अन्तर्राष्ट्रिय

राजकुमार ह्यारी र मेघनद्वारा शाही उपाधि परित्याग

लण्डन (एजेन्सी) – बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले औपचारिकरूपमा शाही उपाधि परित्याग गर्ने निर्णय गरेका छन्।

राजकुमार ह्यारी र मेघनको उक्त निर्णयलाई बेलायती राजदरबार बकिङ्घम प्यालेसले  औपचारिकता दिएको छ। उनीहरूले केही दिनअघि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवामा लाग्ने घोषणा गरेका थिए। बकिङ्घम प्यालेसको निर्णयसँगै ह्यारी दम्पतिले पाउँदै आएको शाही उपाधि अन्त्य भएको छ।

बेलायती महारानी एलिजावेथ द्धितीयका नाति ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई कतिपयले ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेर्ने गरेका छन्।  राजदरबारको निर्णयपछि महारानी एलिजावेथले महिनौंदेखिको छलफलपछि नाति ह्यारीको निर्णयबाट आफू प्रशन्न भएको बताएकी छन्।

महारानीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ह्यारी, मेगन र उनीहरूका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय रहनेछन्, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुप-यो। म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु।’ शाही उपाधि हटेसँगै ह्यारीले पाउँदै आएको सैन्य पद र नागरिक करबाट पाउने रकमसमेत कतौटी हुनेछ। ह्यारी दम्पति अब राजपरिवारका औपचारिक सदस्य हुने छैनन्। ह्यारी दम्पतिले बाँकी जीवन बेलायत र उत्तर अमेरिकामा बिताउने छन्।

यी दुवैको प्रेम सम्वन्धपछि २०१८ मा विवाहमा परिणत भएको थियो। राजकुमार चार्सका कान्छा छोरा ह्यारी अहिले ३५ वर्षका पुगेका छन् भने उनकी श्रीमती मेघन ३८ वर्षकी पुगेकी छन्। राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारीका रूपमा रहेका थिए।

प्रकाशित: ६ माघ २०७६ ०३:४७ सोमबार

राजकुमार_ह्यारी मेघन शाही_उपाधि परित्याग