अन्तर्राष्ट्रिय

‘चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन’

कम्बोडियाली प्रधानमन्त्री हुन सेन।

नोम्पेन्ह – कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन्।

कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक आधार शिविर चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिनेगरी चीनसँग गोप्य सम्झौता गरेको भनी हालै अमेरिकी अखवार ‘वाल स्ट्रिट जर्नल’मा समाचार प्रकाशन भएको थियो। त्यो समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री हुन सेनले ‘फ्रेस न्युज’ नामक एक समाचार समितिलाई दिनुभएको अन्तर्वार्तामा बताएका छन्।

आफूले चीनसँग सैन्य विषयमा कुनै पनि सम्झौता नगरेको र सो समाचार भ्रामक र झूटो रहेको बताउँदै उनले भने, ‘यो एकदमै भ्रामक समाचार हो। कम्बोडियामा कुनै पनि विदेशी सैनिक क्याम्प रहने छैनन् र यो कम्बोडियाको संविधानमा नै बर्जित छ।’

‘त्यो समाचार कम्बोडियाको पूर्णतः विरोधमा छ। त्यस्तो कुनै सम्झौता हामीले गरेका छैनौं। हामीलाई हाम्रो देशमा चिनियाँ सैनिकको उपस्थिति किन चाहियो ?,’ उनले बताएका छन्। चिनियाँ सेनालाई देशको सैनिक शिविर प्रयोग गर्न दिनका लागि कुनै आवश्यकता महसुस नगरिएको बताउँदै उनले यस विषयमा चीनका नेतासँग पनि कुनै कुरा नभएको जिकिर गरेका छन्।

 

 

प्रकाशित: ७ श्रावण २०७६ ०४:०९ मंगलबार

कम्बोडिया सैन्य_सम्झौता