अन्तर्राष्ट्रिय

सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

खार्तुम – सुडानको अन्तरिम सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ। स्वतन्त्र     र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन्। घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिएका छन्।

‘सुडानी जनताका लागि यो घोषणा गर्न पाउँदा म धेरै खुशी छु किनकी सम्झौताका कारण राष्ट्रिय, अन्तर्राष्ट्रिय र अफ्रिकी क्षेत्रलाई ठूलो उपलब्धि भएको छ,’ लेबटलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सम्झौताका केही प्राविधिक पक्ष मिलाउनका लागि दुई पक्षबीचमा अझै केही समय बैठक चलिरहने पनि उनले जानकारी दिएका छन्। सम्झौतामा नयाँ सरकार गठनदेखि शान्ति प्रक्रिया हुँदै निर्वाचनसम्मका विषयवस्तु समेटिएको एएफपीले उल्लेख गरेको छ।

सुडानको सैनिक परिषद् र यो विपक्षी गठबन्धनले गत जुलाई १७ तारिखका दिन राजनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए। सुडानमा आन्दोलनकारीसँग वार्ता गरेर सैनिक र नागरिकको संयुक्त सरकार बनाउने प्रक्रिया तिव्र रूपमा अगाडी बढी रहेको छ। सैनिक परिषद्ले अन्य आन्दोलनकारी समूहसँग पनि वार्ता र सम्झौताको प्रयास गरिरहेको अधिकारीले जनाएका छन्।
 

 

 

प्रकाशित: १९ श्रावण २०७६ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App