अन्तर्वार्ता

‘भक्तपुर सुुन्दर नगर बनाउने प्रयासमा छौं’

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाका पूरै वडामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भए। उक्त पार्टीका उम्मेदवार ले प्रतिस्पर्धी सबै पार्टीलाई जमानत नै जफत हुने गरी अत्यधिक बहुमतका साथ विजयी हासिल गरे। यो कसरी सम्भव भयो ? किन यति बढी नगरवासीले मजदुर किसान पार्टीलाई मन पराए ? के योजना छ अब नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको ? यी र यस्ता विविध विषयमा केन्द्रित रहेर नागरिककर्मी कृष्ण किसीले भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिसँग गरेको कुराकानीको सार:  

विपक्षी सबै प्रतिस्पर्धी पार्टीहरूको जमानत नै जफत हुने गरी नगरपालिकाको पूरै प्यानल नै विजयी हुन सफल हुनुभयो। किन यति बढी मतदाताले तपाईंको पार्टीलाई चुने होलान्?

अहिले धेरैले राजनीतिलाई पैसा कमाउने थलो बनाउन थालेका छन्। हामी राजनीतिलाई जनताको सेवा भन्छौं। पैसा कमाउने भए राजनीतिमा नआऔें, व्यापार व्यवसायतिर लागौं, जागिर खाऔं वा अन्य केही काम गरौं भन्छौं।

हामी राजनीतिलाई इमानदारपूर्वक जनताको सेवा गर्ने माध्यम भन्छौं। यही नै हाम्रो पार्टीको नीति हो। हामी पार्टीको नीतिअनुसार निर्देशित हुन्छौं। पार्टीका सिपाही हामी पार्टीको नीति निर्देशनअनुसार चल्छौं।

जनसुकै पार्टीबाट जितेर आए पनि उम्मेदवार जितपछि साझा व्यक्ति बन्छ। हामी सबै जनताको मेयर हुन्छौं। यस हिसाबले हामी विनाभेदभाव सबैलाई समान व्यवहार गर्छाैं। कसैलाई पनि भेदभाव गर्दैनौं। हामी जनताका लागि जनतालाई नै परिचालन गरेर काम गर्छाैं। आत्मनिर्भर हुन सिकाउँछौं। परनिर्भर हुन हुँदैन भनेर काम गर्छाैं।

जहाँसम्म भक्तपुर नगरपालिकाको कुरा छ, नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भक्तपुर नगरपालिकालाई शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणमा देशकै नमुना नगर बनाएका छन्। घोषणापत्रमा उल्लेख गरी जनतालाई दिएका वाचा एकएक गरेर पूरा गरेका छौं। यस अर्थमा हामीलाई जनताले विश्वास गरे र अत्यधिक बहुमतका साथ पुनः नेमकिपाबाट हामी विजयी हुन सफल भयौं।

यहाँ यसघिको कार्यकालमा पनि मेयर हुनुहुन्थ्यो। अगाडिको कार्यकालमा केके काम गर्नुभयो ? केके गर्न बाँंकी छन् र अब केके गर्ने योजनामा हुनुहुन्छ ?

अघिल्लो कार्यकालमा हामीले विशेष गरेर शिक्षा, स्वास्थ्य, सम्पदा पुनर्निर्माण, सरसफाइलगायत कामलाई विशेष प्राथमिकता दियौं। यसअनुसार हामीले सञ्चालन गरेका कलेजहरूमा विभिन्न विषय थप ग¥यौं। शिक्षा क्षेत्रकै कुरा गर्दा हामीले शैक्षिक रिन दिन सुरु गर्‍यौं। चाहेर पनि पढ्न गाह्रो भएका विपन्न परिवारका लागि हामीले पाँच लाख रूपैयाँसम्मको शैक्षिक रिन दिन सुरु गर्‍यौं। हामीले तीन सय १४ जनालाई शैक्षिक रिन उपलब्ध गराइसकेका छौं।

देशका लागि आवश्यक जनशक्ति देशभित्र उत्पादन गर्न हामीले विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गर्‍यौं। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजमा मात्र वार्षिक तीन करोड रूपैयाँसम्म छात्रवृत्ति दिएका छौं। देशभित्रका जुनसुकै कलेज वा विश्वविद्यालयमा अध्ययनरत भक्तपुर नगरभित्रका विद्यार्थीलाई उच्च शिक्षाका लागि हामी शैक्षिक रिन प्रदान गर्दछौं। राजनीतिक शास्त्र, भूगोल, संस्कृति, नेपालभाषा अनि इतिहासका लागि उच्च शिक्षा पढ्न चाहने नगरभित्रका विद्यार्थीलाई हामी छात्रवृत्ति दिन्छौं। यसका लागि हामीले चलाएका कलेजमै पढ्नुपर्छ भन्ने होइन, देशभित्रका जुनसुकै कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई हामी यो छात्रवृत्ति दिन्छौं।

