अन्तर्राष्ट्रिय

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युत विहिन

पेरिस- अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ। हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले शुक्रबार जनाएका छन्।

रेल तथा सडक ट्राफिकले दिएको जानकारी अनुसार ६३ बर्षीय बृद्धको बिहीबार बेलुका निधन भएको हो। बाटोमा ढलेको रुख र हिउँ हटाउने क्रममा अर्को रुख ढलेर किच्दा ती बृद्धको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

हिउँका कारण बाटो पनि अवरुद्ध भएको र बाटोबाट हिउँ हटाउने काम पनि भइरहेको समाचारमा जनाइएको छ। एक सरकारी अधिकारीले भने, 'यस क्षेत्रका झण्डै तीन लाख घरमा शुक्रबार विद्युत सेवा अवरुद्ध भएको छ।'

विषेश गरेर ड्रोम, अर्डेच, इसेर, ल्योन र ग्रेनोबल लगायतका क्षेत्रमा हिमपातका कारण बढी असर परेको र विद्युत सेवा अवरुद्ध भएको एक जना प्रवक्ताले बताएका छन्।

हिमपातका कारण यसरी ठूलो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको यो अपवादको घटना भएको अधिकारीहरुको भनाई छ।

प्रवक्ता रोबिन डेभोगेलेइरले भने, 'हिउँका कारण विद्युत प्रवाहमा समस्या भएकाले विद्युत सेवा अवरुद्ध भएको हो।' त्यस क्षेत्रमा झण्डै एक फिटसम्म हिउँ जमेको उनले जानकारी दिए। एएफपी

प्रकाशित: २९ कार्तिक २०७६ ११:०२ शुक्रबार

हिमपात फ्रान्स मृत्यु विद्युत विहिन