्थलमा मलिन थिए। काठमाडांैबाट भोजपुरका लागि यात्रु लिएर आएका क्याप्टेन श्रेष्ठको अनुहारमा पनि सहकर्मी गुमाउनुको पीडा प्रष्ट देखिन्थ्यो। ०६९ साउन १५ गते सोमबार जहाज र क्याप्टेन मानन्धरको स्वागतमा भोजपुर विमानस्थलमा पञ्चेबाजाको घन्किएको थियो तर बिहीबार भने उनकै स्मृतिमा सबैका आँखा रसाए।

प्रकाशित: १३ फाल्गुन २०७२ २१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App