अन्तर्राष्ट्रिय

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

अमेरिका- अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ। समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो। फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए। 

त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन्। त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका सोही पसलका सवारीचालक एकजनाको पनि ज्यान गएको बताइएको छ। 

प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका दुई जना बन्दुकधारी मारिएका बताइएको छ। केही सामान लुटेका उनीहरुले उक्त पसलकै सवारी साधनलाई नियन्त्रणमा लिएका थिए र सवारी चालकलाई समेत नियन्त्रणमा लिएर उक्त गाडी आफूले चाहेको स्थानतर्फ लैजान बल गरेका थिए। 

यसरी भाग्ने क्रममा देखेर प्रहरीले गोली चलाएको थियो। गोली लागेर दुई जना बन्दुकधारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।  यस गोलीकाण्डको बारेमा यहाँको प्रहरीले अनुसन्धान थालेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। सिन्ह्वा

प्रकाशित: २० मंसिर २०७६ ०९:२५ शुक्रबार

फ्लोरिडा गोलीकाण्ड