स्वास्थ्यतर्फ हामीले ख्वप अस्पताल सञ्चालनमा ल्यायौं। यहाँ दैनिक ७ सयभन्दा बढी सेवाग्राहीले कम शुल्कमा स्वास्थ्य सुविधा पाइरहेका छन्। एमबिबिएस उत्तीर्ण चिकित्सकबाट ५० रूपैयाँमा र विशेषज्ञ डाक्टरहरूबाट ८० रूपैयाँको टिकट शुल्कबाट सेवा दिइरहेका छौं। साथै हामीले घरदैलो नर्सिङ सेवा दिइरहेका छौं। यसअनुसार वडावडामा नर्स खटाइरहेका छौं। ती नर्सहरू आ–आफ्नो वडामा गरी नगरभरिका घरमा पुगेका हुन्छन्।

यसबाहेक पनि हामीले श्वासप्रश्वास पुनःस्थापना केन्द्र, नगरस्तरीय आयुर्वेदिक सेवा केन्द्र सञ्चालन गरेका छौं। च्याम्हासिंहमै आँखा केन्द्र सञ्चालनमा छ। यसले नगरवासीको स्वास्थ्य उपचारमा सहजता आएको छ।

सम्पदातर्फ भूकम्पले क्षति पुर्‍याएका एक सय २४ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरेका छौं। दर्जनौं सम्पदाहरू पुनर्निर्माणको क्रममा छन्। अबको कार्यकालमा हामी पूरा नभएका सम्पदाको पुनर्निर्माण गर्नेछौं। यसका साथै भक्तपुरका ९९ चोक उत्खनन गर्ने योजना छ। जगन्नाथ क्षेत्र उत्खनन गर्न बाँकी छ। दरबार क्षेत्रमा राष्ट्रिय कला संग्रहालय रहेको भवन पुनर्निर्माण गर्नु छ।

सडक सुधार, डिजिटल सेवा दिन अनलाइन नक्सा पास, कर दस्तुर तिर्ने व्यवस्थालाई अगाडि बढाउनु छ। समग्रमा सबै सेवासुविधा पहिलाभन्दा प्रभावकारी रूपमा दिनेछौं।

ख्वप अस्पताल पनि सञ्चालन गर्नुभएको रहेछ। यसबारे केही खुलाई दिनुहोस् न।

पहिला भक्तपुर नगरपालिका–९ च्याम्हासिंहमा जनस्वास्थ्य केन्द्र सञ्चालन गरिरहेका थियौं। त्यसलाई अहिले विस्तार गरी ख्वप अस्पताल सञ्चालन गरेका हौं, त्यही ठाउँमा। त्यसका लागि नजिकै बनाउन थालिएको एउटा विशाल भवन पनि पूरा हुने चरणमा छ। २५ शय्याको अस्पताललाई भर्खरै एक सय शय्याको अस्पताल सञ्चालन अनुमति पाएका छौं।

अहिले हाम्रो अस्पतालमा दैनिक ७ सय बढी बिरामीले कम शुल्कमा स्वास्थ्य सेवा पाइरहेका छन्। अस्पतालमा ३५ जनाभन्दा बढी डाक्टर छन्। डाक्टर कर्मचारी गरी १ सय ३५ जनाले सेवा दिइरहेका छन्। कोरोनाकालमा बिरामीले पूर्ण रूपमा निःशुल्क स्वास्थ्य सेवा पाएका थिए। जनताको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएका थियौं। जनताबाट उठेको पैसाबाट बनेको अक्सिजनलाई निःशुल्क दियौं। अहिले पनि त्यो सेवा कायमै छ।

अहिले ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनलाई प्रसूति सेवाको व्यवस्था गर्ने गरी तयारी गरिरहेका छौं।

निरन्तर ख्वप विश्वविद्यालयको माग गरिरहनुभएको छ। यसबारे केही जानकारी दिनुहोस् न।

२०५४ सालको निर्वाचनपछि भक्तपुर नगरपालिकाले २०५६ सालमा प्लस टु सञ्चालन गरियो। अहिले यो विस्तारित भई सातवटा शैक्षिक संस्थामा रहेको छ। यी कलेजमा ७२ जिल्लाका सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यी सबै शैक्षिक संस्थामा निजीभन्दा सस्तो दरमा अध्ययनअध्यापन गराइरहेका छौं।

