अन्तर्राष्ट्रिय

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

मोहम्मद जावाद जरिफ

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अमेरिकी प्रतिबन्धले विदेशमन्त्री जरिफको संयुक्त राज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गर्ने छ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका अजेन्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रूपमा विश्वभर इरानी धारणा फैल्याएको आरोप लगाइएको छ। वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले जरिफमाथि प्रतिबन्ध लगाउनु परेको जनाइएको छ।

अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीविरुद्ध पनि प्रतिबन्ध लगाएको थियो।

अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीविरुद्ध पनि प्रतिबन्ध लगाएको थियो। इरान र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धमा तनाबको स्थिति रहेकै बेला वासिङ्टनको नयाँ घोषणा सार्वजनिक भएको हो। विदेशमन्त्री जरिफमाथि प्रतिबन्ध लगाए पनि अमेरिकाले तीनवटा इरानी नागरिक आणविक परियोजनालाई छुट दिन बुधबार मन्जुरी दिएको थियो। खासगरी सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतलाई विश्वासमा लिन पनि सो कदम चालिएको अनुमान छ।

‘यो ९० दिनका लागि मात्र म्याद थप गरिएको हो। हामी इरानी आणविक कार्यक्रमका बारेमा ज्यादै नजिकबाट मूल्यांकन गरिरहेका छौं,’ इरान मामिलामा कडा कदम चाल्नुपर्छ भन्ने ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बताए। इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा केन्द्रित रहेको दाबी गर्दै आएको छ तर अमेरिका र साउदी अरब, इजरायलसमेतका खाडी क्षेत्रका केही मुलुकले इरानले गोप्य रूपमा आणविक हतियार निर्माण गरिरहेको आरोप लगाउँदै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रूपमा नभई इरानी ‘प्रोपोगान्डा’ मन्त्रीका रूपमा काम गरिरहेको बताएको ह्वाइट हाउसका एक उच्च पदाधिकारीले बताएका छन्।

अमेरिका डरायो : इरान
यसैबीच इरानी राष्ट्रपति हसन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत रहेको बताएका छन्। उनले आफ्ना विदेशमन्त्री जरिफबाट अमेरिका भयभित र त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताउँदै पछिल्ला घटनाक्रमले इरानी भनाइको प्रतिवाद गर्न सक्ने सामथ्र्य अमेरिकाले गुमाएको भनेको छन्।

अमेरिकाको न्युयोर्कमा विदेशी सञ्चारमाध्यमलाई विदेशमन्त्री जरिफले अन्तर्वार्ता दिएको प्रसंग उल्लेख गर्दै राष्ट्रपति रौहानीले एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘अमेरिकी हाम्रा विदेशमन्त्रीका अन्तर्वार्ताबाट डराएका छन्।’
 

प्रकाशित: १७ श्रावण २०७६ ०१:५७ शुक्रबार

संयुक्त_राज्य_अमेरिका मोहम्मद_जावाद_जरिफ प्रतिबन्ध