अन्तर्वार्ता

नेतृत्व महाधिवेशनले तय गर्छ : नेकपा महासचिव पाैडेल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिहीबार सम्पन्न एकतामा विष्णु पौडेलको महत्वपूर्ण भूमिका रह्यो । जसको पुरस्कार पनि उनले महासचिवको जिम्मेवारीसँग प्राप्त गरेका छन् । संगठनभित्र राम्रो पडक रहेका पौडेल अन्तर्मुखी स्वभावको नेताकारूपमा चिनिन्छन् । पौडेलसँग पार्टी एकतापछिको पार्टीको अन्तरिक राजनीतिबारे मणि दाहालले गरेको कुराकानीको सम्पादित अंशः

एकीकरण प्रक्रिया सुुरु गरेको सात महिनामा दुवै पार्टी एक भएका छन् । यसबीचको सम्बन्ध कत्तिको उतारचढावपूर्ण रह्यो ? पछिल्लो समयमा के के विषयले एकीकरण टुंगियो ?

पहिलो कारण देशको आश्यकता हो । दोस्रो कारण हामीबीच भएको सहकार्य र प्राप्त गरेका अनुभव हुन् । पार्टी आन्दोलन, देश र जनताका लागि निर्माण गरिएका संस्थाहरू हुन् । देश र जनताको बृहत्तर हितका लागि पार्टी एकीकरण गर्नुपर्छ भन्ने अनुभूति अर्को महत्वपूर्ण कारण हो।

तर व्यवहारिक चुनौती थिए । नेतृत्वको विषयसमेत मिलेको थिएन ?
थुप्रै चुनौती थिए भनेर चर्चा हुने गरेको थियो । एकता प्रक्रियामा संलग्न रहेकाहरूलाई भने समाधान खोज्न नसकिने प्रकारका थिएनन् भन्ने थियो । तरपनि छलफल गर्नुपर्ने विषयहरू रहे । समाधान गर्न नसक्ने प्रकृतिको समस्या कहिले पनि देखेनौँ । उतारचढाव चाहिँ भएको भन्दा पनि बढी चर्चा गरिएको थियो । उतारचढाव भनेर चर्चा बढी गरिएको हो । सन्तुलित, परस्परमा विश्वासको सम्बन्धमा भने कहिले पनि कमी आएन।

केन्द्रमा कुरा मिल्यो तर जनवर्गीय संगठन र अन्य मातहतका कमिटीका विषयबारे के योजना छ ?
केन्द्रीय तहमा गठन गरिएका संस्थाहरूले पार्टीलाई वैधानिक र संस्थागत ढंगबाट अघि बढाउँछन् । अधिकार र कर्तव्यको क्षेत्राधिकारको सीमाहरूबाट पार्टीलाई अघि बढाउन भूमिका खेल्छन् । तीन महिनाभित्र समग्रतामा एकीकरण प्रक्रिया टुंग्याउनेछौँ । पार्टीका स्थानीय तहहरूर जनवर्गीय संगठनहरूसहित सबै तहको एकतालाई टुंग्याउनेछौँ।

सबै विषय सकारात्मक मात्रै गर्नुभयो चुनौतीविहीन रूपमा पार्टी एकताको बाँकी काम सकिने हो ?
व्यवस्थापन गर्न नसक्ने प्रकारको चुनौती छैन । सामान्यतया कम्युनिस्ट पार्टी गतिशील र जीवन्त पार्टी हो । विचारमा छलफल र बहसका लागि अनकूल वातावरण हुने हुनाले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन कतिपय विषयमा छलफल गर्नुपर्ने आवश्यकता हुन्छ । आवश्यक विषयमा छलफल गरेर संस्थागत ढंगले निर्णय गरेर अघि बढ्छौँ । सिरियस समस्या उत्पन्न भएर स्थानीय तहका कमिटीहरूको एकता प्रक्रिया टुंग्याउनका लागि गम्भीर समस्या हुन्छ भन्ने लाग्दैन।

महाधिवेशन कहिलेसम्म गर्नुहुन्छ ?
सामान्यता सोच दुई वर्षमा महाधिवेशन गरिएला भन्ने रहेको छ।

नेतृत्व नि?
नेतृत्व महाधिवेशनले तय गर्छ । अहिले भन्ने विषय छैन । अहिले केही भन्न सक्ने अवस्था छैन।

सहमतिमा गर्ने भनेर बाहिर आएको छ नि?
हामीले भन्दै आएको विषय के हो भने आगामी महाधिवेशन एकता र सहमतिको हुन्छ।

चुनाव हुँदैन ?
चुनाव हुँदैन भन्ने हाम्रो विश्वास हो । सहमतिलाई चुनाव होइन भन्ने मिल्दैन । सर्वसम्मति निर्वाचनको प्रक्रिया होइन र ? निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया तय गर्छ । एउटा सिटका लागि एक जनाले मनोनयन दर्ता गर्यो भने निर्विरोध हुन्छ । सर्वसम्मति हुन्छ तर यसको अर्थ चुनाव भएन भन्ने होइन नि?

