अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौता संसदबाट अस्वीकृत, प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव

लण्डन– युरोपेली संघबाट बेलायत बाहिरिने सम्झौता ‘ब्रेक्जिट’ संसदबाट अस्वीकृत भएको छ। बेलायती प्रधानमन्त्री थेरेसा मेको महत्वाकांक्षी योजना ब्रेक्जिटबारे मंगलवार राती संसदमा भएको मतदानमा ४३२ सांसदले विपक्षमा मत थिए भने २०२ सांसद मात्रै पक्षमा उभिए। यससँगै ब्रेक्जिट सम्झौता संसदबाट बहुमतले अस्वीकृत भयो। सत्तारुढ कन्जरवेटिभ पार्टीकै ११८ सांसद पनि ब्रेक्जिटको विपक्षमा उभिए। यद्यपी विपक्षी लेबर पार्टीका ३ सांसदले पक्षमा मत दिएकाे बीबीसीले जनाएकाे छ।

प्रधानमन्त्री थेरेसाको ब्रेक्जिट योजना अस्वीकृत भएपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश गरेको छ। 

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौता संसदबाट अस्वीकृत भएसँगै सरकारले सदनको विश्वास गुमाएको टिप्पणी गरेका छन्। उनले संसदमा सरकारविरुद्ध दर्ता गराएको अविशवासको प्रस्तावमाथि बुधवार छलफल हुँदैछ।

प्रकाशित: २ माघ २०७५ ०२:२० बुधबार

युरोपेली_संघ बेलायत ब्रेक्जिट अस्वीकृत