अन्तर्राष्ट्रिय

आठ सय ५० वर्ष पुरानो गिर्जाघरमा आगलागी

पेरिस – फ्रान्सको राजधानी पेरिसस्थित प्राचीन नोट्र–डाम गिर्जाघरमा आगो लागेको छ। आगोले जलेर सो गिर्जाघरको शिखर र छानो खसेको छ। फ्रान्सका अति प्रख्यातमध्येको एक धरोहर नोट्र–डाम गिर्जाघर आठ सय ५० वर्ष पुरानो हो।

आगोले जलेर विश्वप्रसिद्ध गिर्जाघर नोट्र–डामको शिखर र छानो खसेको भए पनि दुई घन्टाघरसहित मुख्य संरचना भने सुरक्षित रहेको अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। आगो करिब १५ घन्टापछि नियन्त्रणमा आएको समाचारमा उल्लेख छ। आगो सोमबार राति लागेको थियो। आगो नियन्त्रणमा ल्याउन अग्निनियन्त्रकले रातभर काम गरेका थिए। रातभरको प्रयासपछि उनीहरू ढुंगाबाट निर्माण भएको ऐतिहासिक गिर्जाघरको मुख्य संरचना र दुईवटा घन्टाघर जोगाउन सफल भएको बताइएको छ।

आगो लागेको नोट्र–डाम गिर्जाघर आठ सय ५० वर्ष पुरानो हो।

ऐतिहासिक धरोहरमा के–कति कारणले आगो लाग्यो भन्ने अझै स्पष्ट भइनसकेको अधिकारीले जनाएका छन्। गिर्जाघरमा भइरहेको पुनर्निर्माणका कारण आगो लागेको हुनसक्ने अनुमान केही अधिकारीले गरेका छन्। पेरिसका सार्वजनिक अभियोजनकर्ता रेमी हेजले गिर्जाघरमा भएको आगलागी घटनाको अनुसन्धानका लागि ‘दुर्घटनाको सिद्धान्त’ का आधारमा आफ्नो कार्यालयले काम गरिरहेको बताएका छन्। उनले अनुसन्धानको काम गर्न ५० जनालाई जिम्मेवारी दिएको पनि बताए। उनले अनुसन्धान ‘लामो’ र ‘जटिल’ हुन सक्ने संकेत गरेका छन्।

फ्रान्समा नोट्र–डाम गिर्जाघरलाई क्याथोलिक जीवनको मुटुका रूपमा लिइन्छ। नोट्र–डाम गिर्जाघर विश्वभरका इसाईको पवित्र धार्मिकस्थलका रूपमा पनि चिनिन्छ। आगलागीपछि नोट्र–डाम गिर्जाघर अब कसरी पुनर्निर्माण हुन्छ भन्ने बहस विश्वभर चल्न थालेको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले ऐतिहासिक भवनको पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। दुई फ्रान्सेली व्यापारीले मंगलबार पुनर्निर्माणका लागि ३३ करोड ९० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन्।

विश्वका विभिन्न क्षेत्रबाट पनि नोट्र–डाम गिर्जाघर पुनर्निर्माणका लागि सहयोग गर्ने प्रस्ताव आउन थालेका छन्। युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले पनि सबै सदस्य राष्ट्रलाई नोट्र–डाम पुनर्निर्माणका लागि अपिल गरिसकेको बिबिसीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७६ ००:४२ बुधबार

गिर्जाघर पेरिस आगलागी