यस अर्थमा हामीसँग विश्वविद्यालय सञ्चालनका लागि भौतिक पूर्वाधारलगायत आवश्यक सम्पूर्ण तयारी पूरा छ। यसैका लागि संसद्मा विधेयक पेस गरेको पनि धेरै वर्ष भइसक्यो। अहिले पनि सबै सांसदहरूको हातहातमा त्यो विधेयक पुगिसकेको छ। शिक्षामन्त्रीले संसद्मा राखेर पास गर्नुपर्नेमा त्यो हुन सकेको छैन। त्यसैले यो प्रक्रिया रोकिएको अवस्थामा छ।

यही कारण हामी पछिल्लो समय प्रदेश सरकारबाट स्वीकृति लिने प्रक्रियामा छौं। प्रादेशिक विश्वविद्यालयको अधिकार प्रदेशमा गएकाले हामी प्रदेश सरकारबाट स्वीकृति पाउने आसमा छौं। यसका लागि प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले सबै अवलोकन भ्रमण गरी वचन पनि दिनुभएको छ। विश्वविद्यालयको रूपमा मान्यता दिने आश्वासन मन्त्री पाण्डेले दिनुभएको छ।

तपाईं बेलाबेला एमबिबिएस निकै सस्तो अर्थात् १५ लाख रूपैयाँमा पढाउन सक्छौं भनिरहनुहुन्छ। कसरी, के आधारमा सस्तोमा पढाउन सक्नुहुन्छ?  

पहिलो कुरा त हामी नाफाका लागि कलेज सञ्चालन गर्दनौं, सञ्चालन खर्च मात्रै खोजेका हौं। प्राफेसर, कर्मचारीलाई तलब खुवाउन अनि उपकरण खर्चका लागि मात्रै पैसा चाहिएको हो। यस अर्थमा हाम्रो खर्च खासै हुँदैन। खर्च चाहिने भनेको भौतिक संरचना निर्माणका लागि हो। भौतिक संरचना एक पटक मात्रै बनाए पुग्ने हुन्छ।

तर, गोविन्द केसीसँगको सम्झौताको कारण देखाई हामीलाई बेवास्ता गरिएको छ। अझै १० वर्षसम्म काठमाडौं उपत्यकामा सम्भव छैन भनिरहेका छन्। यसले शिक्षालाई व्यापार गरी नाफा गर्नेहरूलाई फाइदा पुग्नेछ। अर्काे कुरा हामीले कम शुल्कमै पढाउन सक्छौं भन्ने ज्वलन्त उदाहरण त हामीले सञ्चालन गरिराखेका सातवटा शैक्षिक संस्थाबाट छर्लंग हुन्छ। हामीले निजीभन्दा निकै कममा इन्जिनियरिङ पढाइरहेको कुरा कसैबाट छिपेको छैन।  

शिक्षा त दिइरहनुभएको छ, विभिन्न सातवटा संस्थाहरूमार्फत। तर, पढेका ती विद्यार्थीका लागि रोजगारी दिने विषयमा खासै योजना देखिँदैन नि, किन?

यसका लागि विभिन्न सीपमूलक तालिम दिइरहेका छौं। चिनियाँ, जापानी, नेपाल भाषाको लिपिको तालिम नियमित रूपमा सञ्चालन गरिरहेका छौं।

युवालाई लक्षित गरी डकर्मी, सिकर्मी र कुकको तालिम पनि दिइरहेका छौं। महिलाका लागि हेयर कटिङ, सिलाइबुनाई तालिम चलाइरहेका छौं। किसानका लागि माटो परीक्षण तालिम, नयाँनयाँ बिउबिजनबारे तालिम सञ्चालन गरिरहेका छौं। यस अर्थमा हामी हरेक युवालाई सिपयुक्त बनाउने प्रयासमा छौं।

तपाईँहरू जहिल्यै भक्तपुरमा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा परिवर्तन भयो भन्नुहुन्छ। तर, जनताको दैनिक जीवनसँंग सम्वन्धित पानीको समस्याचाहिँ ज्युँका त्युँ नै देखिन्छ। यसबारे के भन्नुहुन्छ ?

