अन्तर्राष्ट्रिय

राष्ट्रपति नै निलम्बित

संसद् विघटनको माग गर्दै राजधानी लिमामा आयोजित प्रदर्शनका सहभागी। तस्बिर : एजेन्सी

लिमा (एजेन्सी)– पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद् विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन्।

पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद् भंगको घोषणा गरेका हुन्। राष्ट्रपति भिजकाराले संसद्ले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनौटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसद्को आलोचना गरिरहेका थिए।
यी दुई विषयलाई लिएर राष्ट्रपति र संसद्बीच लामो समयदेखि विवाद र असमझदारी रहेको थियो।

टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै संसद् विघटन गरेको घोषणा गरेको केही समयपछि नै संसद्ले राष्ट्रपतिलाई नै एक वर्षका लागि निलम्बित गर्नेगरी मतदान गरेको थियो। राष्ट्रपतिमा ‘नैतिक अक्षमता’ रहेको भन्दै संसद्ले उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुखमा मनोनयन गरेको छ।

संसद्का सभामुख पेड्रो ओलेचाले संसद्को बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति भिजकारालाई पदबाट हटाउने जानकारी दिएका छन्।

‘हामी अहिले सत्ता विद्रोहको अवस्थामा छौं,’ विपक्षी सांसद जोर्ज डेल कास्टिल्लोले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग बताए।
‘राजनीतिकर्मीको यस खेलबाट मुलुकको सशस्त्र फौज र प्रहरी टाढै रहने मेरो विश्वास छ,’ उनले भने।

यो घटना पनि पेरुमा वर्षौंदेखि जारी राजनीतिक विवादकै एक शृंखलाका रूपमा देखिएको विश्लेषकले टिप्पणी गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भिजकाराले संसद्सँग पटकपटक संघर्ष गर्नु परेको थियो। संसद्मा केइकी फुजिमोरी नेतृत्वको पपुलर फोर्स पार्टी बहुमतमा रहेको छ। केइकी फुजिमोरी आफैं पनि भ्रष्टाचारको आरोपमा जेलमा रहेका छन्।

प्रकाशित: १५ आश्विन २०७६ ०२:५७ बुधबार

पेरु संसद्_विघटन