अन्तर्राष्ट्रिय

तेल निर्यात अवरोधले लिबियालाई एक अर्ब ४० करोड डलर घाटा : एनओसी

त्रिपोली – लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी)ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ।

पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ। मुलुकको दैनिक तेल उत्पादनमा कमी आएर प्रतिदिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको छ। लिबिया र लिबियाली जनताका लागि तेल निर्यातमा देखिएका सबै किसिमका अवरोध हटाउन एनओसीले आग्रह गरेको छ। पूर्वीलिबियाका आदिवासी नेताहरूले हालै मात्र तेल निर्यात हुने प्रमुख बन्दरगाह बन्द गरिदिएका छन्। उनीहरूले राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले पूर्वीक्षेत्रमा तैनाथ सैनिकविरुद्ध लड्न सशस्त्र समूहलाई तेलबाट आर्जित आम्दानी खर्च भइरहेको आरोप लगाएका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गत मंगलबार मात्र लिबियाबाट उत्पादित कच्चा र प्रशोधित पेट्रोलियमको गैरकानुनी निकासी रोक्ने सम्बन्धी एक प्रस्ताव पारित गरेको थियो। यो प्रतिबन्ध आगामी सन् २०२१ को अप्रिल ३० सम्म लागू हुनेछ। सन् २०११ मा नेता मौमार गद्दाफीको पतन भएसँगै लिबियामा हिंसा बढ्नुका साथै राजनीतिक अस्थिरताले मुलुक आक्रान्त छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०३:५६ आइतबार

सरकारी_तेल निकासी घाटा