अन्तर्राष्ट्रिय

बिहारमा तेजस्वीको पार्टी धेरै ठाउँमा विजयी, नितिश कुमार नै मुख्यमन्त्री बन्ने

भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडियू) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए)ले नै बहुमत प्राप्त गरेको हो। यस गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कूल ११० सिट मात्रै हासिल गरेको छ।

पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ले ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ।

दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको भाजपा छ भने मुख्यमन्त्री नितिश कुमारको जेडियुले केबल ४३ सिट जितेको छ।

निर्वाचनको नयाँ नतिजा अनुसार अहिलेका मुख्यमन्त्री नितिश कुमार नै फेरि मुख्यमन्त्री बन्ने देखिएको छ । तर भाजपाको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिश कुमारलाई चुनौती र खतरा भने निकै धेरै रहेको छ।

नितिश कुमारले आफू बिहारमा अन्तिम पटकका लागि मुख्यमन्त्री हुने यसअघि नै बताएका थिए।

तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिश कुमार अब चौथो पटक मुख्यमन्त्री हुनेछन्।

नतिजा सार्वजनिक भएसँगै एनडीएका समर्थकहरुले विजय जुलुश निकालिसकेका छन्। उनीहरुले वर्तमान केन्द्रीय तथा राज्य सरकारको समर्थनको रुपमा अहिलेको नतिजालाई व्याख्या गरेका छन्।

कुल २४३ सिट रहेको बिहार राज्यको विधान सभाका लागि कोरोनाभाइरसको महामारीका बीचमा तीन चरणमा निर्वाचन भएको हो।

निर्वाचनमा मतदानका लागि एक लाख छ हजार ५१५ मतदान केन्द्र तोकिएको थियो भने झण्डै ७५ प्रतिशत मतदाताको सहभागीता रहेको थियो।

प्रकाशित: २६ कार्तिक २०७७ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App