राजमार्गको बायाँ लाग्दै पाँच किलोमिटर कच्ची र धुलौटे बाटोमा संघर्ष गर्दै फुल्पिङ गाविस– ५ पुगेको राहत टोलीलाई स्वागत गर्न विञ्ज्याल प्राथमिक विद्यालय छेवैमा बसेकी ३३ वर्षीया देवकी पौडेलको अनुहारमा कुनै प्रकारको पीडा थिएन। उनले हाँस्दै भनिन्, ‘हाम्रो त घरबार सकिइहाल्यो, यस्तै छ स्थिति हेर्नुस्, सहयोग ल्याउनुभएकोमा धन्यवाद।'
उद्धार सामग्री बोकेको ट्रक आइपुग्न केही समय लाग्ने देख्दै एभेन्युज टेलिभिजनका पत्रकार र त्यस गाविसका स्थानीयबासी अच्युत पौडेलले बाटोबाट अलि तल पर्ने आफ्नो बस्ती घुम्ने प्रस्ताव गरे। करिब २० मिटर तल सम्म परेको ठाउँमा कुनैबेला चिटिक्क परेर बनेको सानो बस्ती अहिले खण्डहरमा परिणत भएको छ। तर सधैं प्रकृतिसँग जुधेर बाँचेका यी परिवारले फेरि आफ्नो जोहो गर्न थालिसकेका छन्।
अच्युतका बुबाले केही वर्षअघि केही पुस्ताका लागि ढुक्क हुने गरी बनाएको तीनतले घर बस्न नहुने गरी भत्किएको छ। सँगैको बारीमा भत्केको घरका जस्ता र काठले बनाएको छाप्रोमा बा, आमा र बहिनीसहित उनीहरू बसेका छन्। बूढा बाबु, आमा र बहिनी यस्तो अवस्थामा पनि अतिथि सत्कार गर्न अलिकति पनि कञ्जुस्याइँ गर्दैनन्।
‘हाम्रो नयाँ घरमा तपाईंहरूलाई स्वागत छ है,' पौडेलकी आमा हाँस्दै स्वागत गर्छिन् र छाप्रोको छेउमा रहेको सानो बेन्चमा अतिथिलाई बस्न ठाउँ छाड्दै आफू अन्त सर्छिन्। करिब १६ वर्षकी एक युवती छेउमै राखेको ग्यास स्टोभमा चिया पकाउने सुरसार गर्छिन् तर अतिथिले रोक्छन्। त्यस्तो अवस्थामा पनि कस्तो अतिथि सत्कार!
सिन्धुपाल्चोक भूकम्पले सबैभन्दा बढी पीडित जिल्ला हो तर यहाँका बासिन्दा उक्त पीडा आफ्नो व्यवहारमा र बोलीमा झल्किन दिन्नन्। सिन्धुपाल्चोक मात्र होइन, काभ्रेका बासिन्दा पनि करिब उस्तै पीडित छन् र पीडा ग्रहण गर्ने तरिका पनि करिब उस्तै छ।
भक्तपुरमा राहत सामाग्री लिएपछि खुसी हुँदै स्थानीय। तस्बिर : दिपेश श्रेष्ठ
भूकम्प आएको पाँचौं दिन काभ्रे रयाले गाविसमा एक ट्रक खाद्यान्न गइरहेको थियो। रयाले गाविसका सचिव शम्भुप्रसाद अधिकारी कुशादेवीमै भेटिए। त्यहाँका युवाको सक्रियतामा उनको गाविसमा पहिलोपल्ट बाहिरी सहयोग जाँदै थियो। उनको मन भने रयालेभन्दा पूर्व कलाँते भूमिडाँडाका अतिविपन्न तामाङ समुदायमा थियो।
‘हजुर, रयालेमा ल्याएको सहयोगका लागि धन्यवाद तर कलाँतेमा धेरै परिवारको बिजोग छ। तिनको दुःख देख्न नसकेर आज दिनभर भोकै पेट सहयोगको खोजीमा भौंतारिरहेको छु,' यति भनिसक्दा उनको आँखामा आँसु थियो, मानवताको आँसु, सहृदयताको आँसु। भोलिपल्ट कलाँतेमा पुगेको खाद्यान्नबाट उनले आफ्नो भाग लिन मानेनन्। आफ्नो घर, गोठ सबै भत्केको भए पनि राहतको सामान गाउँलेलाई मात्र दिन उनी उद्यत थिए। कस्तो उदारमन!
उदारमन उनको मात्र होइन, रयालेका निमा लामाको पनि उस्तै रहेछ।
रयाले गाविस भवनमा बाँडिएको चामल, दाल, नुन र तेल करिब तीन किलोमिटर परको सोही गाविसको अर्को बस्तीमा पुग्ने अवस्था थिएन। उनले वितरण कार्य निरीक्षण गरे र भने, ‘सर, यताभन्दा उताका झन् दुःखी छन्, भोलि ल्याउनु है।' कत्रो विरोध गर्लान्, वितरण गर्न नदेलान्, झगडा गर्लान् भनेका लामा त कति सहृदयी, कति धैर्यवान!
उता, साँखुका लकस श्रेष्ठ पनि फरक थिएनन्। पहिले त आएको सहयोग शंखपुर नगरपालिकामा राख्ने कि इन्द्रायणीमा भन्ने विषयमा विवादै गरे उनले। फेरि भने, ‘अहिले त विशेष परिस्थिति भएर मात्र हो। साँखु त आफैं अरूलाई बाँड्न सक्ने स्थितिको बस्ती हो। चिन्ता नगर्नुस्, हामीलाई धेरै दिन सहयोग चाहिँदैन।'
यस्तो परिस्थितिमा एकअर्काको सहयोगका लागि जति युवा, युवती र अधवैंसे पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र लमजुङदेखि दोलखासम्मका विभिन्न विकट गाउँमा ट्रकदेखि पिकअप, मोटर र मोटरसाइकलसम्म लिएर मर्कामा परेका नेपालीलाई सहयोग गर्न लागिपरेका छन्, तिनको जोश जाँगर र उत्साह हेर्दा नेपालीहरू सजिलै हार मान्दैनन् भन्ने फेरि प्रमाणित भएको छ।
ल्याउनेले जति दिए पनि खुसीसाथ ग्रहण गर्ने व्यवहारले पनि नेपालीको मुहारबाट मुस्कान छिन्न नसकेको हो।
फुल्पिङ डाँडा गाविसमा लगेको सहयोगबाट ५ सय घरधुरीलाई बाँडदा थोरै मात्र भाग पर्ने भयो। ‘जति हुन्छ दिनुस् सर, बाँडेर खाउँला। दुई नै छाक पुगे पनि सबैले खान पाए त्यही राम्रो नि हैन?' यस्तो दुःखमा पनि हाँस्दै प्रश्न गरिन् स्थानीय स्वास्थ्य स्वयंसेविका देवकी पौडेलले।
प्रकाशित: २१ वैशाख २०७२ १९:०८ सोमबार