भक्तपुरमा खानेपानीको समस्या नै छ। त्यसकारण हामी यसको दीर्घकालीन समाधान खोजिरहेका छौं। मेलम्चीको पानी नै यहाँको खानेपानीको दीर्घकालीन समस्या समाधान हो। हामीले निर्वाचित भएर सपथ खाएको दिनबाटै यसका लागि लाग्यौं। सफल पनि भएका छौं। मेलम्चीको पानी वितरण सुरु भएको छ। यो क्रम अब विस्तारै सुरु हुनेछ। सबैतिर पानी वितरण भएपछि समस्या समाधान हुनेछ।

अहिलेको अवस्थामा हाम्रो खानेपानीको मुख्य आन्तरिक स्रोत नगरकोट नै हो। तर, दुःखको कुरा नगरकोटको पानीको स्रोतभन्दा माथि भँगेरीडाँडामा खेल मैदान बनाएर एमालेका साथीले दुःख दिने काम गरेका छन्। यसको निरन्तर विरोध गर्दै आइरहेका छौं। पानीको स्रोत जोगाउने विषयमा केन्द्रीय सरकार पनि संवेदनशील बन्नुपर्ने हो।

तत्कालीन खानेपानीको समस्या समाधानका लागि हामीले ठाउँठाउँमा बोरिङ गरेका छौं। सल्लाघारी, गोल्मढी, बाराहीस्थान, तुमुचो दुगुरे, बाचामारीलगायत ठाउँमा बोरिङ गरिरहेका छौं। तीमध्ये कति ठाउँमा त काम सम्पन्न भएर पानी पनि वितरण भइसकेको छ भने कति ठाउँमा काम हुँदै छ।

भक्तपुर किसानहरूको नगर हो। तर, किसानका समस्या र समाधानबारे खासै योजना देखिन्न, किन?

किसानहरूको पक्षमा हामीले निरन्तर काम गरिरहेका छौं, जस्तो कि विभिन्न तालिम दिने। किसानका लागि कृषि प्राविधिक तालिम, माटो परीक्षण तालिम, कीटनाशक औषधि प्रयोगलगायत तालिम किसानले पाइरहेका छन्। साथै उनीहरूलाई कम जमिनमा कसरी अधिकतम फलाउने भन्ने विषयमा जानकारी दिइरहेका हुन्छौं। साथै कौसी खेती तालिम पनि दिइरहेका छौं। समग्रमा कृषि उत्पादनलाई प्रोत्साहन गर्ने काम गरिरहेका छौं।  

पछिल्लो समय नगरमा सञ्चालित देको मिवा इटापाके जग्गा एकीकरणमा विवाद देखिन्छ नि ?

नगरपालिका क्षेत्रलाई व्यवस्थित सहरको रूपमा विकास गर्ने नगरपालिकाको कर्तव्य हो। यसका लागि हामीले अन्य विभिन्न कमलविनायक, लिवालि, तुमचो दुगुरे जस्तै देको मिवा इटापाके जग्गा एकीकरण आयोजना चलाइरहेका छौं। त्यसमा केही जग्गाधनी साथीको गुनासो छ। त्यसलाई क्रमशः सम्बोधन गर्दै आइरहेका छौं। कति किसानको समस्या समाधान पनि भइसकेको अवस्था छ। केही साथीहरूको बाँकी पनि छ। त्यसलाई हामी आपसी छलफल गरी टुंगाउँदै लाने नै छौं। आयोजनामा कसैलाई पनि अन्याय हुने काम हामी गर्दैनौं। अहिले जग्गा फिर्ता गर्ने क्रम पनि जारी छ।

ठुल्ठुला योजनामा विवाद आउनु र समस्या हुनुलाई अस्वाभाविक मान्न सकिन्न। छलफल वा वार्ता गरी टुंग्याउनुपर्छ। आयोजना सञ्चालन गर्दा बाटोलाई नै ४ सय रोपनी क्षेत्रफल अर्थात् २४ प्रतिशतभन्दा बढी गएको छ। साथै खुला क्षेत्रका लागि नै ७५ रोपनी अर्थात् पाँच प्रतिशत गएको छ। यसरी दुवै गरी सालाखाला ३० प्रतिशत जग्गा गएको छ। यसकारण योगदानको आधार र सुविधा प्राप्त गरेको आधारमा सुविधा प्राप्त गर्नेले योगदान पनि गर्नुपर्छ। सुविधा लिने तर जग्गा कत्ति पनि छाड्न तयार नहुनु तर्कसंगत छैन।

भक्तपुर नगरमा पनि विस्तारै सवारीसाधन जामको समस्याले सताउन थालेको छ नि ?

