जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएका छन् ।
आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बिबिसीले जनाएको छ ।
आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भनेर आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा बताए ।
प्रधानमन्त्री आबेले भने, ‘मलाई अल्सरेटिभ कोलाइटिस, आन्द्रा सुनिने रोगले म वर्षाैंदेखि पीडित छु, अहिले मेरो अवस्था अझ बिग्रेको छ ।’
पछिल्लो समय जापानमा लामो समय प्रधानमन्त्री बन्ने उनै हुन् । यो कार्यकालअन्तर्गत उनले सन् २०१२ मा प्रधानमन्त्रीको पद सम्हालेका थिए ।
यसअघि पनि सन् २००७ मा आबेले अल्सरेटिभ कोलाइटिसकै कारण अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई यो रोग किशोर अवस्थादेखि नै लागेको हो ।
उनी एक कट्टर रूढिवादी एवं राष्ट्रवादी नेताका रूपमा चिनिन्छन् । देशमा द्रुत विकासका लागि उनले आक्रामक आर्थिक नीति अपनाएका थिए, जसलाई ‘आबेनोमिक्स’ भनिन्छ ।
यो पनि पढ्नुहोस्
स्वास्थ्य बिग्रिँदै गएपछि जापानका प्रधानमन्त्री आबे राजीनामा दिँदै
प्रकाशित: १२ भाद्र २०७७ ०८:३५ शुक्रबार