अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

सियोल (एएफपी) – दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ। अदालतबाट ली म्युङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका  ली म्युङलाई सन् २०१८ मा थुनामा राखी अनुसन्धान गरिएको थियो। उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो। अदालतमा अपिलपछि उनलाई तारेखमा छाडिएको थियो।

सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाइका क्रममा अदालतले विगतभन्दा बढी सजाय सुनाएको हो। आफूले विगतमा गरेका गल्तीको म्युङले कुनै प्रायश्चित नगरेको र जिम्मेवारीबोधसमेत नगरेको अदालतको ठहर छ। आफ्नो शासनकालमा राष्ट्रपति म्युङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएका थिए।
अर्का पूर्वराष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय भएको थियो।

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:०४ बिहीबार

दक्षिण_कोरिया पूर्वराष्ट्रपति जेल_सजाय