अन्तर्राष्ट्रिय

इजरायलमा नेतन्याहु युगको अन्त्य

जेरुसेलम – इजरायलका राष्ट्रपति रिउभेन रिभलिनले पूर्वसैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिएका छन्। एक वर्षदेखि इजरायलमा जारी राजनीतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ। राष्ट्रपति रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई निकै ठूलो चोट पुगेको छ। इजरायली इतिहासमै सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका नेतन्याहुको सत्ताबाट बहिर्गमन यसरी होला भन्ने अनुमान गरिएको थिएन।

गान्जले आइतबार १२० सिटको इजरायली संसद नेसेटमा ६१ सांसदको सहमति प्राप्त गरेका थिए। एक वर्षभित्रै तेस्रो पटक मार्च २ मा भएको संसदको आमनिर्वाचनले पनि कुनै दललाई स्पष्ट बहुमत दिएको थिएन। ‘सोमबार राष्ट्रपति रिउभेनले बेन्नी गान्जलाई सरकार गठन गर्ने जिम्मा दिनु हुनेछ,’ रिभलिनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तर, गान्जलाई समर्थन जनाउने पक्षहरूले त्यसलाई निरन्तरता दिइहाल्ने कुनै सुनिश्चित भने छैन। सरकारले स्थायित्व प्राप्त नगरेको अवस्थामा राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहु दुवै सम्मिलित एकताको अन्तरिम सरकार गठन गर्ने सम्भावना पनि छ।

राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहु दुवैलाई आइतबार साँझ एक ‘जरुरी विचारविमर्श’का लागि आमन्त्रण गरेका थिए। तर, त्यो निष्कर्ष बिना टुंगिएको थियो। नेतन्याहुको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै पार्टीबीच सोमबार पुनः वार्ता गर्ने उल्लेख छ।

प्रकाशित: ४ चैत्र २०७६ ०२:२५ मंगलबार

इजरायल नेतन्याहु