निश्चय पनि यो सत्य हो। सवारीसाधन पार्किङ गर्ने ठाउँ नभए पनि जथाभावी सवारीसाधन किन्ने व्यवस्था छ। त्यस हिसाबले सवारीसाधनको संख्या अत्यधिक बढेको छ। साथै बाटोमा वा जथाभावी पार्किङ गर्दा समस्या आउने गरेको छ। त्यसकारण घरमा पार्किङको व्यवस्था छ, छैन हेरेर सवारीसाधन किन्न सरकारले अनुमति दिनुपर्नेे व्यवस्था गर्नुपर्ने थियो। यही समस्या समाधानका लागि दूधपाटी, ब्रम्हायणी, कमलविनायकलगायत ठाउँमा पार्किङ पनि बनेको अवस्था छ।

तपाईंहरू ‘सय वर्षपछिको भक्तपुर’को कुरा गर्नुहुन्छ। खास यो के हो ?

दुई दशकअगाडि हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान विजुक्छेंज्यूले सय वर्षपछिको भक्तपुरको कल्पना गर्नुभएको थियो। उहाँको परिकल्पनाको आधारमा भक्तपुर एउटा संसारकै सुन्दर नगर बन्नेछ। यहाँका सबै घरहरू मौलिक शैलीका, झिँगटीले छाएका, इँटामाटोबाट बनेका कलात्मक हुनेछन्। बाहिरबाट हेर्दा भक्तपुर कलात्मक सहर हुनेछ।

नगरका सबै ठाउँ बाहिरी पर्यटकले भरिभराउ हुनेछन्। रातको समयमा सबै सार्वजनिक पाटीपौवामा भजन गाइनेछ। परम्परागत नाच देखाइनेछ।

हरेक घरमा दुई–तीनवटा भाषा बोल्नसक्ने युवा हुनेछन्। उनीहरू सबैको घर होमस्टेका रूपमा रहनेछन्।

साँचो अर्थमा भक्तपुर नगर बिहान हेर्दा प्राचीन सहर जस्तो देखिनेछ। दिउँसो हेर्दा खुला विश्वविद्यालय जस्तो देखिनेछ। अनि राति हेर्दा सबैतिर झिलिमिली बत्तीले भरिएको कलात्मक, मौलिक घरहरूले एउटी सुन्दरी जस्तै सुन्दर देखिने छ। यो नगरभित्र सवारीसाधन चल्नेछैनन्। सबै मानिस पैदल हिँड्नेछन्।

नगरलाई घेर्ने वरिपरिका सबै नदीहरूमा स्वच्छ पानी सलल बग्नेछ।

यसका लागि हामीले विस्तार आधार बनाउँदै लगेका छौं, जस्तो कि घना बस्तीको पुरानो नगर क्षेत्रभित्र घर बनाउँदा मौलिक शैलीको प्रारूपमा बनाउनुपर्ने बनाएका छौं। यसका लागि मोहडामा लाग्ने सबै निजी घरहरूलाई काठ, इँटा, झिँगटीमा ३५ प्रतिशत खर्च नगरपालिकाले दिने व्यवस्था गर्दै आएको छ।

यसैका लागि हामीले निरन्तर चिनियाँ, जापानी भाषाका तालिम दिँदै आएका छौं। अन्य भाषाको तालिम पनि दिने योजना छ। पर्यटकलाई स्थानीय रहनसहन, जनजीवन, चाडपर्वबारे बताउनसक्ने बनाउन विद्यालय तहमा स्थानीय पाठ्यक्रम लागु गरेका छौं। स्थानीय सबै चिजहरूलाई जानकारी दिने काम गरिरहेका छौं।  

तपाईंले नगर घेर्ने हनुमन्ते खोलामा सफा पानी सलल बग्नेछ भन्ने परिकल्पना गर्नुभएको छ। तर, यो त अहिले ढलमय छ नि?  

यसैका लागि हामीले अहिले फोहोर पानी प्रशोधन केन्द्र बनाइरहेका छौं। भक्तपुरको इनाचो हनुमानघाट फोहोर पानी प्रशोधन गर्ने उपचार पोखरी बनाउन टेन्डरसमेत भई निर्माणको काम प्रारम्भ भएको छ। उता सल्लाघारीमा पनि उपचार पोखरी निर्माणाधीन छ। यो बनेपछि नदीको पानी उपचार पोखरीमा पठाउने र उपचार गरी सफा भएपछि नदीमा बगाउने योजना हाम्रो हो।

प्रकाशित: २९ जेष्ठ २०७९ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App