अन्तर्राष्ट्रिय

भारतमा सवारी दुर्घटनामा ६ नेपालीसहित २६ को मृत्यु

नयाँ दिल्ली – दक्षिण भारतमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ६ नेपालीसहित २६ जनाको मृत्यु भएको छ।

बुधबार राति तमिलनाडु राज्यको सलेम नजिकै भएको बस दुर्घटनामा कम्तीमा ६ नेपालीले ज्यान गुमाएका छन् भने २३ घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उक्त बसमा ३४ जना सवार थिए। त्यस्तै दक्षिण भारतमै भएको अर्काे दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ। केरला राज्य यातायात सेवाको तीर्थयात्री सवार उक्त बसमा ४८ जना सवार थिए। बस कन्याकुमारीबाट बैँग्लोर फर्किरहेको बताइएको छ।

दुवै घटनाबारे अनुसन्धान सुरू गरिसकिएको भारतीय प्रहरीले जनाएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले मृतक र घाइते सुनसरी एवम् मोरङ जिल्लाका भएको बताए। दुर्घटनामा परेका यात्रुहरू दुई साताअघि विराटनगर–जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए। दिल्लीस्थित नेपाली दूतावासले मृतकका परिवारलाई खबर गरिएको र उनीहरू चाडै सलेम पुग्ने जनाएको छ। शव फिर्ता गर्ने प्रकिया अघि बढाउन नेपाली दूतावासले भारतको विदेश मन्त्रालय र तामिलनाडुको स्थानीय निकायसँग समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:०७ शुक्रबार

दुर्घटना नेपाली_दूतावास मृत्यु