अन्तर्राष्ट्रिय

अमेरिकामा फेरी गोलीकाण्ड : तीन बालबालिकासहित पाँचको मृत्यु

लस एन्जल्स- अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ। हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ।
 
स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ। उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ। स्थानीय समयअनुसार शनिबार बिहान ६ बजेर ४९ मिनेटमा घटनाका बारेमा प्रहरीलाई पहिलो फोन आएको प्रहरी स्रोतले जनाएको छ।

मृत्यु भएका मध्ये एक जना तीन वर्षे बालक, एक जना २९ वर्षीया महिला र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। अर्का ५ वर्षीय र नौ वर्षीय दुई बालकको अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

गोली लागी घाइते भएका अर्का ११ वर्षीय एक बालकको भने अहिले अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटिएको बताएको छ। घटना किन र के कारणले भयो भन्ने बारेमा केही थाहा पाउन नसकिएको प्रहरीको भनाई छ।

प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएका छन्। सिन्ह्वा

 

प्रकाशित: १ मंसिर २०७६ ०८:४६ आइतबार

अमेरिका गोलीकाण्ड मृत्यु