अन्तर्राष्ट्रिय

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या

गोमा– अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन्।

स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा भएको हो। बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ।

यी घटनाहरु कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ। यहाँ कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महिना घोषणा गरेको थियो। यस क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीहरुको समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) सक्रिय छ।

बेनीका प्रशासक डोनाट किबवानाले आक्रमणकारीले स्थानीयवासीमाथि धारिलो हतियारले आक्रमण गरेका र घर एवं पसलमा लुटपाट गरेको जानकारी दिए।

सरकारी फौजले गत अक्टोबर ३० मा यस क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो।  

कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडिएफले विगत पाँच वर्षको अवधिमा मात्र बेनी क्षेत्रमा सयौं, हजारौं सर्वसाधारणको हत्या गरिसकेको छ। इस्लामिक स्टेट समूहले एडिएफले गरेका कतिपय आक्रमणको आफूले जिम्मेवारी लिएको छ। एएफपी

प्रकाशित: ३० कार्तिक २०७६ १२:५८ शनिबार

कंगो सर्वसाधारण हत्या