अन्तर्राष्ट्रिय

अमेरिकामा अत्यधिक चिसो, तीन राज्यमा आपतकाल घोषणा

अत्यधिक चिसोका कारण जमेको मिसिगनको सेन्ट जोसेफस्थित मिसिगन ताल। तस्बिर: एजेन्सी

वासिङ्टन – ध्रुवीय क्षेत्रबाट आएको हिउँसहितको हावाका कारण अमेरिकाको मध्यपश्चिमी भागमा इतिहासकै चिसो महसुस गरिएको छ। अत्यधिक चिसोका कारण अमेरिकाका तीन राज्यमा आपतकाल घोषणा गरिएको छ। ‘पोलार भर्टेक्स’ नाम दिइएको चिसोका कारण अमेरिकाका विभिन्न राज्यमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। अत्यधिक चिसो हावाका कारण जनजीवन अस्तव्यस्त भएको छ।

सिकागोको तापक्रम माइनस ३० डिग्री सेन्टिग्रेडमा झरेको छ भने उत्तरी डाकोटाको तापक्रम माइनस ३७ डिग्री सेन्टिग्रेड मापन गरिएको छ। यो तापक्रम अन्टार्टिका ध्रुवीय क्षेत्रको भन्दा न्यून हो।  अत्यधिक चिसोका कारण विद्यालय र व्यवसाय बन्द गरिएका छन् भने हवाई सेवा पनि अवरुद्ध भएको छ। चिसोकै कारण हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ। अमेरिकामा धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको हो।

अन्टार्टिका ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो भएको बताइएको छ। पोलार भर्टेक्सका कारण अमेरिकाका नौ करोड भन्दा बढी जनता माइनस १७ डिग्रीको तापक्रम सहन बाध्य भएको बिबिसीले उल्लेख गरेको छ। चिसोका कारण विस्कान्सिन, मिसिगन र सिकागो इलिनोई राज्यमा आपतकाल घोषणा गरिएको छ।

चिसोकै कारण अभूतपूर्व दृश्य जताततै देखिएका छन्। जस्तै मिसिगन तलाउको पानी जमेको छ भने अमेरिका र क्यानडाको सीमामा अहोरात्र खस्ने नायगारा फल्सको पनि जमेको छ। अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको मौसम इतिहासकै सबैभन्दा चिसो भएको छ। सिकागोमा बुधबार राति चिसोको नयाँ रेकर्ड कायम भएको छ र यो अझ तल झर्ने अनुमान गरिएको छ। ‘यो चिसो ऐतिहासिक छ,’ सिकागोका मेयर राहम इमानुएललाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘यो चिसोले ज्यानै लिन सक्छ र त्यहीअनुसार सम्पूर्ण बन्दोबस्त गरिनु आवश्यक छ,’ मेयर राहमले बताए। उनले सबै नगरवासीलाई घरबाहिर ननिस्कन आग्रहसमेत गरेका छन्।

मिसिगनकी गभर्नर ग्रेचेन ह्वीटमरले सरकारी कार्यालय बिहीबारसम्म बन्द रहने घोषणा गरेकी छन्। अत्यावश्यक बाहेकका अरु कर्मचारीलाई घरमै बस्न भनिएको छ। यसैबीच अत्यधिक चिसो बढेकैबेला सिकागोमा लुटपाटसमेत मच्चिएको छ। बन्दुक देखाएर मानिसका बाक्लो ज्याकेट लुटिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। मौसमविद्हरुले अझै केही दिन चिसो मौसम रहिरहने बताएका छन्। विस्कन्सिन र सिकागोमा अत्यधिक हिमपात हुने अनुमान गरिएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १८ माघ २०७५ ०४:५१ शुक्रबार

हिउँ अमेरिका चिसो आपतकाल