अन्तर्राष्ट्रिय

कोभिडबाट पौने दुई करोडको मृत्यु भएको दाबी

कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांकभन्दा तीन गुणा बढी भएको अनुमान गरिएको छ। अमेरिकाकास्थित वासिङ्टन विश्वविद्यालयले विश्वका १ सय ९१ देशमा गरेको अध्ययनअनुसार कोभिड महामारीका कारण १ करोड ८० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको हो।

विश्व स्वास्थ्य संगठनले दुई वर्षअघि नै कोभिड–१९ लाई महामारी भनेर घोषणा गरेको थियो। यो महामारीबाट भएको अत्यधिक मृत्यु (एक्सेस मोर्टालिटी) को समीक्षा गरेर यस्तो आकलन गरिएको अनुसन्धानकर्ताको दाबी छ।

अध्ययनअनुसार अत्यधिक मृत्युदर देश र क्षेत्रअनुसार फरकफरक भए पनि सरदरमा प्रति १ लाख जनसंख्यामा १ सय २० जनाको मृत्यु भएको देखिएको छ। यो हिसाबले सन् २०२० सुरु भएपछि सन् २०२१ को अन्त्यसम्म कुल १ करोड ८२ लाख मानिसको कोभिड–१९ का कारण मृत्यु भएको देखिन्छ। आधिकारिक रूपमा कोभिड–१९ का कारण ५९ लाख मानिसको मृत्यु भएको तथ्यांक छ ।

आधिकारिक तथ्यांकभन्दा तीन गुणा बढी मृत्युका लागि कोरोना भाइरस र यसको संक्रमणले निम्तिएका अन्य जटिलतालाई कारण मानिएको छ। उदाहरणका लागि कोभिड संक्रमणले मुटु तथा फोक्सोका रोगी गम्भीर हिसाबले बिरामी हुने देखिएको छ।

अध्ययनका क्रममा कोरोना महामारी सुरु हुनुअघिका वर्षमा भएका मृत्यु र यो महामारी सुरूपछि भएका मृत्युका संख्याको तुलनात्मक समीक्षा गरिएको थियो। अनुसन्धानकर्ताले सम्बन्धित सरकारका आधिकारिक वेबसाइट, वल्र्ड मोर्टालिटी डाटाबेस, ह्युमन मोर्टालिटी डाटाबेस तथा युरोपियन स्टाटिस्टिकल अफिसका तथ्यांक संकलन तथा समीक्षा गरेका थिए ।

कोरोना अवधिमा भएका सम्पूर्ण अतिरिक्त मृत्युको वैज्ञानिक समीक्षा गरिएकाले अध्ययनको आकलन तथ्यको नजिक रहेको अनुसन्धानकर्ताको दाबी छ। 

विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यानसेटमा प्रकाशित उक्त अध्ययनअनुसार कोरोना महामारीको मृत्युदरमा ल्याटिन अमेरिका, युरोप, सबसहारा अफ्रिकाका कम आय भएका देश अगाडि देखिएका छन्। उच्च आय भएका इटाली तथा अमेरिकाका केही राज्यमा समेत मृतकको संख्या अत्यधिक देखिएको छ। अध्ययनअनुसार अत्यधिक अतिरिक्त मृत्यु देखिएका प्रमुख ५ देशमा बोलिभिया, बुल्गेरिया, इस्वातिनी, नर्थ मेसेडोनिया र लिसोथो छन्। त्यस्तै कम अतिरिक्त मृत्यु भएका प्रमुख ५ देशमा आइसल्यान्ड, अस्ट्रेलिया, सिंगापुर, न्युजिल्यान्ड र ताइवान छन्।

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनसँग आबद्ध अध्ययनका प्रमुख लेखक डा. हैडोङ वाङले कोरोना महामारीका कारण भएको मृत्युको यकिन तथ्यांकले सार्वजनिक स्वास्थ्यका लागि प्रभावकारी नीति बनाउन सहयोग गर्ने बताए। ‘स्विडेन तथा नेदरल्यान्डलगायतका कतिपय देशमा भएका अतिरिक्त मृत्युका लागि कोभिड–१९ जिम्मेवार देखिएको छ तर सबै क्षेत्रका लागि हामीसँग पर्याप्त तथ्यांकको अभाव छ,’ उनले भने।

यसका लागि थप अध्ययन हुन आवश्यक रहेको उनले बताए। खोप तथा उपचारको उपलब्धताका कारण अतिरिक्त मृत्युका लागि महामारी कम जिम्मेवार हुँदै गएको पनि अनुसन्धानकर्ताले बताएका छन्। तर महामारी अन्त्य नभएकाले अझै पनि खतरनाक भेरियन्टको विकास हुन सक्ने उनीहरूको धारणा छ ।

मिसेल रोबर्टस/ बिबिसी 

प्रकाशित: २८ फाल्गुन २०७८ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App