अन्तर्राष्ट्रिय

‘पत्रकार हत्यामा दोषी पाइए साउदीलाई सजाय हुन्छ’

जमाल खसोगी।

वासिङ्टन (बिबिसी) – पत्रकार जमाल खसोगीको मृत्युमा साउदी अरब दोषी पाइए अमेरिकाले उसलाई कडा सजाय दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

पत्रकार खसोगीको मृत्युमा साउदी अरबको संलग्नता पुष्टि भए आफू अत्यन्तै दुःखी र आक्रोशित हुने ट्रम्पले बताएका छन्। यद्यपि यस विषयका कारण अमेरिका र साउदी अरबबीच हुन लागको बृहत् सैन्य सम्झौता भने नरोकिने ट्रम्पलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

पहिला राम्रो सम्बन्ध भएपनि पछि साउदी राजपरिवारको कटु आलोचक बनेका पत्रकार खसोगी टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासबाट गत अक्टोबर २ देखि बेपत्ता भएको बताइएको छ। वाणिज्य दूतावासबाट बेपत्ता भएको भनिएका खसोगीलाई हत्या गर्न साउदी सरकारले आदेश दिएको भन्ने आरोप लागेको छ। यद्यपि साउदी सरकारले भने सो आरोप झुटो भएको बताएको छ।

पत्रकार खसोगीको अवस्थाबारे सरकारले सत्यतथ्य पत्ता लगाउन खोजिरहेको र उनको हत्या गर्न सरकारले आदेश दिएको भन्ने विवरण आधारहीन भएको साउदी अरबका आन्तरिक मन्त्रीले शुक्रबार बताए। वासिङ्टन पोस्टका लागि लेख्ने गरेका खसोगीको साउदी अरबकै वाणिज्य दूतावासमा हत्या भएको र त्यसको अडियो र भिडियो प्रमाण आफूसँग रहेको टर्कीको सुरक्षा स्रोतले बिबिसीलाई बताएको छ।

सिबिएससँगको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यदि पत्रकार खसोगीको वाणिज्य दूतावासभित्रै हत्या भएको हो भने त्यो अत्यन्तै खराब भएको बताए। ‘पत्रकार हत्याबारे हामी भित्री सतहसम्म पुग्न खोजिरहेका छौं र यदि त्यसमा साउदीको संलग्नता प्रमाणित भए उसविरुद्ध कडा सजाय दिइनेछ,’ अन्तर्वार्ताका क्रममा ट्रम्पले बताए।

साउदीलाई कस्तो सजाय दिने नबताए पनि उनले दुई देशबीचको सैन्य सम्झौता खारेज नहुने भन्ने विषयलाई भने प्रष्ट पारे। उनले सजाय दिने विभिन्न तरिका हुने भन्दै सैन्य सम्झौता खारेज नहुने बताए। आफूले रोजगार गुमाउन नचाहने ट्रम्पले स्पष्ट पारे । साउदीसँग रुस र चीन पनि सैन्य सम्झौता गर्न इच्छुक रहेका छन्।

प्रकाशित: २८ आश्विन २०७५ ०२:४७ आइतबार

डोनाल्ड_ट्रम्प पत्रकार_हत्या साउदी