अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं– बेलायतकी प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वासको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। 

युरोपेली युनियनबाट बेलायत अलग हुने विषयसँग सम्बन्धित ब्रेक्जिट सम्झौता बहुमतले अस्वीकृत भएपछि विपक्षी लेबर पार्टीले सरकारले संसदमा विश्वासको मत गुमाएको भन्दै प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ। 

उक्त प्रस्तावमा बुधवार राती भएको मतदान थियो। ३२५ सांसद सरकारको पक्षमा उभिए भने ३०६ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरे। मतदानअघि अविश्वास प्रस्तावमाथि ६ घण्टा लामो बहस भएको थियो। संसदमा थेरेसा १९ मतले आफ्नो सरकार बचाउन सफल भएकाे बीबीसीले उल्लेख गरेकाे छ। 

अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री मे ले संसदमा सम्बोधन गर्दै युरोपेली संघ छोड्नका लागि जनमत संग्रहको नतिजा पालना गर्ने र देशका जनतासँग गरेको वाचा पुरा गर्नका लागि काम गर्ने बताइन। 

उनले ब्रक्जिटको आगामी बाटो तयका लागि मद्दत गर्न सम्पूर्ण नेतालाई अपिल समेत गरिन। 

प्रकाशित: ३ माघ २०७५ ०५:५४ बिहीबार

ब्रेक्जिट_सम्झौता बेलायत थेरेसा_मे अविश्वासको_प्रस्ताव