अन्तर्राष्ट्रिय

गर्मीका कारण जापानमा २३ को मृत्यु

टोकियो – जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ। सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना अस्पतालमा उपचार गराएका छन्।

मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक सातासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन्। अस्पताल गएका मध्ये चार सयजनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ। प्रभावित भएका मध्ये सबैभन्दा धेरै राजधानी टोकियोका रहेका छन्।

अधिकारीहरुका अनुसार टोकियोका मात्रै एक हजार ४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका नौ सय ७७ जना बिरामी भएका थिए।
अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ।

जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ। विभागका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सियस पुगेको छ।

 

प्रकाशित: ३० श्रावण २०७६ ०१:५४ बिहीबार

प्रकोप_व्यवस्थापन गर्मी उपचार