प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल नेपाल प्रहरीका प्रवक्ता पनि हुन्। वर्तमान समयमा देशको सुरक्षा अवस्था र प्रहरीले ल्याएका नयाँ कार्यक्रममा रहेर नागरिकन्यूजका सन्दिपकुमार वैश्यले पोखरेलसँग कुराकानी गरेका छन् :
शान्ति सुरक्षाको पछिल्लो अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ?
शान्ति सुरक्षाको पछिल्लो अवस्था अत्यन्तै ठिक छ। नागरिकहरुले जुन ढंगले शन्ति सुरक्षा महशुस गरिरहेका छन् त्यो एक दम विश्वशनीय छ। पछिल्लो समय सुरक्षालाई लक्षित गरी केही उतार चढाव भएपनि प्रहरीले ती चुनौतीहरुलाई नियन्त्रणमा लिई भरपर्दो र विश्वनीय बनाएको छ।
प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो। शान्ति सुरक्षामा असर पुर्याउने, गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई पनि प्रहरीले कानुको दायरामा ल्याउँछ। चाहे त्यो हिंसात्मक क्रियाकलाप गर्ने होस् वा ध्वांसात्मक क्रियाकलाप गर्ने होस।
दैनिक अपराधका घटना भइरहेका छन्, के आधारमा शन्ति सुरक्षा भरपर्दो भयो?
कुनै पनि कुराको मापन गर्नलाई केही न केही आधार हुन्छ। त्यस्तै शान्ति सुरक्षाको मापन गर्ने आधार तथा सूचकहरु हुन्छन्। त्यो सूचक भन्नाले एउटा नागरिकले आफ्नो हक अधिकार, व्यापार व्यवसाय लागयत संविधानमा उल्लेख गरिएको मौलिक हकको अधिकार उपयोग निर्वाधरुपमा गर्न पाएको छ की छैन, कहीँ असुरक्षा महसुश गरेको छ की छैन, त्यो सूचकहरुको आधारमा हामीले मूल्यांकन गर्दा नेपालको शान्ति सुरक्षा एकदम राम्रो, विश्वसनीय र भरपर्दो छ।
पछिल्लो समय हत्या, हिंसा, अपहरण लगायतका आपराधिक क्रियाकलापको ग्राफ त बढ्दो छ त?
ग्राफ बढ्ने हिसाबले अपराध बढेको छैन। तर केही हदसम्म आपराधिक कृयाकलापहरु भएका छन्। नभएका होइनन्। तर यसलाई दुई किसिमले हेर्नुपर्ने हुन्छ। पहिलो पेसेवर अपराधीहरुले अपराध गरेका छन् की छैनन्। दोस्रो संस्थागत अपराधीहरुले अपराध गरेका छन् की छैनन्। यो दुईटै आधारमा नेपालको शान्ति सुरक्षालाई मापन गर्यो भने कहीँ पनि यस्ता अपराध न त भएको छ नत अपराधी छन्।
यद्यपी अपराधहरु भइरहेका छन्। कस्तो अपराधहरु भइरहेका छन् भने परिवारिक अपराधहरु भइरहेका छन्। एउटै समाज तथा परिवार भित्र बस्ने एक सदस्यले अर्को सदस्यलाई हत्या, हिंसा र बलात्कार गरेको देख्न पाउनु हुन्छ। तर व्यावसायीक रुपमा अपराध कहि पनि भएको छैन। त्यसैले अपराधको ग्राफ नै बढ्यो भन्न मिल्दैन।
तपाईले अपराध घटेको भन्नुहुन्छ, यदि अपराध घटेको छ भने किन देशका अधिकांश कारागारमा क्षमता भन्दाबढी कैदी छन्?
शान्ति सुरक्षाको दृष्टिमा अपराधलाई दुई तारिकाबाट हेरिएन भने त्यसमा फरक दृष्टिकोण बन्न सक्छ। पहिलो समग्र देशको शान्ति सुरक्षा र दोस्रो समग्र नागरिकको हक अधिकारको सुरक्षाको विषयसँग जोडेर हेर्नुपर्छ।
प्रोफेसनल तथा संस्थागत अपराधीहरुले गरेको आपराधले देशको जो सुकै नागरिक त्यसको शिकार हुनसक्छ। तर निश्चित स्थान तथा समाज र परिवारमा हुने अपराधले उनीहरुलाई नै प्रताडित र पीडित बनाउँछ। न त यसले समाजलाई त्रसित बनाउँछ। त्यसैले परिवारिक अपराधले नै कैदीहरु बढेका हुनसक्छन तर कोइ कोइ कानूनको ज्ञानको कमीको कारण अपराध गरेर पक्राउ पर्छन र त्यहाँ कारागारमा कैदीको संख्या बढी देखिन्छ।
दिनदहाडै राजधानीमा बम विस्फोट हुन्छ, यसलाई के भन्ने?
