अन्तर्राष्ट्रिय

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनीमाथि युद्धअपराध गरेको आरोप लाग्दै आएको थियो। त्यसैले उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो।

हालैमात्र उनका विरुद्धमा हेगमा रहेको युद्धअपराध अदालतमा मुद्धा दायर भएको थियो। त्यसपछि उनले राजीनामा दिनुभएका हुन्। सन् १९९० मा सर्बियासँगको द्वन्द्वका क्रममा उनी शक्तिमा रहेका बेला युद्धअपराध गरेको आरोप छ।

आफू अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा उपस्थित हुनुपर्ने भएकोले आफ्नो पदबाट राजीनामा दिएको उनले बताएका छन्। राजीनामा पत्रमा आफूले कोसोभोको राष्ट्रिय प्रतिष्ठामा आँच आउन नदिनका लागि र अन्तर्राष्ट्रिय रुपमा आफ्नो देशको स्वाभिमान कायम राख्नका लागि राजीनामा दिएको तर आफूले कुनै गल्ती नगरेको बताएका छन्।

सन् १९९० मा सर्बियासँगको द्वन्द्वका क्रममा उनले कोसोभोको विद्रोही समूहको राजनीतिक विभाग प्रमुखका रुपमा काम गरेका थिए। उनको आदेशमा ती विद्रोहीहरुले सर्बियाका नागरिकमाथि हिंसा गरेको र धेरै मानिसको हत्या गरेको आरोप लगाइएको छ।
रासस

प्रकाशित: २१ कार्तिक २०७७ ०२:२० शुक्रबार

कोसोभोका राष्ट्रपति हसिम थासी राजीनामा