अन्तर्राष्ट्रिय

हुवावेमाथि लागेको प्रतिबन्ध हटाउन चिनियाँ माग

चीनको बेइजिङस्थित ‘द ग्रेट हल अप द पिपल’मा आयोजित पत्रकार सम्मेलनमा हात मिलाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र चिनियाँ राष्ट्रपति सी चिनफिङ। फाइल तस्बिर : एजेन्सी

ओसाका – आफ्नो देशको विशाल दूरसञ्चार कम्पनी हुवावेमाथि लागेको प्रतिबन्ध संयुक्त राज्य अमेरिकाले तत्काल हटाउनुपर्ने चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्।

व्यापारलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ता हुनुभन्दा केही दिनअघि चिनियाँ वाणिज्य मन्त्रालयको यस्तो धारणा बाहिरिएको हो।

निर्यातमाथि चीनले नियन्त्रण गरिरहेको भन्ने अमेरिकी आरोपको खण्डन गर्दै प्रवक्ता गाओ फेङले वासिङ्टनलाई सहकार्यको बाटोमा फर्कन आग्रहसमेत गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘चीन–अमेरिका सम्बन्धलाई स्वस्थ र स्थीर विकास गर्नका लागि हुवावेसहित चिनियाँ कम्पनीमाथि लागेका प्रतिबन्ध तत्काल खारेज गर्नका लागि हामी अमेरिकासँग आग्रह गर्दछौं,’ प्रवक्ता गाओले बताए। हुवावे र अन्य चिनियाँ प्रविधि कम्पनीले भोगिरहेका असहजता हटाउनका लागि दुई पक्षबीच सम्झौता हुने सम्भावना छ भन्ने पत्रकारको  प्रश्नमा जबाफ दिँदै प्रवक्ता गाओले यस्तो आग्रह गरेका हुन्।

गत साता भएको ट्रम्प–सीबीचको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले व्यापार सम्झौताका लागि ट्रम्पलाई नरम हुन आग्रह गरेको पनि बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले जापानमा हुन लागिरहेको विश्वका २० शक्तिशाली अर्थतन्त्रको समूह ‘जी–ट्वान्टी’ शिखर सम्मेलनका बेला हुने चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा यसै सप्ताहन्तमा व्यापार सम्झौता हुनसक्ने बुधबार बताएका छन्। सहमति हुनसक्ने बताए पनि उनले यदि सम्झौता नभए सबै चिनियाँ आयातमा भन्सार वृद्धि गर्न आफू तयारी अवस्थामा रहेको पनि जिकिर गरेका छन्। उनले हुवावे कम्पनी पनि चीनसँग हुने सम्झौताको एउटा भाग हुनसक्ने पनि बताए।

अमेरिकी वाणिज्य मन्त्रालयले गत साता आफूहरुले थप चिनियाँ कम्पनी र सरकार सञ्चालित केही संस्थालाई राष्ट्रिय सुरक्षामाथि खतरा पु-याउनसक्ने उत्पादनको सूचीमा राख्ने तयारी गरिरहेको बताएको थियो।

चिनियाँ राष्ट्रपति सीले भने अमेरिकासँगको व्यापार विवाद अन्त्य गर्नेबारे केही शर्तहरु अमेरिकी राष्ट्रपतिसँग राख्ने तयारी गरिरहेको वाल स्ट्रिट जर्नलले रिपोर्ट प्रकाशित गरेको छ। सीले अघि सार्ने त्यस्तो शर्तमा हुवावे कम्पनीलाई यसअघि अमेरिकी प्रविधि बेच्न लगाइएको प्रतिबन्ध हटाउनेसम्म रहेको योजनाबारे जानकार एक चिनियाँ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टमा चीनले अमेरिकाले सबै प्रकारको ट्यारिफ हटाओस् भन्ने चाहना पनि व्यक्त हुने बताइएको छ। सीले अघि सार्ने प्रस्तावमा यसअघि उसले धेरैभन्दा धेरै अमेरिकी सामान किन्ने भनेर गरेको प्रतिबद्धतालाई पनि थप आश्वस्त पार्ने विषय पनि रहेको बताइएको छ।

विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता एवं स्मार्टफोनका लागि दोस्रो ठूलो  कम्पनी हुवावेलाई अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाको विषयलाई देखाउँदै निर्यात कालोसूचीमा राखेको छ। प्रतिबन्धका कारण अमेरिकी कम्पनीले पनि विशेष खालको स्वीकृतिबिना हुवावेलाई केही बेच्न पाउँदैनन्। अमेरिकाले भनेजस्तो आफ्ना कुनै पनि उत्पादनले सुरक्षा चुनौती सिर्जना नगर्ने हुवावेले दाबी  गर्दैै आइरहेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उनका चिनियाँ समकक्षी सीबीच आउँदो शनिबार जापानको ओसाकामा स्थानीय समयअनुसार बिहान ११ बजेर ३० मिनेटमा भेटवार्ता हुने कार्यक्रम तय भएको बताइएको छ।

 

प्रकाशित: १३ असार २०७६ ०४:१४ शुक्रबार

हुवावे प्रतिबन्ध सी_चिनफिङ डोनाल्ड_ट्रम्प