मूल नेतृत्व प्रतिस्पर्धामा जान्छ कि जाँदैन ?
आगामी महाधिवेशन एकताको महाधिवेशनकारूपमा सम्पन्न हुन्छ । एकता भन्दा नीति, विचार, सिद्धान्त र नेतृत्वको पक्षमा एकता हो । कमिटीका सदस्यको प्रश्नमा एकता पनि हो । सबै विषयमा एकताको महाधिवेशनकारूपमा एकता हुन्छ भन्ने विश्वास छ । यसपछिका केही कारणहरू रहेका छन् । यसपछिका केही कारण छन् । हिजो अलगअगल पृष्ठभूमिका थियौँ। हाम्रो इतिहास फरक थियो।

मूल्य, मान्यता, अभ्यास र योगदानको प्रकृति फरक थियो । तर पनि हामीले सहमतिसाथ एउटै पार्टी बनाउन सकेका छौँ । नीति, विचार र संगठनको प्रश्नमा सहमतिका साथ निर्णय गर्न सकेका छौँ । यहाँबाट महाधिवेशनसम्म पुग्दा एकअर्कालाई अझ नजिकबाट गहिराइका साथ बुझ्छौँ त्यस समयमा हामीले सहमतिका साथ नीति, विचार र नेतृत्वबारे निर्णय गर्न नसक्ने भन्ने प्रश्न नै हुँदैन।

व्यवहारमा परेपछि विमतिहरू चुलिन्छ नि?
भन्नेले के के भन्छन्, भन्दै गरून् । भन्नैका लागि लोकतन्त्र ल्याएको हो । भन्ने चाहनाले भन्न पाऊन् भनेरै लोकतान्त्रिक व्यवस्था हामीले ल्याएका हौँ।

सबै नेताहरूसँगको छलफलमा तपाई हुनुहुन्थ्यो, के विषयले नेताहरूलाई जोड्यो ?
यसबीचमा दुईवटा कोणबाट एकता हुँदैन र भाँडिन्छ भन्ने थियो । सकारात्मक रूपमा चर्चा गर्नेहरूले एकता नभएर देश र जनताको भविष्य अफ्ठ्यारोमा पर्छ । त्यो सद्भावपूर्ण चिन्ता छिटो एकता सम्पन्न हो भन्नका लागि थियो। भाँडियोस्, नहोस् नभइदिए हुन्थ्यो । भएदेखि बर्बाद हुन्छ भनेर सोच्नेहरूले पनि एकता नहोस् भन्ने भयो।

पछिल्लो दशक हेर्ने हो भने एमाले र माओवादीका अध्यक्षबीचको सम्बन्ध तिक्ततापूर्ण रहेको त हो नि ?
अबको हैरानी के हुनेछ भने कतिपय मानिस विरोधाभास खोज्न हिँड्छन् र नभेटेर हैरान हुन्छन् । त्यो हुनेवाला छैन । नेताहरूबीच सम्बन्ध जतिबेला कटुतापूर्ण र शत्रुतापूर्ण भनेर चर्चा गरिन्थ्यो । त्यस समयमा पनि शत्रुता र कटुतापूर्ण सम्बन्ध होइन । कतिले कहिले मिल्न नसक्ने उत्तरी र दक्षिणी ध्रुवकारूपमा पनि चर्चा गरे । न दुई दलबीच सम्बन्ध त्यस्तो थियो, न त नेताहरूबीचको सम्बन्ध नै त्यस्तो थिएन । जरूर केही विमति, दूरी र ग्याप थियो । तर, सधैँ संवाद र सहकार्यमा रहनुभएको हो।

उहिल्यैदेखि घनिष्ठ हुनुभएको भए किन यति ढिलो एक हुनुभयो त ?
खासगरी युद्धविराम, बाह्र बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, संविधानसभा, संविधानसभाबाट संविधान निर्माणमा विमति मात्रै होइन, हामीबीचमा घनिष्ठ सम्बन्ध पनि रह्यो । सहकार्यको क्रममा एक अर्कोलाई अझ नजिकबाट चिन्ने र बुझ्ने मौका पनि पाएका हौँ । त्यसैक्रममा अलग अलग पार्टीको अब आवश्यकता छैन र एउटै पार्टी भएर अघि बढ्न सक्छौँ । त्यसका लागि वैचारिक, राजनीतिक र संगठनात्मक संयुक्त आधार तयार पार्न सक्छौँ भन्ने कोणबाट अघि बढ्यौँ र यो एकता सम्पन्न भएको हो।

