अन्तर्राष्ट्रिय

‘अमेरिका–तालिबान वार्तामा महत्वपूर्ण प्रगति’

क्याप्सन: अफगान शान्तिदूत जाल्मे खलिलजाद।

वासिङ्टन - संयुक्त राज्य अमेरिका र विगत १७ वर्षदेखि युद्धरत तालिबान समूहले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका अफगान शान्तिदूत जाल्मे खलिलजादले कतारको दोहामा तालिबान प्रतिनिधिसँग अप्रत्यासित रूपमा छ दिनदेखि वार्ता गरिरहेका छन्। ‘विगतमा भन्दा यसपटकको वार्ता निकै सकारात्मक भएको छ। केही महत्वपूर्ण सवालमा हामीले सहमति गरेका छौं,’ खलिलजादले ट्विट गरेका छन्।
अफगानिस्तान र पाकिस्तानका सरकारसँग छलफल गरी खलिलजाद तालिबानसँग वार्ता गर्न कतार पुगेका थिए। वार्ताका सम्बन्धमा जानकारी गराउन आफू पुनः अफगानिस्तान जान लागेको खलिलजादले ट्विटमा उल्लेख गरेका छन्। ‘हामी यो वार्तालाई अझ तीव्रता दिन चाहन्छौं र चाँडै अर्को वार्ता हुनेछ। केही विवादका विषयमा छलफल गरी तत्कालै टुङग््याउनु पर्नेछ,’ खलिलजादको ट्विट उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। ‘
सबै कुरामा सहमति नहुँदासम्म कुनै एक विषयमा पनि सहमति भयो भन्न सकिन्न र विस्तृत शान्ति सम्झौता भएपछि मात्र सहमतिको कार्यान्वयन भएको मानिनेछ,’ उनले बताएका छन्। अमेरिका–तालिबान वार्ताको टेबलमा राखिएका कुनै पनि विवरण सार्वजनिक गरिएको छैन तर जानकारका अनुसार प्रस्तावित योजनामा अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता गर्ने तथा अफगानिस्तानमा कुनै पनि विदेशी अतिवादी समूहलाई तालिबानले शरण नदिने उल्लेख छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि ट्विट गर्दै खलिलजादबाट आफूले उत्साहजनक समाचार प्राप्त गरेको बताएका छन्। ‘अफगानिस्तानमा दिगो शान्तिको पक्षमा अमेरिका दृढ छ र अन्तर्राष्ट्रिय आतंकवादीको आश्रयस्थल अफगानिस्तान नहोस् भन्ने अमेरिकी चाहना हो। यस विषयमा तालिबान सहमतिमा आउने हाम्रो विश्वास छ,’ पोम्पेओलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। अमेरिकाले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र समृद्धिलाई सदैव समर्थन गर्नेसमेत विदेशमन्त्री पोम्पेओले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अमेरिका सहभागी भएको सबैभन्दा लामो अफगान युद्ध अन्त्य भएको हेर्न चाहन्छन्। सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अल–कायदाले आक्रमण गरेपछि वासिङ्टनले अफगानिस्तानमा युद्ध छेडेको थियो। राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा तैनाथ सेनामध्ये आधा अर्थात् १४ हजार अमेरिकी सेना तत्कालै फिर्ता गर्ने बताइसकेका छन्।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले वार्तामा प्रगति भएपनि युद्धविराम गर्ने सम्झौता भइसकेको भन्नेमा सत्यता नरहेको बताएका छन्। उनले अफगानिस्तान सरकारसँग पनि वार्ता भएको भन्ने कुरा हल्ला मात्र भएको जिकिर गरेका छन्। वार्तामा सहमति जुट्न बाँकी विषयमा आगामी बैठकमा सुल्झाउनेतर्फ तालिबान सकारात्मक रहेको उनले स्पष्ट पारेको एएफपीले जनाएको छ।

प्रकाशित: १४ माघ २०७५ ०५:११ सोमबार

संयुक्त_राज्य_अमेरिका युद्ध तालिबान_समूह वार्ता