अन्तर्राष्ट्रिय

चीनविरुद्ध भारतको यस्तो युद्ध तयारी (भिडियो)

भारतले चीनविरुद्ध व्यापक सैन्य तयारी गरिरहेको छ। दुई देशको सीमा क्षेत्र पूर्वी लद्दाखमा उसले यन्त्रसहित युद्धमा पोख्त सेना परिचालन गरेको हो।  

भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखमा झन्डै ५ महिनादेखि जारी तनावका बीच भारतीय सेनाले जाडो याममा पनि यद्ध गर्न सक्ने गरी व्यापक तयारी गरेको हो। भारतीय सैनिकले पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक आर्मर्ड रेजिमेन्टको टि–२० र टि–७२ ट्यांकर तैनाथ गरेको हो।  

साथै बिएमपी–२ युद्धक गाडी पनि व्यवस्था गरेको छ। यी युद्धक ट्यांकर १४ हजार ५ सय फिट उचाइको चुमार डेमचोक क्षेत्रमा तैनाथ गरिएका हुन्, जुन संसारकै उच्च युद्ध क्षेत्र मानिन्छ।  

ती ट्यांकरको विशेषता के हो भने माइनस ४० डिग्रीको तापक्रममा पनि सञ्चालन गर्न सकिन्छ। न्युज एजेन्सी एएनआईका अनुसार जाडोमा आवश्यक हतियारदेखि, पेट्रोलियम पदार्थ, कपडा, पौष्टिक आहारसम्म सबै व्यवस्था भारतीय सेनाले गरेको भारतीय पत्रिका भास्कर दैनिकले जनाएकाे छ। 

ट्यांकरमा तैनाथ एक सैनिक जवानका अनुुसार यन्त्रसहितका यी सेना जुनसुकै मौसम र क्षेत्रमा युद्ध गर्न सक्ने अनुभवी छन्।  

 

यो पनि पढ्नुहोस्

‘भारतीय सैनिकले आश्चर्यजनक ढंगले चीनमा आक्रमण गर्ने खतरा!’

 

लद्दाखको गलवान उपत्यकामा गत जुन १५ मा भारत र चीनका सेनाबीच झडप भएको थियो। त्यस क्रममा २० भारतीय सेना मारिएका थिए। तर चीनतर्फको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

त्यसयता पनि सीमामा दुई सेनाबीच पटकपट झगडा परेको छ। एकअर्काविरुद्ध हवाई फायरिङ गरेका छन्। यसबीच दुवै देशले सीमामा सैन्य शक्ति बढाएको खबर सार्वजनिक भइरहेका छन्।  

प्रकाशित: १२ आश्विन २०७७ ०८:३३ सोमबार

चीन-भारत