तर पहिलो र दोस्रो संविधानसभामा एक अर्काविरुद्ध कडा अभिव्यक्ति दिनुभएकै थियोनि?
हामी आआफ्नै ढंगले चुनावमा गयौँ । परिणामले एक प्रकारको शिक्षा र अनुभव दियो । दोस्रो संविधानसभामा पनि त्यस्तै भयो । त्यसपछि स्थानीय तहको चुनावमा गयौँ त्यसका पनि आफ्नै ढंगका अनुभव रह्यो । सारा विगतका चुनावी अनुभवले समेत हामीलाई के बतायो भने आगामी चुनावमा मिलेर जान जरुरी छ,यही अनुभूति भयो । प्रतिनिधिसभा र प्रदेशसभाको साझा उम्मेदवार र घोषणापत्र लिएर चुनावमा मिलेर गयौँ।

निर्वाचनले के देखायो भने हामी बीचको सहकार्य आवश्यक, उचित र सही थियो । यो सहकार्यलाई निर्वाचनमा सहयोग आदानप्रदान गर्नका लागि एक अर्काको उम्मेदवारलाई जिताउनका लागि मात्रै होइन । यो सहकार्यलाई  पार्टी एकतामा बदल्नुपर्छ भन्ने विश्वासका साथ अघि बढौँभन्नेमा लाग्यौँ । यसबीचमा एकता गर्ने उद्देश्यसाथ छलफल, बहस र अन्तक्र्रिया भएका छन् । एकले अर्कोलाई नजिकबाट बुझ्ने कोसिस भएको छ । त्यसहिसाबले एकता सम्पन्न गरेका छौँ।

सरकार अब कसरी चल्छ ?
सरकारले जनताप्रति र राष्ट्रप्रति समर्पित भएर सुदृढ सरकारकारूपमा काम गर्छ।

पाँच वर्ष ओलीनै प्रधानमन्त्री बन्नुहुन्छ ?
यो सरकार छँदै छ । कुनै पनि संयुक्त सरकारभन्दा पनि एकल सरकार हो,  बहुमत छँदै छ । यो सरकारलाई नेपाल कम्युनिस्ट पार्टीका सांसदको मात्रै समर्थन भएको होइन, अन्य दलको पनि समर्थन छ । निकै फराकिलो ढंगले अघि बढेको सरकार हो । यो गतिशील रूपले अघि बढ्छ।

विपक्षी दल कांग्रेसले सरकार झनै कठोर हुने हो कि भनेर चिन्ता व्यक्त गर्न थालेको छ ?
यो आरोप निराधार छ । कांग्रेससँग कठोर हुनका लागि गरिएको एकता होइन । यो एकता संविधानको प्रभावकारी कार्यान्वयन गर्ने, राजनीतिक अस्थिरता र अनिश्चितताको तमाम शृंखलालाई समाप्त गर्ने, स्थिरता र स्थायित्व कायम गर्ने, सुशासन, शान्ति, विकास र समृद्धि सुनिश्चित गर्ने, समाजवादको आधार तयार गर्ने, सामाजिक न्यायको प्रत्याभूति गर्ने उद्देश्यसाथ गरिएको एकता हो । यो एकतासुदृढ राष्ट्रिय एकता र सफल राजनीतिक प्रणालीका लागि हो।

अधिनायकवाद आउँछ भन्ने चिन्ता नलिए भयो त ?
यो कसैको विरुद्ध परिलक्षित छैन । अहिले कांग्रेस संवैधानिक रूपमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ । उसको त्यो भूमिकालाई सम्मान गर्छौं । संवैधानिक ढंगले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरोस् चन्ने चाहना पनि रहेको छ । तर प्रमुख प्रतिपक्षको धर्म जहिले पनि सरकारको विरोध गर्ने मात्रै होइन । गुण र दोषको आधारमा सरकारसँगको भूमिकालाई परिभाषित गर्नुपर्छ । सरकारले राम्रो काम गर्दा प्रमुख प्रतिपक्षले समर्थन गर्न मिल्दैन भन्ने होइन।

नेकपाले कांग्रेसलाई साथमा लिएर शान्ति, समृद्धि र विकासका लागि अघि बढ्नेछ । सरकारले संविधानसम्मत रूपमा शासन सञ्चालन गर्छ । त्यसैले त्यस्ता निर्णयहरूमा सधैँ विरोध गर्नुपर्छ भन्ने हुँदैन । प्रमुख प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ्न चाहन्छौँ।

महासचिवमा रूपमा संगठनको जिम्मेवारी पाउनुभएको छ । पहिलो दल र तेस्रो दल आएर मिसिएको छ । संगठनलाई व्यवस्थित बनाउने योजना के छ ?
पार्टी एकता भर्खरै मात्रै औपचारिक रूपमा टुंगिएको छ । अब दुई वटा पार्टीको इतिहासलाई सम्झेर त्यसमा अल्झिएर बस्दैनौँ । हामी एउटा पार्टी भएका छौँ । हाम्रो इतिहास होला तर अब हामी एउटै पार्टी भएका छौँ । केन्द्रमा भएको एकतालाई स्थानीय तहमा पनि सम्पन्न गर्छौं।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App