राज्यले दिने सुरक्षामा अहिले कुनै कमी छैन। नेपाल प्रहरीले जुन ढंगले शान्ति सुरक्षालाई ब्यवस्थापन गरेको छ, जुन ढंगले हामीसँग भएको साधन स्रोत र भएको जनशक्ति प्रयोग भइरहेको छ त्यो हिसाबले हेर्दा राज्यले दिने सुरक्षामा कुनै कमी छैन। नागरिकको सुरक्षमा प्रहरी दत्तचित्त भएर लागेको छ। एउटा निश्चित समाज र परिवारमा हुने अपराधका घटनाले समग्र देशको सुरक्षामाथि प्रश्न चिन्ह खडा गर्न मिल्दैन।
अहिले देशै भर शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणा कार्यान्वयन गर्नको लागि देशभरमा विभिन्न समिति निर्माण गरेको छ। ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। सोही अनुसार प्रहरीले काम पनि गरिहेको छ। त्यसैले नागरिकहरुलाई डराउनुपर्ने अवस्था रहेको छैन।
तपाईहरुको सुरक्षा व्यवस्था पनि त कमजोर नै देखियो नि। जस्तो सिंहदरबार नजिकैको विस्फोटलाई लियौं। त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ काठमाडौं कसरी भित्रियो ? कहाँ चुक्यो प्रहरी ?
यो सानो सानो घटनालाई लिएर नेपाल प्रहरीलाई आलोचित गर्न मिल्दैन। हामी नतिजामा जानुपर्छ। यसले अन्तिम नतिजा के ल्यायो भन्ने कुरा महत्वपूर्ण हो। अब एउटा प्रेसर कुकर भित्रियो, प्रेसर कुकरमा राख्ने सानो विस्फोटक पदार्थ भित्र्यो भनेर कित्ता कित्तामा हेरेर प्रहरी यहाँ त असफल भयो नि भनेर परिभाषा गर्नु भनेको हामी सबैको लागि दुर्भाग्यको कुरा हो।
हामीले के हेर्नुपर्छ भने जो अप्रिय घटना गराउन खोजेका थिए उनै त्यसको शिकार भए। यो कसको कारणले सम्भव भयो भने नेपाल प्रहरीको कडा सुरक्षाको कारणले। त्यसैले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न नसकेको भन्नु गलत हो। त्यसैले नेपाल प्रहरीलाई मुलुकको एक अभिन्न अंग मानेर आगाडि बढ्नु पर्छ।
शान्ति सुरक्षाको सन्दर्भमा पछिल्लो समय नेपाल प्रहरीको प्राथमिकतामा के छ ?
नेपाल प्रहरीको प्रथामिकतामा भन्नुपर्दा हाम्रो महानिरीक्षक ज्यूले संगठनलाई सुधारेर लैजानुका साथै शान्ति सुरक्षालाई केन्द्रित गरी १० बुँदे निर्णय गर्नु भएको छ। त्यसमा मुख्य बुँदा सबै प्रकारको अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नुका साथै अन्त्य गर्ने रहेको छ। त्यस्तै समाजिक र पारिवारिक रुपमा हुने अपराधलाई नियन्त्रण गर्ने लागयतको बुँदाहरु रहेको छ। सोही अनुसार प्रहरी नागरिकको शान्ति सुरक्षाको लागि दत्तचित्त भएर लागेको छ।
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालाई हेर्ने प्रहरीको दृष्टिकोण के हो ?
प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो। शान्ति सुरक्षामा असर पुर्याउने, गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई पनि प्रहरीले कानुको दायरामा ल्याउँछ। चाहे त्यो हिंसात्मक क्रियाकलाप गर्ने होस् वा ध्वांसात्मक क्रियाकलाप गर्ने होस। जनतामा भय त्रास फैलाउने र देशको शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने प्रमुख दायित्व हो र सोही अनुसार नेपाल प्रहरीले काम गरिरहेको छ।
त्यसैले हामी कुन समूह, कुन पार्टी, कुन गुट भनेर हेर्दैनौ। हाम्रो काम के हो भने देशको शान्ति सुरक्षा र आम नागरिकको सुरक्षामाथि खलल पुर्याउने गतिविधि गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याइन्छ। अपराधिक क्रियाकलाप गर्ने विप्लव होइन जो सुकैलाई पनि पक्राउ गरी कानुनको दायरामा ल्याउने प्रहरीको प्रमुख कर्तब्य हो।
के प्रहरीको लागि विप्लव समूह चुनौतीको विषय बनेको छ?
चुनौती भन्दा पनि अपराधिक क्रियाकलाप गर्ने हिंसात्मक, ध्वांसात्मक क्रियाकलाप गर्ने, जनतामा भय त्रास फैलाउने, जनताको हक अधिकारमा हनन पुर्याउने क्रियाकलाप कोइ कसैबाट हुन्छ भने त्यसलाई नेपाल प्रहरीले रोक्छ। त्यो रोक्न सक्षम छ, नेपाल प्रहरी। त्यस्ता व्यक्तीलाई नेपाल प्रहरीले कानुनको दायरामा ल्याउँछ।
त्यसैले कुनै समूह, पार्टी र गुट भन्दा पनि अपराधिक क्रियाकलाप गर्नेमाथि नेपाल प्रहरीको कडा निगरानी छ। अपराधिक क्रियाकलाप गर्ने हाम्रो लागि चुनौतीको विषय होइनन् बरु हामी उनको लागि चुनौती हौं।
प्रकाशित: २३ जेष्ठ २०७६ ०८:१९ बिहीबार