अन्तर्राष्ट्रिय

पहिले ट्रम्पले जितेका २ राज्यमा बाइडेन विजयी, राष्ट्रपति बन्न अब ६ इलेक्टोरल मत मात्र आवश्यक

फाइल तस्बिर : जो बाइडेन

अमेरिकाकाे राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन्।

डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुवै राज्यमा चार वर्षअघि वर्तमान राष्ट्रपति डाेनाल्ड ट्रम्प विजयी भएका थिए।

मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ।

अमेरिकामा गत मंगलबार चुनाव भएको थियो। मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुन आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुवै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन्।

पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरेका छन्। उनी विजयको नजिक पुगेका छन्। 

बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरेका छन्। अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो। 

पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेकाे बताएका छन्।

उनले भने, “म अमेरिकी राष्ट्रपति हुँदै छु। मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन। मेरो ध्यान केवल संयुक्तराज्य अमेरिका हुनेछ।”

 राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका थिए। जसलाई स्वयं रिपब्लिकन पार्टीका नेताले हतारको घोषणा भन्दै आलोचना गरेका थिए।

विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक छ। निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका थिए। एपी

प्रकाशित: २० कार्तिक २०७७ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App