अन्तर्राष्ट्रिय

कंगोको खानी दुर्घटनामा १९ बालमजदुर मारिए

किन्सासा- कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ।

ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी) ले ती मजदुरलाई काममा लगाएको थियो। ग्लेनकोरले दुईवटा अग्ला पर्खाल ढलका कारण अरु मजदुर पनि चेपुवामा परेको हुनसक्ने बताएको छ।

केही सञ्चार माध्यमले मृत्यु हुनेको संख्या अरु बढी रहेको आशंका गरेका छन्। ग्लेनकोरले पछिल्ला दिनहरुमा गैरकानुनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ। यहाँको खानीमा दैनिक २ हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ।

अल जजिरा टेलिभिजनका अनुसार सन् २०१६ मा यही खानीमा करिब २५० मिटर अग्लो पर्खाल भत्किएर सात जना कामदारको ज्यान गएको थियो। अफ्रिकाका धेरै मुलुकमा अवैज्ञानिक तरिकाबाट खानी उत्खनन गर्नेक्रममा बर्सेनि धेरैको ज्यान जाने गरेको छ। एएनआई

प्रकाशित: १३ असार २०७६ ११:५० शुक्रबार

कंगो तामा_तथा_कोबाल्ट_खानी दुर्घटना बालमजदुर